मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १४ आइतबार १३:५५:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

लमजुङमा गरियो दाइँ महोत्सव

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १३:५५:००

हराउँदै गएको दाइँ परम्परा जोगाउन लमजुङका साहित्यकारहरुरू जुटेका छन् । 

लमजुङको बेसीसहर नगरपालिका– ११ चिती बरबोटमा आयोजित दाइँ साहित्य महोत्सवमा कवि तथा कवयत्रीहरूले नेपाली किसानका दुःख, पीडा र कर्मलाई आ–आफ्नो सिर्जनाबाट अभिव्यक्त गरेका छन् । 

हिमालचुली कला साहित्य प्रतिष्ठान र चिती साहित्य समाजको आयोजनामा शुक्रबार दाइँ साहित्य महोत्सवको नवौँ संस्करण सम्पन्न भएको हो । 

‘साहित्य र सिर्जना : कोरोना सचेतना’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दाइँ साहित्य कार्यक्रममा सहभागी स्रष्टाहरूले किसानको चासोको विषय र उनीहरूकै दुःख, पीडा र कर्मलाई आफ्नो सिर्जनाको मूल विषय बनाएका थिए ।

कार्यक्रममा स्थानीय वृद्ध, साहित्यकर्मी, आमा समूह तथा सञ्चारकर्मीहरूले भाका हालेर दाइँगीतसमेत गाएका थिए । 

दाइँमा किसानका कथा–व्यथासँगै कोरोना महामारीले निम्त्याएको समस्याबारे पनि चर्चा गरिएको थियो । 

कार्यक्रममा चिती बरबोटका आमा समूहले सालका टपरीमा दँहरेहरूलाई खाना खुवाएका थिए । 

बिहानको पारिलो घाममा गुन्द्रुकको अचार र सागको तरकारीसँग भात खाएर पुनः दाइँको थलोमा पुगेका दँहरेहरूले आ–आफ्नो साहित्य रचना वाचन गर्दै पराल छिरोलेको दृश्य निकै रमाइलो थियो । 

मेलापात, खेती किसानी, दाइँ, रोपाइँजस्ता कृषि कर्मबाट नै साहित्यको सुरु भएको विश्वासका साथ साहित्यिक कार्यक्रम आयोजना गर्दै आएको प्रतिष्ठानका अध्यक्ष वेनबहादुर सुयलले बताए । 

पछिल्लो समय गोरुको सहायताले दाइँ लगाउने चलन हराउँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको सहायताले दाइँ लगाउने चलन हराएको हो । 

धान झार्न गोरु परालमा हिँडाएर दाइँ लगाउने चलन रहेकाेमा मेसिनको प्रयोग बढेपछि सो चलन हराउँदै गएको बेसीसहर नगरपालिका– ११ का लेखनाथ शर्माले बताए । 

कम खर्च र छिटोछरितो रूपमा काम गर्न सकिने भएपछि किसान थ्रेसरको प्रयोगप्रति आकर्षित भएका हुन् । 

बेसीसहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले आफ्नो संस्कृति र परम्परालाई जोगाउनुपर्ने बताए ।