१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ मङ्सिर १६ मंगलबार ०९:०१:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

आर्थिक संकटमा लोकगायक सुरेश गन्धर्व : अस्पतालको बेडबाट उपचारको याचना 

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १६ मंगलबार ०९:०१:००

धरान सहरको एउटा कुनामा लामो समयदेखि लोकगायक सुरेश गन्धर्व बस्दै आएका छन् । उनको पुर्ख्यौली थलो भोजपुरको जरायोटार हो । तर, दशकौँअघिदेखि धरान झरेर सारंगी रेटेर जीवन चलाउँदै आएका सुरेशलाई त्यति धेरैले चिन्दैनन् । तर, उनले गाएको एउटा गीत भने पुर्बेलीको मन मस्तिष्कमा छ । अहिले यो गीत नयाँ भर्सनमा आएको छ । झापाका रमेश प्रसाईंले गाएको नयाँ गीत यतिवेला टिकटकमा हिट छ ।

रिङकेबुङको राँगोलाई 
चुङ्केबुङको चुलेसीले 
ताप्लेजुङमा ताकेर 
कालेबुङमा काटेर 
अरुण तमोर तरौला ।
तितेफापर छरौला ।
फूल लाउँला केशरी 
खाउँला बेसरी ।

रेडियो नेपालबाट एकताका खुबै बज्ने यो गीत कालेबुङका सिके श्रेष्ठले रचना गरेका हुन् । ०४९ मा धनकुटाको देब्रेवासमा रहेको रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्रमा रिङ्केबुङको राँगोलाई.. बोलको गीत रेकर्ड गरिएको थियो । त्यसवेला पारिश्रमिकबापत उनले २५ सय रुपैयाँ पाएका थिए । २०६० मा आयोजित सारंगी वाद्यवादन प्रतियोगितामा दोस्रो भएका यी स्रष्टा अहिले खर्च अभावमा अस्पतालमा छटपटाइरहेका छन् ।  

६५ वर्षअघि भोजपुरको जरायोटारमा जन्मिएका हुन् सुरेश । उनले सारंगी रेट्दै हिँडेको नै ५० वर्ष बितिसकेको छ । गाउँका मेलापात, पर्व, पूजापाठ, चाडबाडमा उनले गाएका गीत अझै पनि घन्किन्छन् । तर, यति मीठो सारंगीको धुनसहितको गीत गाउने कलाकार भने आर्थिक अवस्था कमजोर भएर थलिएका छन् ।

लामो समयदेखि सुरेश मुटुरोग, युरिक एसिड (बाथ), मधुमेह, उच्च रक्तचाप र थाइराइडजस्ता दीर्घरोगले ग्रसित छन् । कमाउने व्यक्ति नै थला परेर घरमा चुलो बल्न छाडेको उनकी छोरी तारा गन्धर्व बताउँछिन् । बिरामीले थला नपर्दासम्म उनले गाउँगाउँमा गीत गाएर दैनिक पाँच सय रुपैयाँसम्म कमाउने गर्थे । तर, रोगले च्यापेपछि उनलाई परिवार पाल्न समस्या भएको छ । उनका चार छोरी छन् ।

बाँचुन्जेल सारंगी बजाउने प्रण

गन्धर्व जातिको पुख्र्यौली पेसा नै सांरगी बजाउने हो । सुरेशको पुस्ताले यो पेसा धान्दै आए पनि त्यसपछिको पुस्ताले छाडेका छन् । पुख्र्यौली पेसा धान्न आफू बाँचुन्जेल सारंगी बजाइरहने सुरेश बताउँछन् । सुरेशले ११ वर्षको उमेरमै हजुरबुबाको औँला समातेर पछि लाग्दालाग्दै सारंगी बजाउन सिकेका थिए । पहिला रहरले बजाउन सिके, अहिले नबजाई नहुने बाध्यता छ । किनकि परिवार पाल्ने पेसा भनेकै यही सारंगी हो । सारंगीको मीठो धुन सुनाउँदासुनाउँदै यिनको जीवन बुढ्यौली भएको छ । तर, जीवनस्तर भने जस्ताको तस्तै छ । दिनभरि सांरगी नरेटे बिहान–बेलुका चुलो बल्दैन । 

यतिवेला सुरेश धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत छन् । आर्थिक अवस्था राम्रो नहुँदा उनको उपचारमा समस्या छ । उनको उपचारको सहयोगका लागि रंगभूमिका कलाकार विष्णु मोक्तान र नेकपा नेता फोक्साहाङ लिम्बुचोत्लुङले पहल गरिरहेका छन् । धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीले अपतालमै गएर भेटी सहयोगको प्रतिबद्धता जनाएका छन् ।