मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १४ आइतबार १०:५८:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आइपुगे चिनियाँ रक्षामन्त्री, गृहमन्त्रीद्वारा स्वागत

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १४ आइतबार १०:५८:००

चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा बादलले स्वागत गरेका छन् । 

रक्षामन्त्री जनरल वेईले आज प्रधानसेनापति पूर्णचन्द्र थापासँग जंगी अड्डामा औपचारिक वार्ता गर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेर बंगलादेश प्रस्थान गर्नेछन् । 

चिनियाँ रक्षामन्त्री २० सदस्यीय प्रतिनिधिमण्डलसहित आइपुगेका हुन् । गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङकाे भ्रमणपछि चीनबाट पहिलोपटक मन्त्रीस्तरीय पाहुना आएका हुन् । कोभिड– १९ को महामारीपछि चीनबाट आउने उनी नै सबैभन्दा उच्च अधिकारी हुन् । 

उपप्रधानमन्त्री एवं निवर्तमान रक्षामन्त्री पोखरेलले ०७५ कात्तिकका चीनको औपचारिक भ्रमणका क्रममा रक्षामन्त्री वेईसँग द्विपक्षीय वार्ताका क्रममा नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए ।  प्रधानसेनापति थापाले पनि चीन भ्रमणका वेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए । 

नेपालमा चीनबाट तीन वर्षपछि रक्षामन्त्रीको भ्रमण भएको हो । तत्कालीन रक्षामन्त्री बालकृष्ण खाणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङ्क्वानले ०७३ चैत १० देखि १२ सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि चिनियाँ रक्षामन्त्री नेपाल आएका छैनन् । 

कोभिड– १९ को महामारीका कारण एक वर्षयता नेपाल र चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन । कोभिड– १९ का कारण चीनबाट जनमुक्ति सेनाका प्रमुख ली जुओचेङको नेपाल भ्रमण हुन सकेन ।  

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार चिनियाँ रक्षामन्त्रीलाई जंगी अड्डामा अपराह्न डेढ बजे सेनाको टुकडीले सम्मान गारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ । 

त्यसअघि रक्षामन्त्री वेई चिनियाँ राजदूतावासमा हुनेछन् । उनले चिनियाँ सैन्य सहचारी तथा राजदूतबाट नेपालको पछिल्लो अवस्थाबारे ब्रिफिङ लिएर जंगी अड्डा जाने कार्यक्रम रहेको चिनियाँ स्रोतले बतायो ।  

प्रधानसेनापति थापाले चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्ने र सुरुवातमा सानो समूहमा भेटवार्ता गर्ने छन् । ‘त्यो भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने । औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानसेनापति थापाले गर्नेछन् भने चिनियाँ पक्षको नेतृत्व रक्षामन्त्री वेईले गर्नेछन् । दुवैतर्फ परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरू औपचारिक वार्तामा सहभागी हुनेछन् । 

प्रधानसेनापति नेतृत्वको प्रतिनिधिमण्डलमा नेपाली सेनाका प्रिन्सिपल स्टाफ अफिसर्ससहित वरिष्ठ अधिकारीहरू सहभागी हुने तय भएको छ । 

प्रधानसेनापतिसँग औपचारिक वार्ताको अर्थ यो भ्रमणको सैन्य पक्ष बढी भएको अर्थमा लिनुपर्ने सैन्य अधिकारीहरू बताउँछन् । करिब पाँच घन्टाका लागि आएका रक्षामन्त्री वेई सबैभन्दा बढी समय अर्थात् दुई घन्टा २० मिनेटजति जंगी अड्डामा व्यतीत गर्नेछन् । 

प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपालले दुई विषयमा चासो राख्ने तयारी गरेको छ । कोभिड– १९ का कारण प्रभावित भएको तालिम आदानप्रदान कार्यक्रम र विद्यार्थी आदानप्रदान सुचारु गर्ने प्रस्ताव नेपालको हुनेछ । तीन वर्षअघि सुरु भएको नेपाली सेना र चिनियाँ सेनाको ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’का लागि ढाँचा तयार गरेर सुचारु गर्ने नेपालको प्रस्ताव हुनेछ । 

यसैगरी, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति थापा गत वर्ष चीन भ्रमणमा जाँदा चिनियाँ सेनाले दिने घोषणा गरेको १५ करोड चिनियाँ युयान (दुई अर्ब ४० करोड रुपैयाँ) सहायताको कार्यान्वयनका विषयमा नेपालले चासो राख्नेछ । 

चीनले प्रकोप व्यवस्थापनका लागि नेपाली सेनालाई यो रकमबराबरको सहायता दिने घोषणा गरेको थियो । यीबाहेक एक–अर्काको सुरक्षा चासोका विषयमा पनि छलफल हुने सैनिक अधिकारीहरूको भनाइ छ । 

‘जंगी अड्डामा मूलतः सुरक्षा र प्रतिरक्षाका विषयमा छलफल केन्द्रित हुनेछ,’ कूटनीतिक स्रोतले भन्यो, ‘प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटमा राजनीतिक सन्देश आदानप्रदान हुन सक्छ ।’ प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेईबीच चिनियाँ राष्ट्रपति सी जिनपिङकाे गत वर्ष नेपाल भ्रमणका वेला तय भएअनुसार रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा पनि छलफल हुनेछ ।