मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार ०९:३०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नेपाल वायु सेवा निगमका अधिकृत दाबी गर्ने महतोविरुद्ध उजुरी दर्ता

नयाँ पत्रिका फलोअप

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार ०९:३०:००

महतोकी सहयोगी सरिता राजवंशी पक्राउ

नेपाल वायुसेवा निगममा जागिर लगाइदिने प्रलोभनमा दुई सयजनाभन्दा बढीसँग कम्तीमा दुई करोड रुपैयाँ ठगीमा संलग्न सुरेशकुमार महतोविरुद्ध पीडितले सोमबार प्रहरीमा उजुरी दर्ता गरेका छन् । महतोले निगमको अधिकृत दाबी गर्दै नक्कली नियुक्तिपत्र र पोसाक वितरण गरी सर्वसाधारणबाट रकम उठाएका थिए ।

पीडितले महानगरीय प्रहरी वृत्त गौशालामा महतो र उनकी मतियार बनेकी सरिता राजवंशीविरुद्ध जाहेरी दिएका हुन् । जाहेरीलगत्तै प्रहरीले राजवंशीलाई हिरासतमा लिएको छ । मुख्य अभियुक्त महतो भने फरार छन् । वृत्तका प्रहरी निरीक्षक जनकराज ढुंगानाका अनुसार महतो र राजवंशीविरुद्ध ठगी र लिखत (किर्ते)सम्बन्धी कसुरअन्तर्गत जाहेरी परेको छ ।

‘महतो र राजवंशीविरुद्ध जाहेरी परेको छ । राजवंशी हिरासतमा छिन् । महतोको खोजी भइरहेको छ । घटनाको अनुसन्धान हुन्छ । संलग्नविरुद्ध कानुनी कारबाही हुन्छ,’ प्रहरी निरीक्षक ढुंगानाले भने । उनका अनुसार पहिलो चरणमा महतो र राजवंशीविरुद्ध पीडितमध्ये नौजनाले जाहेरी दिएका छन् ।

पीडितमध्येकी ३५ वर्षीया अनिता चौलागाईंले मंगलबार थप जाहेरी पर्ने जानकारी दिइन् । ‘हामीले सोमबार दुईजनाविरुद्ध जाहेरी दियौँ । राजवंशीलाई प्रहरीले समात्यो । महतोको भने खोजी भइरहेको जानकारी छ । पीडित जम्मा हुने क्रम जारी छ,’ चौलागाईंले भनिन् ।

ठगी गर्न सरकारी पोसाक र सरकारी मोटरसाइकल दुरुपयोग

सधैँ सरकारी पोसाकमा हुने उनले कहिले निजी त कहिले सरकारी नम्बरप्लेटका मोटरसाइकल चढ्ने गरेको खुलेको छ । उनले चढ्ने निजी नम्बर प्लेटको मोटरसाइकल प्रदेश–३ ०२ ००२ प. ५२९३ नम्बरको रहेको पनि खुलेको छ । सरकारी मोटरसाइकलको नम्बर भने खुल्न सकेको छैन ।

प्रहरीका अनुसार उनले सम्पर्कका लागि चारवटा नम्बरका फरक–फरक मोबाइल चलाउँदै आएका थिए । तीमध्ये एउटा नम्बरमा कल गर्दा ‘ट्रु कलर’मा सुरेशकुमार महतो देखिन्छ । अर्को नम्बरमा कल गर्दा रामसागरत रैतरखोर नाम आउँछ । तर, दुवै नम्बर अहिले स्विच्डअफ छन् । त्यसबाहेकका दुईवटा नम्बर भने खुल्न सकेको छैन । निगमले सुरेशकुमार महतो नाम गरेको कोही कर्मचारी कार्यरत नरहेको स्पष्ट पारिसकेको छ ।

दुई सयजनाबाट दुई करोडभन्दा बढी ठगी
महतोले आफूलाई निगमको शाखा अधिकृत बताउँदै काठमाडौं पिंगलास्थानस्थित नसिमा कपाली र सरिता राजवंशीमार्फत मात्र ९० जनालाई ठगी गरेका छन् । उनीहरूबाट महतोले झन्डै ८० लाख रुपैयाँ लिएर फरार भएको खुलेको प्रहरीले जनाएको छ । महतोले पोखरा विमानस्थल र भैरहवास्थित गौतमबुद्ध विमानस्थलको नाममा समेत कर्मचारी भर्ना लिने बताउँदै रकम ठगी गर्दै आएको सूचना प्रहरीले पाएको छ । सबैतिर गरी उनले दुई सयजनाभन्दा बढीबाट कम्तीमा दुई करोड रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ ।

ठगीमा संलग्न अभियुक्त करिब–करिब पहिचान भएको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए । उनले भने, ‘घटनाका मुख्य योजनाकार करिब–करिब पत्ता लागेको छ । खोजी कार्य जारी छ । केही दिनभित्रै उनलाई पक्राउ गर्नेछौँ ।’

प्रहरीका अनुसार महतोले निगमको नियुक्तपत्रसँगै पोसाकसमेत बाँडेका थिए । त्यसअघि सबैजनाको स्वास्थ्य परीक्षण गराएको खुलेको छ । स्वास्थ्य परीक्षणपछिको प्रमाणपत्रमा पनि निगमको छाप र सम्बन्धित अधिकृतको हस्ताक्षर गरेका थिए । स्वास्थ्य परीक्षणका लागि उनले पीडितसँग थप रकम असुलेका थिए ।

यो पनि पढ्नुहोस् : नेपाल वायु सेवा निगमको नक्कली नियुक्तिपत्र र पोसाक बाँड्दै दुई सयभन्दा बढीबाट कम्तीमा दुई करोड ठगी