मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार ०८:३८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

२ हजार छोएर ओर्लियो बजार ९ अर्ब हाराहारीमै कारोबार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ मङ्सिर १६ मंगलबार ०८:३८:००

सेयर बजारको पारो त्यसै सेलाउने छाँटकाँट देखिएको छैन । लगातार पाँचौँ कारोबार दिनसम्म दोहोरो अंकले बढेको बजारले २ सय १६ अंक जोडिसकेको छ । सोमबार पनि नेप्से २८ अंक जोडेर बजार बन्द हुँदा १ हजार ९ सय ९७ बिन्दुमा पुगेको छ । 

सोमबार कारोबार रकम केही घटे पनि ८ अर्ब ८६ करोड रुपैयाँको सेयर किनबेच भएको हो । अघिल्लो दिन उच्च दरमा बढेको बैंक, विकास बैंक समूहगत परिसूचक भने यस दिन घटेको छ । यस दिन व्यापारमूलक र जलविद्युत् समूहगत परिसूचक उच्चले बढेको हो । यी समूहगत परिसूचकमा ६ दशमलव ६१ र ५ दशमलव ९३ प्रतिशतसम्म वृद्धि भएको हो । 

मूल्य समायोजनका कारण आइतबार मूल्य घटेको साल्ट्र ट्रेडिङ पुनः १० प्रतिशतको दरमा बढेको छ । कम्पनीले ०७५/७६ मा नाफापछि १० प्रतिशतको नगद लाभांश र २५ प्रतिशत बोनस सेयरको प्रस्ताव ३० मंसिरमा हुने साधारणसभामा लैजाँदै छ । सोमबारयता लगानी गरेकाले कम्पनीको यो लाभांश पाउनेछैनन् । यद्यपि, कम्पनीको मूल्य पुनः बढ्न थालेको छ । मूल्य ६ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । 

युनाइटेड मोदी, अपर तामाकोसीलगायतका जलविद्युत् समूहगत परिसूचक उच्चदरमा बढेको छ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीको पहिलो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनी १ करोड ७८ लाख रुपैयाँ नोक्सानमा छ । त्यस्तै, ७१ करोड सञ्चित नोक्सान छ । युनाइटेड मोदी ३१ प्रतिशतले नाफा घटेर ३ करोड ५९ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा कम्पनीले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश दिएको थियो । 

यस दिन १ सय १० कम्पनीको मूल्य बढेको र ५६ कम्पनीको मूल्य घटेको छ । ९ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । नेप्सेको मैनबत्ती चित्रले फेरि पनि लगानीकर्तामा अन्योल देखिएको संकेत गरेको छ । सोमबार नेप्सेले दुवैतर्फ बराबरजस्तो धागो भएको सानो कालो शरीरसहितको स्पाइनिङ टप आकृति बनाएको छ । यसले बजार घट्न सक्ने संकेत गर्छ । यद्यपि, यो दरिलो संकेत भने होइन । 

 बोर्डको आग्रह
सोमबार धितोपत्र बोर्डले लगानीकर्तालाई सचेत भएर कारोबार गर्न अनुरोध गरेको छ । नेप्से र कारोबार रकम पछिल्लो दिनमा उच्च रहने गरे पनि बजारको स्थापित मान्यता, संगठित संस्थाको वित्तीय विवरण, आधारभूत र प्राविधिक पक्ष ऐन–नियम परिपालनको अवस्थालगायत हरेर लगानी निर्णय लिन सुझाएको छ ।