देशभरका सबै स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सोमबार तीन सय नौ आधारभूत र तीनवटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा तीन सय ९६ अस्पताल शिलान्यास गर्ने तयारी गरेको थियो । त्यसमध्ये तीन सय नौ अस्पताल शिलान्यास गरिएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहका आधारभूत अस्पतालसँगै तीनवटा प्रदेश अस्पताल भवनको पनि शिलान्यास गरिएको हो । स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँच, १० र १५ शय्याका र सरुवा अस्पताल ५० शय्याका रहेका छन् । प्रदेश २, बागमती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि भवन शिलान्यास गरिएको हो ।
अहिले संघमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल काठमाडौंमा रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले तीन सय नौ आधारभूत अस्पताल, तीनवटा सरुवा रोग अस्पताल र एकवटा अस्पतालको आकस्मिक विभागको भवनको शिलान्यास गरिएको बताए ।
सात सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल छैनन् । तीमध्ये पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्ने योजना रहेको थियो । शिलान्यास हुन बाँकी रहेका स्थानीय तहमा अस्पतालको भवन यही महिनाभित्र गरिने उनले बताए ।
‘जग्गा प्राप्तिका विषयहरू समाधान गरेर यही मंसिरभित्र शिलान्यास हुनेछन्,’ उनले भने, ‘८७ स्थानीय तहमा आधारभूत भवन र चारवटा प्रदेशमा सरुवा अस्पतालको भवनको शिलान्यास जग्गा प्राप्ति गरेपछि हुनेछ ।’
सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा जनसंख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता एवं क्षमतासमेतलाई मध्यनगर गर्दै पाँच, १० र १५ शय्याको आधारभूत अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल र अस्पतालमा आकस्मिक कक्षहरू स्थापना गर्ने कार्यक्रम रहेको थियो ।