मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
केदार दाहाल काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार ०६:१४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

काठमाडौं–दिल्ली उडान अझै अन्योल, भारतद्वारा नियमित उडान डिसेम्बरसम्म नखुलाउने जवाफ

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार ०६:१४:००

भारतले भदौमै उडान खुलाउन प्रस्ताव पठाए पनि नेपाल सरकारले तीन महिनादेखि निर्णय गरेको थिएन । तर, केही दिनअगाडि भारतसहित सार्क मुलुकमा उडान खुलाउने नेपालले निर्णय गरे पनि भारतले तत्काल नियमित उडान नखुलाउने जनाउ दिएको छ ।

सरकारले भारतसहित सार्क मुलुकमा नियमित उडान खुलाउने निर्णय गरे पनि भारतले भने डिसेम्बरसम्म नियमित उडान नखुलाउने जनाउ दिएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को प्रस्तावमा मन्त्रिपरिषद्ले उडान खुलाउने निर्णय गरेको थियो । तर, भारतले डिसेम्बरसम्म नियमित उडान नखुलाउने सूचना पठाएकाले तत्काल हवाई उडान खुल्नेमा अन्योल रहेको नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिए । 

भारतको पछिल्लो निर्णयले आठ महिनापछि पनि उडान नखुलाउने तयारी गरेकाले निगम अन्योलमा परेको छ । यसअघि भने भारतले गत भदौमा नै उडान खोल्नका लागि नेपाल सरकारसँग प्रस्ताव पठाएको थियो । नेपालले मध्यपूर्व, चीन, हङकङ, बैंकक, जापानमा गत १७ भदौदेखि नै नियमित उडान खोलेको थियो । तर, भारत र सार्क मुलुकमा नियमित उडान खुलेको थिएन । भारतमा उडान नखुल्दा विद्यार्थीदेखि उपचारमा जान–आउनसमेत समस्या भएको छ ।  

लामो समयदेखि नेपाल–भारत उडान हुन नसक्दा नेपाल वायुसेवा निगमले ठूलो आम्दानी गुमाउनुपरेको छ । निगमको सबैभन्दा बढी नाफा आर्जन गर्ने गन्तव्य ११ चैतदेखि बन्द छ । सरकारको निर्णयसँगै निगम भने नियमित उडानको तयारीमा लागेको थियो । निगमले लकडाउनभन्दा अगाडि दैनिक २ उडान दिल्लीमा मात्रै गर्दै आएको थियो । त्यस्तै, मुम्बई र बैंग्लोर सातामा तीन उडान गर्दै आएको थियो । ‘अहिले पनि दिल्ली उडान खुलेमा दैनिक दुई उडान गर्न सकिन्छ भन्ने छ,’ निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले भने । दिल्ली सेक्टर निगमका लागि सबैभन्दा बढी आम्दानी हुने गन्तव्यमा पर्छ । 

करिब १ घन्टाको उडान हुने दिल्लीमा नेपाली र भारतीय यात्रुकै चाप हुने गर्छ । खासगरी नेपालबाट शिक्षा, स्वास्थ्यलगायत व्यापारिक उद्देश्यले जाने–आउने यात्रु बढी हुने भएकाले पनि निगमको दिल्ली उडानमा ९० प्रतिशतभन्दा बढी अकुपेन्सी हुने गरेको छ । 

तीन महिनाअघि भारतले नेपाल उडानका लागि एयर बबल एग्रिमेन्टमार्फत उडान गर्ने प्रस्ताव पठाएको भए पनि हालसम्म नेपालले स्वीकार गरेको थिएन । नेपालले एयर बबलमा सहमति जनाउँदा भारतले नियमित उडान नखोलेको हुन सक्ने पौडेलको भनाइ छ । भारतले गत ७ भदौमै नेपाली दूतावासमार्फत प्रस्ताव पठाएको थियो । भारतले हाल २१ देशसँग एयर ट्राभल बबलअन्तर्गत उडान खुलाएको छ । 

यात्रु घट्न थालेपछि निगमले वाइडबडी जहाज नै थन्क्याएर न्यारोेबडीमार्फत मात्रै अधिकांश उडान गर्न थालेको छ । वाइडबडीले बोक्ने यात्रु नै पाउन मुस्किन परेपछि सबैजसो उडानमा निगमले न्यारोबडी जहाज प्रयोग गर्न थालेको हो । पछिल्लो समय जापानको नारिता र दुबईबाहेकका गन्तव्यमा निगमले न्यारोबडी प्रयोग गर्न थालेको छ । जसका कारण एक थान वाइडबडी जहाज उडान नै निगमले छाडेको हो । संसारभर नै एयरलाइन्स कम्पनीहरू यात्रु नपाउँदा समस्यामा परेका छन् । जसको मारमा निगम पनि परेको छ ।

निगमसँग १ सय ५८ सिट क्षमताका दुई थान एयरबस ३२० सिरिजका न्यारोबडी जहाज छन् भने २ सय ७४ सिट क्षमताका एयरबस ३३० सिरिजका दुई थान वाइडबडी जहाज रहेका छन् । निगमले हङकङ, बैंकक, मलेसिया, दुबई, साउदी, दोहा र नारिता उडान गरिरहेको छ । यता भारतका तीन गन्तव्यमा भने ११ चैतयता उडान हुन सकेको छैन । 

नेपाल वायुसेवा निगमले हङकङ उडानमा निजी ल्याबको पिसिआर रिपोर्टलाई मान्यता नदिने भएको छ । हङकङ उडानमा नेपालमा नेगेटिभ रिपोर्ट आएको, तर हङकङ विमानस्थलमा चेक गर्दा पोजेटिभ आएपछि तीनपटक उडानमा प्रतिबन्ध खानुपरेको भन्दै निगमले सरकारी ल्याबको रिपोर्ट लिएर उडान गराउने जनाएको हो । निगमले तीनपटक प्रतिबन्ध खानुपरेपछि बाध्य भएर सरकारीलाई मात्रै मान्यता दिने निर्णयमा पुगेको प्रबन्ध निर्देशक पौडेलले बताए । 

निगमले विमानबाट अन्तर्राष्ट्रिय उडान गर्दा चार घन्टाअगाडि नै विमानस्थल पुग्ने नियमसमेत बनाएको छ । तीन घन्टाअगावै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुपर्नेमा हाल देखापरेको कोभिड–१९ का कारण थप आवश्यक विवरणहरू जाँच गर्नुपर्ने भएकाले निगमको विमानबाट काठमाडौं–हङकङ र काठमाडौं–नारिता उडान गर्ने यात्रुले चार घन्टाअगावै विमानस्थल जानुपर्ने भएको हो ।