मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १४ आइतबार १६:०४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

सेयर बजारमा ऐतिहासिक कीर्तिमान, खरिद-बिक्री दुवैमा नयाँ रेकर्ड

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १६:०४:००

सेयर बजारले फेरि पनि ऐतिहासिक कीर्तिमान कायम गरेको छ । साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक र खरिद–बिक्री रकम दुवैमा अहिलेसम्मकै नयाँ रेकर्ड कायम भएको छ ।

गत बिहीबार एक हजार आठ सय ९३ दशमलव २४ अंकमा पुगेर बन्द भएको बजार आज (आइतबार) ७५ दशमलव ०२ अंकले बढेर एक हजार नाै सय ६८ दशमलव २७ अंकमा बन्द भएको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १८ दशमलव ७६ अंकले बढेर तीन सय ८३ दशमलव ९३ अंकमा बन्द भएको छ ।

कारोबार रकमले पनि अहिलेसम्मकै नयाँ कीर्तिमान कायम गरेको छ । दिनभर दुई सय कम्पनीको नाै अर्ब २२ करोड ७३ लाख ४८ हजार तीन सय ४८ रुपैयाँको दुई करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर खरिद–बिक्री भएको छ ।

पछिल्लो समय सेयर बजारमा लगानीका लागि उपयुक्त माहोल बनेपछि लगानीकर्ताले लगानी बढाउँदै गएका छन् । त्यसैले बजारमा सेयरको माग बढेको छ भने परिसूचक र कारोबार रकमले नयाँ उचाइ चुम्दै गएको छ । 

बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्नु, कम्पनीहरूको पहिलो त्रैमासको वित्तीय विवरण राम्रो निस्कनु र कम्पनीहरूले लाभांश घोषणा गर्ने क्रम बढ्नुले लगानीकर्ताको मनोबल उच्च भएको देखिन्छ । त्यसैले पनि बजारमा परिसूचकहरूले नयाँ रेकर्ड बनाउँदै जाने विश्वास गरिएको छ ।

कारोबारमा आएका समूहमध्ये व्यापार, होटेल, निर्जीवन बिमा र उत्पादन तथा प्रशोधन समूह भने घटेका छन् । त्यसबाहेकका सबै समूह बढेका छन् । आइतबार लगानीकर्ताहरू बैंकिङ समूहमा सबैभन्दा धेरै आकर्षित भएका छन् ।

बैंकहरूको सेयरमा खरिद चाप बढ्दा २७ वटा वाणिज्य बैंकमध्ये अधिकांश बैंकको सेयरमा सकारात्मक सर्किट लागेको छ । विकास बैंकहरूको सेयरमा पनि लगानीकर्ताको आकर्षण बढी देखिएको छ । आइतबार सबैभन्दा धेरै विकास बैंक समूह ८ दशमलव ११ प्रतिशतले बढेको छ । त्यसपछि बैंकिङ समूह ७ दशमलव ८१ प्रतिशतले बढेको छ । 

यस्तै जीवन बिमा समूह २ दशमलव २४ प्रतिशतले बढेको छ । जलविद्युत् समूह १ दशमलव ८ प्रतिशत, वित्त समूह १ दशमलव ३७ प्रतिशत, लघुवित्त समूह शून्य दशमलव ९७ प्रतिशत, म्युचअल फन्ड समूह शून्य दशमलव ४१ प्रतिशत र अन्य समूह शून्य दशमलव ०२ प्रतिशतले बढेको छ ।

यस्तै सबैभन्दा धेरै सेयर कारोबार हुनेमा नेपाल पुनर्बिमा कम्पनी रहेको छ । यो कम्पनीको मात्रै ५१ करोड ७९ लाख ९१ हजार रुपैयाँ बढीको सेयर खरिद–बिक्री भएको छ । यस्तै कुमारी बैंकको सेयर कारोबार पनि ४० करोड ८० लाख ६२ हजार रुपैयाँभन्दा बढीको भएको छ ।

आइतबार कुमारी बैंकको १४ प्रतिशत लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएकाले पनि लगानीकर्ताले सेयरको माग बढाएको देखिन्छ । ३० करोड रुपैयाँभन्दा बढी सेयर कारोबार हुने कम्पनीहरूमा नबिल बैंक, प्रभु बैंक र नेपाल बैंक रहेका छन् ।

कारोबार बन्द हुँदासम्म ग्रीन डेभलपमेन्ट बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र सेञ्चुरी कमर्सियल बैंकका सेयरधनीले १० प्रतिशतले कमाएका छन् । यसबाहेक १८ वटा कम्पनीहरूको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।

नेप्से परिसूचकमा उच्च वृद्धि भए पनि ५० वटा कम्पनीका सेयरधनीले गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा विशालबजार कम्पनीका सेयरधनी रहेका छन् । जसको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।