१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ मङ्सिर १४ आइतबार १४:४७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चिनियाँ रक्षामन्त्रीलाई जंगी अड्डामा स्वागत

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १४:४७:००

नेपाल  भ्रमणमा रहेका चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ जंगी अड्डा पुगेका छन् ।

रक्षामन्त्री जनरल वेईले आज प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक वार्ता गर्ने कार्यक्रम छ । चिनियाँ रक्षामन्त्री २१ सदस्यीय प्रतिनिधिमण्डलसहित आज बिहान काठमाडाैं आइपुगेका हुन् । 

गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनफिङकाे भ्रमणपछि चीनबाट पहिलोपटक मन्त्रीस्तरीय पाहुना आएका हुन् । कोभिड– १९ को महामारीपछि चीनबाट आउने उनी नै सबैभन्दा उच्च अधिकारी हुन् । 

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार चिनियाँ रक्षामन्त्रीलाई सेनाको टुकडीले सम्मान गारत (गार्ड अफ अनर) अर्पण गरेको छ। त्यसअघि रक्षामन्त्री वेई चिनियाँ राजदूतावासमा थिए ।
 
प्रधानसेनापति थापाले चिनियाँ रक्षामन्त्रीलाई स्वागत गरेका छन् ।  केहीबेरमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय औपचारिक वार्ता सुरु हुनेछ । 

औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानसेनापति थापाले गर्ने छन् भने चिनियाँ पक्षको नेतृत्व रक्षामन्त्री वेईले गर्नेछन् । 

दुवैबैतर्फ परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरू औपचारिक वार्तामा सहभागी हुनेछन् । प्रधानसेनापति नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाली सेनाका प्रिन्सिपल स्टाफ अफिसर्ससहित वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । 

प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपालले दुई विषयमा चासो राख्ने तयारी गरेको छ । कोभिड– १९ का कारण प्रभावित भएको तालिम आदानप्रदान कार्यक्रम र विद्यार्थी आदानप्रदान सुचारु गर्ने प्रस्ताव नेपालको हुनेछ ।

तीन वर्षअघि सुरु भएको नेपाली सेना र चिनियाँ सेनाको ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’का लागि ढाँचा तयार गरेर सुचारु गर्ने नेपालको प्रस्ताव हुनेछ । 

यसैगरी, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति थापा गत वर्ष चीन भ्रमणमा जाँदा चिनियाँ सेनाले दिने घोषणा गरेको १५ करोड चिनियाँ युयान (दुई अर्ब ४० करोड रुपैयाँ) सहायताको कार्यान्वयनका विषयमा नेपालले चासो राख्नेछ । 

चीनले प्रकोप व्यवस्थापनका लागि नेपाली सेनालाई यो रकमबराबरको सहायता दिने घोषणा गरेको थियो । यीबाहेक एक–अर्काको सुरक्षा चासोका विषयमा पनि छलफल हुने सैनिक अधिकारीहरूको भनाइ छ । 

‘जंगी अड्डामा मूलतः सुरक्षा र प्रतिरक्षाका विषयमा छलफल केन्द्रित हुनेछ,’ कूटनीतिक स्रोतले भन्यो, ‘प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटमा राजनीतिक सन्देश आदानप्रदान हुन सक्छ ।’ 

प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेईबीच चिनियाँ राष्ट्रपति सी जिनपिङकाे गत वर्ष नेपाल भ्रमणका वेला तय भएअनुसार रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा पनि छलफल हुनेछ ।

 

तस्बिर : नेपाली सेना