मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
तीनधारे (बाहुबली) झरना काभ्रे । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
२०७७ मङ्सिर १४ आइतबार ०८:५८:००
Read Time : > 3 मिनेट
फिचर प्रिन्ट संस्करण

कोरोना महामारीमा ‘भाइरल’ बनेका नयाँ गन्तव्य

Read Time : > 3 मिनेट
२०७७ मङ्सिर १४ आइतबार ०८:५८:००

कोरोनाकालमा काभ्रेको तीनधारे झरना, तारेभीर, कालु पाँडे समाधिस्थल, दमौलीको मानुङकोट, काभ्रेस्थलीको शान्तिधाम धेरैको रोजाइमा परे, फेसबुक, ट्विटर, इन्स्टाग्राम, टिकटकले ‘ब्रान्डिङ’ गरिदिए

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण पर्वतारोहण र पदयात्रा पर्यटक लामो समय ठप्प भए । लामो दूरीको भ्रमण त सम्भव नै भएन । विदेशी र स्वदेशी पर्यटक यो अवधिमा भ्रमणमा निस्केनन् । तर, यो अवधिमा केही नयाँ गन्तव्य खुबै चले । काभ्रेको तीनधारे झरना, तारेभीर, कालु पाँडे समाधिस्थल, दमौलीको मानुङकोट, काभ्रेस्थलीको शान्तिधाम कोरोना महामारी सुरु भएपछि धेरैको रोजाइमा परेको नयाँ गन्तव्य बने । यी गन्तव्यमा अहिले पनि उत्तिकै भिड लाग्ने गरेको छ । यी गन्तव्य यसअघिदेखि नै सञ्चालनमा थिए । यद्यपि, यत्तिको चर्चामा कहिल्यै आएको थिएन । 

कोरोना महामारी सुरु भएपछि लामो समय घरभित्रै बसिरहेकाहरू दृश्यावलोकन र नयाँ वातावरणको अनुभव गर्न ती गन्तव्य पुगे । व्यक्तिगत सवारीसाधन हुनेहरू र साइकलयात्रा गर्न मन पराउनेहरू नियमित पुगे । हाइकिङ गर्नेहरूको संख्या पनि उत्तिकै रह्यो । कोरोना महामारी यी गन्तव्यलाई ‘ब्रान्डिङ’ गर्ने अवसर बन्यो । त्यसको माध्यम रह्यो फेसबुक, ट्विटर, इन्स्टाग्रामदेखि टिकटकजस्ता सामाजिक सञ्जाल । सामाजिक सञ्जालमा यी गन्तव्यको तस्बिर र भिडियो भाइरल बन्यो । त्यसले उक्त गन्तव्य धाउनेको संख्या बढ्दै गयो । कोरोना महामारीको समयमा चलेका केही नयाँ गन्तव्य :

शान्तिधाम, काभ्रेस्थली
यो गन्तव्य कोरोना महामारी सुरु भएपछि चलेको अर्काे सुन्दर गन्तव्य हो । बालाजु बाइपास, माछापोखरी हुँदै काभ्रेस्थलीसम्म पुग्न सकिन्छ । काभ्रेस्थलीसम्म पिच बाटो छ । त्यसैले त्यहाँसम्म बाइक र गाडीमार्फत पुग्न सकिन्छ । काभ्रेस्थली बसपार्कबाट झन्डै एक घन्टाको हिँडाइपछि शान्तिधाम पुगिन्छ । अझै अगाडि हिँडेपछि झन्डा पार्क पुगिन्छ, जहाँ नेपालकै ठूलो झन्डा राखिएको छ । त्यहाँबाट काठमाडौं उपत्यकाको पूरै दृश्य देखिने पर्यटन व्यवसायी एवं स्थानीय सिमवीर घले भन्छन् । ‘शान्तिधाम र झन्डा पार्कबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ,’ ट्रेकिङ एजेन्सिज एरोसिएसन अफ नेपालका मिडिया संयोजकसमेत रहेका घले भन्छन्, ‘त्यसका साथै स्थानीय खानाको स्वाद लिन पनि पाइन्छ ।’  

 

कालु पाँडे समाधिस्थलबाट चारैतर्फ निक्कै सुन्दर दृश्य देखिन्छ । अन्नपूर्णदेखि धौलागिरिसम्मका हिमशृंखला हेर्न पाइन्छ भने काठमाडौं उपत्यकाको दृश्य अझ राम्रो देखिन्छ । यो रुटमा स्थानीय परिवेशको पनि अनुभव गर्न पाइन्छ । योगेन्द्रसिंह बस्न्यात, साइकल अभियन्ता

तीनधारे (बाहुबली) झरना
काभ्रेको रोशी गाउँपालिका–२, काफलडाँडामा पर्छ तीनधारे झरना । यो झरना प्राकृतिक रूपमै सुन्दर छ । उपत्यकाबाट समेत नजिकको दूरीमा पर्ने तीनधारे झरना कोरोना महामारी सुरु भएसँगै चर्चामा आएको गन्तव्य हो । यो झरना काठमाडौंदेखि झन्डै ६० किलोमिटरको दूरीमा पर्दछ । व्यक्तिगत सवारीसाधनमा एकदिनमै झरना पुगेर काठमाडौं फर्कन सकिन्छ । काठमाडौंबाट भक्तपुर हुँदै बिपी हाइवेबाट उक्त झरना पुग्न सकिन्छ । हिन्दी चलचित्र बाहुबलीमा देखाइएको जस्तै झरना रहेका कारण कतिपयले यसलाई बाहुबली झरना पनि भन्ने गरेका छन् । यद्यपि, यहाँसम्म पुग्ने बाटो भने केही समस्या छ । बिपी हाइवे छुटेपछि कच्ची बाटो सुरु हुन्छ । कतिपय ठाउँमा बाइक चलाउनसमेत मुस्किल हुने गर्दछ । 

कालु पाँडे समाधिस्थल
कोरोना महामारी सुरु भएपछि चलेको काठमाडौंनजिकको गन्तव्य हो, कालु पाँडे समाधिस्थल । चन्द्रागिरि नगरपालिकाअन्तर्गत पर्ने यो गन्तव्य पछिल्लो समय निक्कै चर्चित छ । धेरै मान्छेहरू साइक्लिङ गर्न यो रुट रोज्छन् । गन्तव्यसम्मै पिच बाटो र वरपर सुन्दर वातावरण रहेकाले पनि मान्छेहरू साइकल लिएर त्यहाँ पुग्न रुचाउँछन् । कलंकीबाट स्युचाटार, खड्का गाउँ, स्विट्जरल्यान्ड पार्क, इन्द्र दह हुँदै त्यहाँ पुग्न सकिन्छ । यो गन्तव्य दृश्यावलोकन लागि त चर्चित छ नै, धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण छ । समाधिस्थलनजिकै मनकामनाको मन्दिर बनाइएको छ । त्यसभन्दा केही तल इन्द्र दह छ । भगवान् इन्द्र वर्षमा एकपटक उक्त दहमा आउँछन् भन्ने विश्वास छ । कालु पाँडे समाधिस्थलबाट अन्नपूर्ण हिमशृंखला, गणेश हिमाल र लाङटाङ हिमशृंखला स्पष्ट देख्न सकिन्छ । त्यहाँबाट काठमाडौं उपत्यका अझ प्रस्टसँग हेर्न पाइन्छ । ‘त्यहाँबाट चारैतर्फ निक्कै सुन्दर दृश्य देखिन्छ । अन्नपूर्णदेखि धौलागिरिसम्मका हिमशृंखला हेर्न पाइन्छ भने काठमाडौं उपत्यकाको दृश्य अझ राम्रो देखिन्छ,’ साइकल अभियन्ता योगेन्द्रसिंह बस्न्यात भन्छन्, ‘यो रुटमा स्थानीय परिवेशको पनि अनुभव गर्न पाइन्छ ।’

तारेभीर
काठमाडौंबाट नजिकको अर्काे गन्तव्य हो, तारेभीर । जहाँ कोरोना महामारी सुरु भएपछि मान्छेको भिड लाग्न थाल्यो । यो गन्तव्य हाइकिङ र दृश्यावलोकन दुई उद्देश्यका लागि चर्चित छ । त्यसका लागि दुई फरक बाटोहरू छन् । हाइकिङ गर्न जानेहरू कपन, जगडोल हुँदै अगाडि बढ्छन् । प्रायःले जगडोलस्थित सहिद पार्कबाटै हाइकिङ सुरु गर्छन् । केहीले त्योभन्दा केही माथिबाट हाइकिङ सुरु गर्छन् । तारेभीरसम्म पुग्न यो रुटमा डेढदेखि दुई घन्टा हिँड्नै पर्छ । सल्लाको जंगलको बीचबाट उकालो उक्लँदाको मज्जा नै बेग्लै हुने गर्दछ । गाडीमै सीधै डाँडामा पुग्ने अर्काे रुट पनि छ । यो रुट बुढानीलकण्ठबाट सुरु हुन्छ । त्यहाँबाट बाइक वा गाडीमा सीधै डाँडामा पुग्न सकिन्छ । त्यहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ । शारीरिक कसरत हुने दृष्टिकोणले हात्रै होइन, दृश्यावलोकन र फरक परिवेशको अनुभव गर्न पनि मान्छेहरू तारेभीर जाने गर्छन् । ‘यो काठमाडौं उपत्यकाबाट निक्कै नजिकको दूरीमा पर्दछ । मान्छेहरू मर्निङवाकका लागि पनि यहाँसम्म आइपुग्छन्’, स्थानीय विवेक तामाङ भन्छन्, ‘यहाँबाट उपत्यका पूरा दृश्य त सुन्दर देखिन्छ नै, नजिकै गाउँको परिवेशको अनुभव पनि गर्न पाउनुहुनेछ ।’

मानुङकोट, दमौली 
यो गन्तव्य पनि कोरोना महामारी सुरु भएपछि खुबै चलेको हो । मान्छेको थेगिनसक्नुको भिड लाग्न थालेपछि यहाँ अहिले प्रहरीले दिनमा तीन सयभन्दा बढी जान नपाउने नियम सुरु गरेको छ । दमौली बजारबाट झन्डै सात किलोमिटरको दूरीमा रहेको मानुङकोट सूर्याेदय र सूर्यास्त हेर्न मान्छेहरूको भिड लाग्ने गर्दछ । अहिलेको मौसममा दमौली बजारमाथि लाग्ने कुहिरोको दृश्य हेर्न पनि मान्छेहरू त्यहाँ जाने गरेको स्थानीय पर्यटन व्यवसायी गुप्तबहादुर भण्डारी बताउँछन् । स्थानीय मनोरम दृश्यले झनै लोभ्याउने गर्दछ । दमौली बजारबाट मात्रै होइन, छिमेकी पोखरा र काठमाडौंबाट समेत मान्छेहरू मानुङकोट पुग्छन् । कतिपय मान्छेहरू हाइस वा उत्रै साइजको गाडी लिएर पुग्छन् । धेरैजसो बाइकमै पुग्छन् । टाढाको दूरीबाट जानेहरू दमौली बजारमा वास बस्छन् । बिहानै सूर्याेदय र बेलुका सूर्यास्त हेरेपछि फर्कने गर्छन् । तनहुँ पर्यटनका अध्यक्षसमेत रहेका भण्डारी कोरोना भाइरस सुरु भएसँगै उक्त गन्तव्य धाउनेको संख्या ह्वात्तै बढेको बताउँछन् ।