मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रमेश रावल वीरेन्द्रनगर
२०७७ मङ्सिर १६ मंगलबार १०:२१:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

प्रदेश सरकारले भत्ता नदिएको राउटेको गुनासो

Read Time : > 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ मङ्सिर १६ मंगलबार १०:२१:००

सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेलाको तामाखानीमा बस्दै आएका राउटेले कर्णाली प्रदेश सरकारले दिने भनेको मासिक भत्ता नपाएको गुनासो गरेका छन् । संघीय सरकारले दिँदै आएको प्रतिव्यक्ति तीन हजार रुपैयाँ बाँड्न गएका दैलेख गुराँस गाउँपालिकाका जनप्रतिनिधिसँग उनीहरूले गुनासो गरेका हुन् । 

कर्णाली प्रदेश सरकारले उनीहरूलाई थप दुई हजार मासिक भत्ता दिने घोषणा गरेको थियो । राउटेहरूले प्रदेश सरकारले दिने भनेको थप भत्ता खोइ भन्दै प्रश्न गरेको गुराँस गाउँपालिका अध्यक्ष खेमराज वलीले बताए । ‘मुख्यमन्त्री महेन्द्रबहादुर शाही राउटे बस्तीमा नै पुगेर प्रदेश सरकारका तर्फबाट थप दुई हजार रुपैयाँ दिने भन्नुभएको रहेछ । राउटेहरूले दिने भनेको कुरा भुलेका छैनन्,’ उनले भने । 

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले ८ कात्तिकमा बस्तीमा नै पुगेर थप दुई हजार रकम दिने वाचा गरेका थिए । अहिलेसम्म त्यो रकम नपाएको राउटेका मुखिया सूर्यबहादुर शाहीले बताए । ‘हामीलाई केन्द्र सरकारले तीन हजार भत्ता दिँदै आएको थियो,’ शाहीले भने, ‘तीन हजारले हाम्रो जीवन धान्न गाह्रो भएको बताएका थियौँ । उहाँले थप प्रदेश सरकारकातर्फबाट दुई हजार दिने भन्नुभएको थियो । तर, त्यो भत्ता अहिलेसम्म पनि पाएका छैनौँ ।’

त्यस्तै, राउटेहरूलाई खाद्य तथा अन्य सुरक्षाका लागि राउटे सुरक्षा कोष स्थापना गर्ने आश्वासन दिएको भए पनि हालसम्म कुनै काम नभएको मुखिया शाहीले गुनासो गरे । ‘हामीलाई मुख्यमन्त्रीले खाद्यान्न, लत्ताकपडा, आवासका लागि राउटे सुरक्षा कोष बनाउने भन्नुभएको थियो । त्यो बनाएको कुरा पनि आएका छैन्,’ मुखिया शाहीले भने ।

दैलेखको गुराँस गाउँपालिकाले घुमन्ते रहेका राउटे समुदायलाई संघीय सरकारबाट दिने भत्ता दिँदै आएको छ । हाल राउटे समुदायका ४४ परिवारका एक सय ४५ जना छन् । उनीहरू दैलेख र सुर्खेतका विभिन्न ठाउँमा घुमफिर गरी बस्दै आएका छन् ।