मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार ०८:०६:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

यो अनुराग यो बालरोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार ०८:०६:००

लमजुङका केही साहित्य अनुरागीहरूले एउटा रमाइलो कार्यक्रम गरेछन् । तिनले सामूहिक रूपमा जम्मा भएर स्थानीय चिती वरबोट पुगेर स्थानीय किसानसँग मिलेर दाइँ गरेछन् । परम्परागत रूपमा मालगोरु बाँधेर कुन्यु फोर्ने, धान ओइरिने, छिरल्ने र गोरु घुमाएर दाइँ गर्ने गरिन्थ्यो । यसरी दाइँ गर्दा धान परालको काम गर्नेलाई दयँरा भनिन्थ्यो । गाउँका पुरुष रातभर दाइँ गर्थे । बिहान पराल फाल्ने, परालका भारी बाँधेर ओसार्ने या टौवा बनाउने र पातैसहितको धान जम्मा पारेर रास लगाउने, त्यसलाई नाङ्लोले बत्ताउने र मुरी–मुरीका थैला बोकेर घरसम्म पुर्‍याउने र भकारीमा राखिदिने काम गर्थे । महिलाले परालको भारी बोक्ने र दयँरालाई भात खुवाउने चलन थियो । 

यसरी दाइँ गर्दा गोरु धपाउने प्रायः घरवाला पुरुष या तिनका साना छोराछोरी हुन्थे । गोरु धपाउनेले गोरुलाई बरातु भन्दै दाइँ गर बरातु हो, दाइँ गर पराल टिपी म्वाइँ गर भन्दै लय हालेर गीत गाउने गर्थे । यो एउटा समूहमा आबद्ध संस्कृतिको झल्को दिने परम्परा पछिल्लो समय हराउँदै गएको छ । खेत साना–साना एकाइमा खण्डित भएका छन् । जनशक्ति कम हुँदै गएको छ । खेतनजिकै घर सार्ने चलन बढ्दै गएको छ । दाइँ गर्नुको साटो थ्रेसरले धान झार्ने गरी प्रविधि भित्रिएको छ । यस्तो प्रविधिसँगै दाइँले आफ्नो स्थान गुमाउँदै गएको छ । अर्थात् पहिले यस्तो दाइँ हेरेका व्यहोरेकाको पुस्ताका लागि यो एउटा विगत अनुराग बनेर मानसपटलमा बसेको छ । 

नयाँ पुस्ताले यसका बारेमा थाहा पाउने अवस्था हराउँदै गएको छ । त्यो पुरानो पुस्ता जो दाइँ गर्दै हुर्केको थियो, आफैँ थ्रेसरतिर लम्केको छ । तर, मनमा भने दाइँप्रतिको अनुराग पालेको छ । प्रविधिले र समयले पुरानो प्रविधि र समयलाई बिदा गरिरहेको छ । तर, मान्छेको मन भने विगतका प्रतिको अनुराग र अहिलेको वास्तविकताबीच पिङ खेलेको जस्तो संक्रमणकालमा छ । यो सतत चल्ने संक्रमणकाल भए पनि कुनै कालखण्डमा यसले जबर्जस्त फड्को हान्छ र विगतसँग सम्बन्ध टुटाइदिन्छ । दाइँ त्यस्तै एउटा सन्दर्भ हो । लमजुङका साहित्यानुरागीलाई केही वर्षमा नै असम्भव हुने अनिवार्य रहेको यो परम्परा जोगाउन गरेको प्रयासका लागि धन्यवाद दिनुपर्ने हुन्छ । कमसेकम नेपालको दाइँ गर्ने चलनको अब दृश्य सामग्री कतै न कतै सुरक्षित हुने नै छ । 

केही समयपहिले स्याङ्जाका किसानले मोटरसाइकलले तानिरहेको कोलमा उखु पेलेको भिडियो सार्वजनिक गरेका थिए । यसले प्रविधि र प्रयोगमा आउने परिवर्तनको अनिवार्यतालाई संकेत गर्छ । यता यही समयमा केही सहरमा राजतन्त्र र हिन्दू राज्यको माग गर्दै प्रदर्शन भएका छन् । कोरोनाले सबै राजनीतिक गतिविधिलाई भर्चुअल गविविधिमा कैद गरेको, संसद् पनि चल्न नसकेको समयमा राजतन्त्रका पक्षमा भएको यो प्रदर्शनले अवश्य आममानिसलाई मनोरञ्जन दिएको हुनुपर्छ । यो पनि आखिर उही चिती वरबोटका किसानसँग मिलेर साहित्यकारले देखाएको विगतप्रतिको अनुरागजस्तै कुरा हो । न नयाँ समयलाई छेक्न सकिन्छ, न नयाँ प्रयोग र प्रविधिको अवश्यम्भावितालाई रोक्न सकिन्छ । तर, विगतप्रति अनुराग राख्न र नोस्टाल्जिक हुन भने कसैले रोक्न सक्दैन ।