मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : किरण दहाल
२०७७ मङ्सिर १४ आइतबार २०:०१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अधिवेशन सञ्चालनबारे संसद् सचिवालयको तयारी, हरेक सांसदलाई दुई मिटरको दूरीमा राखिने

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार २०:०१:००

हरेक सांसदलाई दुई मिटरको दूरीमा बसाएर सदन सञ्चालन गर्ने गरी संसद् सचिवालयले तयारी गरेको छ । त्यसका लागि आवश्यक पूर्वाधार तयारी भइसकेको संसद् सचिवालयले बताएको छ ।  एक सांसद र अर्काे सांसदको बीचमा दुईवटा कुर्सी खाली रहनेछ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे भन्छन्, ‘दूरी कायम गरेर सुरक्षित साथ अधिवेशनलाई अघि बढाउने गरी तयारी गरिसकिएको छ । अहिले सदनमा जताबाट नाप्दा पनि दूरी दुई मिटर हुने गरी व्यवस्था गरिएको छ । अगाडि, पछाडि जताबाट नाप्दा पनि दुई मिटरभन्दा बढी हुन्छ । एक सांसद र अर्काे सांसदको बीचमा दुईवटा सिट खाली हुन्छ ।’

सांसदहरूलाई दूरी कायम गरेर बस्नका लागि कुर्सीहरू थपिएको छ । सिट व्यवस्थापन गर्दाखेरि दर्शकदीर्घा बस्ने ठाउँ खाली गरिएको छ । ‘बाल्कोनी’ र तल हलका खाली भागहरूलाई पनि सांसदहरू बस्नका लागि व्यवस्थापन गरिएको छ । सांसदहरूलाई सुरक्षित गर्नका लागि सचिवालयले तापक्रम यन्त्र जोड्नुका साथै स्यानिटाइजरको पनि पर्याप्त व्यवस्था गरिसकेको छ । प्रवक्ता पाण्डे भन्छन्, ‘कोरोना प्रकोपको वृद्धि सँगसँगै हिउँदे अधिवेशन व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि संघीय संसद् सचिवालयले अहिले विभिन्न मापदण्ड बनाएर यसको भौतिक व्यवस्थापन गर्नका लागि काम गरेको छ । यसका लागि संसदीय भवन बानेश्वरमा तापक्रम नाप्नका लागि सेन्सरजडित मेसिनहरू उपयोगमा ल्याइसकिएको छ । पर्याप्त स्यानिटाइजर, मास्क छ ।’

सचिवालयले संसद् सञ्चालनको तयारी गरे पनि संसद् कसरी चलाउने भन्नेबारेको नीतिगत निर्णय कार्यव्यवस्था परामर्श समितिले गर्ने पाण्डेले बताए । उनले भने,  ‘संसद् चलाउनका लागि यहाँबाट सम्पूर्ण तयारी भइसकेको छ । अब नीतिगत निर्णय गर्ने कुराहरू, जस्तो भर्चुअल बैठकलाई मान्यता दिने–नदिने, बैठक सञ्चालन गर्दा संख्या कम गरेर गर्ने या छोटो समय सञ्चालन गर्ने हो कि एकैपटक लामो समय बैठक नबसेर बीचबीचमा खाली गरेर अघि बढाउने हो कि यी कुराहरू नीतिगत निर्णय गरेर अघि बढ्ने हुनाले कार्यव्यवस्था परामर्श समितिले निर्णय गर्ने कुरा भयो ।’

संसद् सञ्चालनलाई लिएर सभामुख अग्नि सापकोटा र अन्य पदाधिकारीहरूसँग पनि छलफल भइरहेको उनले जानकारी दिए । समिति हकमा अलि चिन्ता रहेको पाण्डेको भनाइ छ । संसदीय समितिका हलहरू साना छन् । अधिवेशन सुरु भएसँगै समितिका बैठकहरू पनि नियमित बस्ने हुनाले त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा छलफल भइरहेको पाण्डे बताउँछन् ।

संसद्सँग अहिले चारवटा समितिका मात्रै ठूला हल छन् । त्यसलाई ‘सिफ्ट’ छुट्याएर समिति बैठक सञ्चालन गराउने भन्ने पनि विकल्प हुन सक्ने पाण्डेको भनाइ छ । ‘समितिको हकमा हामी बढी चिन्तित छौँ । समिति बैठक बस्न हलहरू हामीसँग कम छ । चारवटा हाम्रो विशेष ठुल्ठूला हल भएको हुनाले त्यसलाई अधिवेशन सञ्चालन भएको समयावधिभरि दुई सिफ्टमा कार्यक्रम चलाउने जसले गर्दा विभिन्न समितिले त्यही हललाई प्रयोग गर्न पनि सक्छन्,’ उनले भने ।