मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
सिंगटी अस्पताल उद्घाटन गर्दै बागमती प्रदेशका सांसद पशुपति चौलागाईं  
२०७७ मङ्सिर १६ मंगलबार ०९:४५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखाको सिँगटीमा १५ शय्याको अस्पताल

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार ०९:४५:००

१५ प्रकारका सेवा नि:शुल्क

दोलखाको उत्तरी क्षेत्रस्थित मुख्य व्यापारिक केन्द्र सिँगटी बजारमा १५ शय्याको सरकारी अस्पताल उद्घाटन गरिएको छ । सरकारले प्रत्येक स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेसँगै यसअघि प्राथमिक स्वास्थ्य केन्द्रको रूपमा रहेको सिँगटी अस्पताललाई आवश्यक सेवा प्रवाह गर्ने गरी उद्घाटन गरिएको हो । 

सोमबार बागमती प्रदेशका सांसद पशुपति चौलागाईंले एक समारोहबीच सिँगटी अस्पतालको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सांसद चौलागाईंले अस्पताल सञ्चालन भएसँगै दोलखाको उत्तरी क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवा लिन सहज  हुने बताए । उनले भने, ‘सरकारले उक्त अस्पताललाई प्रभावकारी ढंगले सञ्चालन गर्न कुनै कसर बाँकी राख्नेछैन ।’

उनले यसअघि प्राथमिक स्वास्थ्य केन्द्र रहँदाको भन्दा अस्पताल नै बनेपछि १५ प्रकारका सेवाहरू नि:शुल्क रूपमा वितरण हुने जानकारी दिए । चौलागाईंले अस्पतालको नियमित व्यवस्थापनका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन गरेको बताउँदै आगामी वर्ष उक्त बजेट थप वृद्धि गर्दै लैजाने आश्वासन दिए । 

यसअघि भारतीय राजदूतावासले निर्माण गरेको भवनबाट सञ्चालन हुँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र सरकारको निर्णयअनुसार अस्पतालको रूपमा सञ्चालन हुने गरी उद्घाटन गरिएको कालिञ्चोक गाउँपालिकाका अध्यक्ष बिनकुमार थामीले जानकारी दिए । थामीले उक्त अस्पतालको व्यवस्थापन कालिञ्चोक गाउँपालिकाले नै गर्दै आएको र आगामी दिनमा पनि अझै प्रभावकारी ढंगले गर्दै जाने बताए । 

अस्पतालका सेवा

अस्पतालबाट प्रसूति सेवा, अन्तरंग सेवा, आकस्मिक सेवा, प्रयोगशाला, फार्मेसी, परिवार नियोजनलगायत १५ प्रकारका सेवाहरू नि:शुल्क प्रवाह हुने कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले बताए । 

अस्पताल स्थापना भएसँगै दोलखाको उपल्लो उत्तरी क्षेत्रका नागरिकहरूलाई ठूलो राहत भएको नेकपाका जिल्ला नेतासमेत रहेका स्थानीय कुलबहादुर बुढाथोकीले बताए । 

दुई लाखको अक्षय कोष स्थापना

अस्पताल निर्माणका लागि सुरुवातदेखि नै पहलकदमी गर्दै आएका सिँगटी अस्पताल व्यवस्थापन समितिका संस्थापक अध्यक्षसमेत रहेका समाजसेवी आत्मकृष्ण श्रेष्ठले दुई लाखको अक्षय कोष स्थापना गरेका छन् ।

गरिब तथा विपन्न समुदायका सदस्यको उपचारमा खर्चिने गरी श्रेष्ठले आत्माकृष्ण/रूपा अक्षय कोषको नाममा दुई लाख रुपैयाँको कोष स्थापना गरेका हुन् । अस्पतालमा अहिले करार र स्थायी गरी जम्मा २६ जना स्वास्थ्य कर्मचारीहरू कार्यरत छन् ।