Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
कृष्ण रिजाल काठमाडौं
नवीन अर्याल काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार ०८:२२:००
Read Time : > 4 मिनेट
अर्थ डिजिटल संस्करण

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, को हुन् ढकाल ? 

Read Time : > 4 मिनेट
कृष्ण रिजाल, काठमाडौं
नवीन अर्याल, काठमाडौं
२०७७ मङ्सिर १४ आइतबार ०८:२२:००

वस्तुगतबाट अञ्जन श्रेष्ठ र जिल्ला नगरबाट दिनेश श्रेष्ठ र एसोसियटबाट रामचन्द्र संघई उपाध्यक्ष निर्वाचित, शेखर गोल्छालाई अध्यक्षको नेतृत्व हस्तान्तरण आज 

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । काठमाडौंमा शनिबार राति सम्पन्न निर्वाचनमा ढकालले प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलाई पराजित गरेका हुन् । ढकालले जिल्लानगरतर्फ ५२, वस्तुगततर्फ ५९ र एसोसिएटतर्फ ५२२ मत ल्याए । प्रधानले जिल्लानगरतर्फ ढकालको भन्दा बढी ५३ मत ल्याए पनि वस्तुगततर्फ ३९ र एसोसिएटतर्फ ३७५ मत मात्र पाएपछि पराजित हुन पुगेका हुन् । 

जिल्ला तथा नगरको मत भार ५० प्रतिशत, एसोसिएटको ३० प्रतिशत र वस्तुगततर्फको मतभार २० प्रतिशत हुन्छ । समग्रमा ढकालले जिल्ला नगरमा २४ दशमलव ७६, वस्तुगतमा १२ दशमलव ०४ र एसोसियटमा १७ दशमलव ७६ प्रतिशत मतभारसहित ५४ दशमलव ५४ प्रतिशत मतभार ल्याएर प्रधानलाई पराजित गरेका हुन् ।

यसअघि ढकाल एसोसियटतर्फ र प्रधान जिल्ला नगरतर्फका उपाध्यक्ष थिए । अघिल्लो निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा प्रतिस्पर्धा गरेका प्रधान शेखर गोल्छासँग पराजित भएका थिए । तर, जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठ मेयरको निर्वाचनमा उठेपछि रिक्त भएको स्थानमा प्रधानलाई उपाध्यक्ष बनाइएको थियो ।  

अघिल्लो कार्यकालमा ढकाल एसोसिएटतर्फको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । त्यसअघि उनी एकपटक निर्विरोध र एकपटक सबैभन्दा बढी भोट ल्याएर कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । ‘समृद्धिको आधार राज्य–निजी क्षेत्र साझेदार’को नारासहित महासंघको ५४औँ महाधिवेशनमा होमिएका ढकालले वरिष्ठ उपाध्यक्षमा जित निकालेका हुन् । 

वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएसँगै ढकालले तीन वर्षपछि बन्ने कार्यसमितिमा अध्यक्षको पद सुनिश्चित गरेका छन् । महासंघको विधानले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरेको छ । हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आइतबारदेखि नेतृत्व सम्हाल्नेछन् । अध्यक्ष भवानी राणाले उनलाई नेतृत्व हस्तान्तरण गर्ने ।

मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासंघलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाए । उनले भने, ‘अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।’

को हुन् ढकाल ? 

०२२ सालमा बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल नेपालका सफल उद्यमीका रूपमा चिनिन्छन् । ०४८ सालमा भाइ हेमराज ढकाल (रामु)सँग मिलेर सानो कोल्डस्टोर व्यवसाय सुरेका ढकालले व्यवसायलाई विस्तार गर्दै कर्पोरेट तहमा पुर्‍याएका छन् । अहिले ढकालले नेतृत्व गरेको आइएमई  ग्रुपअन्तर्गत बैंक तथा वित्तीय संस्था, बिमा, रेमिट्यान्स, केबलकार, रिसोर्ट, अटोमोबाइल, जलविद्युत्, अक्सिजन उद्योगलगायत विभिन्न क्षेत्रमा दर्जनौँ उद्योग व्यवसाय रहेका छन् । 

अहिले आइएमई ग्रुप, ग्लोबल आइएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडको अध्यक्ष रहेका ढकालले विभिन्न सामाजिक संघसंस्थाको पनि नेतृत्व गरेका छन् । सन् २०१० देखि नेपालका लागि इन्डोनेसियाका ‘अनररी कन्सुलर’ रहेका ढकाल ‘नेपाल–इन्डोनेसिया उद्योग वाणिज्य संघको अध्यक्ष, नेपाल–जर्मनी उद्योग वाणिज्य संघको उपाध्यक्ष र  ‘इन्टरनेसनल च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज–नेपाल’को उपाध्यक्ष पदमा रहेरसमेत काम गरेका छन् । 

ढकाल नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको सञ्चालक समिति सदस्य तथा श्रम, रोजगार र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत रहेको सामाजिक सुरक्षा कोषको सञ्चालक समिति सदस्यसमेत हुन् । 

नेपाल सरकारले ढकाललाई गोरखा दक्षिणबाहु चौथो र प्रबल जनसेवाश्री चौथोबाट सम्मान गरेकाे छ । त्यस्तै, नेपालमा वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएबापत उनले महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) बाट लगातार तीन आर्थिक वर्षमा सम्मानित भइसकेका छन् । 

उपाध्यक्षमा दुईजना किशोर प्यानलबाट र एकजना ढकालतर्फबाट निर्वाचित 

महासंघको उपाध्यक्षमा दुईजना किशोर प्रधान प्यानलका अञ्जन श्रेष्ठ वस्तुगत समूहबाट तथा दिनेश श्रेष्ठ जिल्ला–नगर समूहबाट निर्वाचित भएका छन् । त्यस्तै, एसोसियट समूहबाट भने ढकाल प्यानलका रामचन्द्र संघई निर्वाचित भएका छन् । कार्यसमितिमा पनि किशोर प्रधान प्यानलको अग्रता देखिएको छ । 

जिल्ला–नगर र एसोसियट समूहका कार्यकारिणी सदस्यमा प्रधान प्यानलका उम्मेदवारहरूले अग्रता कायम गरेका छन् भने वस्तुगततर्फ दुवै प्यानलका बराबरी उम्मेदवार निर्वाचित भएका छन् ।

एसोसिट उपाध्यक्षमा संघई निर्वाचित 
एसोसियट उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघई निर्वाचित भएका छन् । उनले अर्का प्रत्याशी सौरभ ज्योतिलाई सानो मतान्तरमा पराजित गरेका हुन् । संघईले ४ सय ५५ मत ल्याए भने ज्योतिले ४ सय ३४ मत मात्र प्राप्त गरे । 

संघई मुलुकको ठूलोमध्येको व्यावसायिक घराना त्रिवेणी ग्रुपका सञ्चालक हुन् । त्रिवेणी समूहले उत्पादनमूलक उद्योग, व्यापार, बैंकिङ तथा बिमा, ऊर्जा, शिक्षा तथा मनोरञ्जन क्षेत्रमा लगानी गरेको छ । 

घोराही तथा विश्वकर्मा सिमेन्ट, त्रिवेणी स्पिनिङ मिल्स, नेपाल चिया विकास निगम (टोकला चिया), त्रिवेणी व्यापार, एनआइसी एसिया बैंक, महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, बिगमार्ट, दिल्ली पब्लिक स्कुल, बिग मुभिज तथा क्रिकेट क्लब भैरहवा ग्लाडियटर्समा यो समूहको लगानी छ । संघईले यसअघि नै चार कार्यकाल महासंघको कार्यकारिणी सदस्यका रूपमा काम गरिसकेका छन् ।  

एसोसियट सदस्यहरूमा अम्बिकाप्रसाद पौडेल, अविनास बोहोरा, आनन्द बगारिया, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योन्स्ना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रबलजंग पाण्डे, भरतराज आचार्य, रञ्जित आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह वैद्य, शक्तिकुमार बेनानी, शाहिल अग्रवाल, शैलेन्द्रकुमार गुरागाईं, सुशील थापा, सञ्जय गिरी र हेमन्त गोल्छा निर्वाचित भएका छन् । त्यस्तै, द्विराष्ट्रिय सदस्यमा सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका थिए ।

वस्तुगत र जिल्ला–नगर उपाध्यक्ष प्रधानतर्फबाट

वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ भारी मतान्तरले विजयी भएका छन् । श्रेष्ठले प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई २५ मतान्तरले हराएका हुन् । वस्तुगततर्फ खसेको कुल ९९ भोटमा विजयी श्रेष्ठले ६२ मत ल्याउँदा पराजित श्रेष्ठले ३७ मत मात्रै प्राप्त गरे । लक्ष्मी ग्रुपका प्रबन्ध निर्देशक श्रेष्ठ सफल युवा उद्यमीका रूपमा चिनिन्छन् । उनले नेतृत्व गरेको लक्ष्मी ग्रुपअन्तर्गत डेरी, कन्फेसनरी, स्टिल, अटोमोबाइललगायत उद्योग–व्यवसाय रहेका छन् । नवनिर्वाचित उपाध्यक्ष श्रेष्ठ यसअघि महासंघको उद्योग समितिका सभापति रहेका थिए । 

वस्तुगततर्फको सदस्यमा पनि  मिश्रित नजिता आएको छ । वस्तुगततर्फका १४ कार्यकारी सदस्यमा सातजना किशोरकुमार प्रधान प्यानल र सातजना चन्द्रप्रसाद ढकाल प्यानलबाट निर्वाचित भएका हुन् । ढकाल प्यानलबाट वस्तुगततर्फका विजयी उम्मेदवारमा नरेशलाल श्रेष्ठ, सुमितकुमार केडिया, आकाश अधिकारी, प्रकाशसिंह कार्की, भक्तबहादुर हमाल, सुबोधकुमार गुप्ता र हेमराज ढकाल रहेका छन् । 

त्यस्तै, प्रधान प्यानलबाट वस्तुगततर्फका सदस्यमा विजयी हुनेमा अरनिको राजभण्डारी, गोविन्द ढुंगेल, मनीषलाल प्रधान, मीनमान श्रेष्ठ, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, शिवप्रसाद घिमिरे र शुकुन्तलाल हिराचन रहेका छन् । 

त्यस्तै, महासंघको जिल्ला–नगरतर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । अघिल्लोपटकको चुनावमा जिल्ला–नगरको उपाध्यक्षमा पराजित श्रेष्ठले अहिले सोही पदमा जित हासिल गरेका हुन् । प्रधान प्यानलबाट उम्मेदवारी दिएका श्रेष्ठले प्रतिद्वन्द्वी गुणनिधि तिवारीलाई ११ मतले पराजित गरेका हुन् । जिल्ला–नगरतर्फ खसेको कुल एक सय पाँच भोटमा विजयी श्रेष्ठले ५८ मत ल्याए भने पराजित तिवारीले ४७ मत मात्रै प्राप्त गरे ।

जिल्ला–नगरतर्फ प्रधान प्यानलका उम्मेदवार बढी विजयी भएका छन् । कुल १८ सदस्यमा प्रधान प्यानलबाट ११ र ढकाल प्यानलबाट सातजना उम्मेदवार विजयी भएका हुन् । प्रधान प्यानलबाट जिल्ला–नगरतर्फ विजयी हुनेमा अरुण सुमार्गी, कमलकुमार श्रेष्ठ, कमलबहादुर खड्का, कुबिरकुमार श्रेष्ठ, गजेन्द्रकुमार भगत, गोपाल केडिया, तारानाथ घिमिरे, देवकुमार श्रेष्ठ, महेन्द्रकुमार श्रेष्ठ, रामेश्वर मानन्धर र शोभाकान्त पौडेल रहेका छन् । त्यस्तै, जिल्ला–नगरमा ढकाल प्यानलबाट विजयी हुनेमा अमृत भट्टचन, उमेश घिमिरे, किशोरकुमार आचार्य, भक्तबहादुर अधिकारी, डिबी बस्नेत, राजन श्रेष्ठ, सुरकृष्ण वैद्य रहेका छन् । 

प्रदेशमा दुईजना निर्विरोध 

प्रदेशतर्फको सदस्यमा दुईजना निर्विरोध निर्वाचित भएका छन् । प्रदेश १ बाट राजेन्द्र राउत र प्रदेश २ बाट विजय साह निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, बागमती प्रदेशबाट सहनलाल प्रधान विजयी भएका छन् । गण्डकी प्रदेशबाट बाबुराम गिरी विजयी भएका छन् । गिरीले नाै मत ल्याए भने उनका प्रतिद्वन्द्वी निर्माणकुमार श्रेष्ठले ६ मत मात्रै ल्याए । लुम्बिनी प्रदेशबाट जसमेर मियाँ १० मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी हेमराज बन्जाडेले नाै मत मात्रै ल्याए । कर्णाली प्रदेशबाट लालिमान बुढा विजयी भए । उनले सात मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी प्रकाश अधिकारीले तीन मत मात्रै ल्याए । सुदूरपश्चिमबाट पुष्पराज कुमार आठ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी देवबहादुर रोकायले दुई  मत मात्रै ल्याए ।