मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १४ आइतबार ०६:१०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चिनियाँ रक्षामन्त्री वेई आज आउँदै

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १४ आइतबार ०६:१०:००

औपचारिक वार्ता प्रधानसेनापतिसँग, राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेट हुने

चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आइतबार बिहान काठमाडौं आउँदै छन् । छिमेकी भारतका विदेशसचिव हर्षबर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो । 

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान १० बजे काठमाडौं आइपुग्नेछन् । रक्षामन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी ओलीले तोकेअनुसार प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डामा उनीसँग प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता गर्नेछन् । त्यसपछि बालुवाटारमा प्रधानमन्त्री ओली र शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको छ । 

काठमाडौं ओर्लेलगत्तै मन्त्री वेई बालुवाटारस्थित चिनियाँ दूतावास जानेछन् । त्यहाँ दिवाभोज गरेपछि उनी औपचारिक वार्ताका लागि जंगी अड्डा पुग्नेछन् । उनी आइतबार नै काठमाडौंबाट बंगलादेश जाने कार्यक्रम छ । परराष्ट्रले शनिबार बिहान मात्रै चिनियाँ मन्त्री वेईको नेपाल भ्रमण सार्वजनिक गरेको हो ।

रक्षामन्त्री वेई कोभिड– १९ को महामारीपछि चीनबाट नेपाल भ्रमणमा आउने नै सबैभन्दा उच्च अधिकारी हुन् । उपप्रधानमन्त्री एवं तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले ०७५ कात्तिकमा चीनको औपचारिक भ्रमणका क्रममा वेईसँग द्विपक्षीय वार्ता गरेका थिए । त्यहीवेला उनले नेपाल भ्रमणको निम्तो पनि दिएका थिए । प्रधानसेनापति थापाले पनि चीन भ्रमणका वेला रक्षामन्त्री वेईसँगको भेटवार्तामा नेपाल भ्रमणको निम्तो स्मरण गराएका थिए । 

नेपालमा चीनबाट तीन वर्षपछि रक्षामन्त्रीको भ्रमण हुन लागेको हो । तत्कालीन रक्षामन्त्री बालकृष्ण खाणको निमन्त्रणामा चिनियाँ रक्षामन्त्री एवं स्टेट काउन्सिलर जनरल चाङ वाङक्वानले ०७३ चैत १० देखि १२ सम्म नेपालको औपचारिक भ्रमण गरेका थिए । त्यसपछि चिनियाँ रक्षामन्त्री नेपाल आएका छैनन् । कोभिड– १९ को महामारीका कारण एक वर्षयता नेपाल र चीनबाट उच्चस्तरीय भ्रमण हुन सकेको छैन । सैनिक स्रोतका अनुसार कोभिड– १९ कै कारण चीनबाट जनमुक्ति सेनाका प्रमुख ली जुओचेङको नेपाल भ्रमण हुन सकेन । 

सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलका अनुसार चिनियाँ रक्षामन्त्री वेईलाई जंगी अड्डामा अपराह्न डेढ बजे सेनाको टुकडीले सम्मान गारत (गार्ड अफ अनर) अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानसेनापति थापाले स्वागत गर्ने र सानो समूहमा भेटवार्ता गर्ने कार्यक्रम छ । ‘त्यो भेटवार्ता सकिएपछि प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ,’ प्रवक्ता पौडेलले भने ।

औपचारिक वार्तामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व प्रधानसेनापति थापाले गर्नेछन् भने चिनियाँ पक्षको नेतृत्व रक्षामन्त्री वेईले गर्नेछन् । दुवैतर्पm परराष्ट्र र रक्षा मन्त्रालयका अधिकारीहरू औपचारिक वार्तामा सहभागी हुनेछन् । प्रधानसेनापति नेतृत्वको प्रतिनिधिमण्डलमा सेनाका प्रिन्सिपल स्टाफ अफिसर्ससहित वरिष्ठ अधिकारीहरू सहभागी हुने तय भएको छ । 

यी विषयमा नेपालको चासो 
प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपालले दुई विषयमा चासो राख्ने तयारी गरेको छ । कोभिड– १९ का कारण प्रभावित भएको तालिम र विद्यार्थी आदानप्रदान सुरु गर्ने प्रस्ताव नेपालको हुनेछ । त्यस्तै, तीन वर्षअघि थालिएको नेपाली सेना र चिनियाँ सेनाको ‘एक्सरसाइज सगरमाथा फ्रेन्डसिप’का लागि ढाँचा तयार गरेर सुरु गर्ने प्रस्ताव पनि नेपालले राख्नेछ ।

यसैगरी, उपप्रधानमन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति थापा गत वर्ष चीन भ्रमणमा जाँदा चिनियाँ सेनाले दिने घोषणा गरेको १५ करोड चिनियाँ युयान (दुई अर्ब ४० करोड रुपैयाँ) सहायताको कार्यान्वयनका विषयमा नेपालले चासो राख्नेछ । चीनले प्रकोप व्यवस्थापनका लागि नेपाली सेनालाई यो रकमबराबरको सहायता दिने घोषणा गरेको थियो । यीबाहेक एक–अर्काको सुरक्षा चासोका विषयमा पनि छलफल हुने सैनिक अधिकारीहरूको भनाइ छ । 

‘जंगी अड्डामा मूलतः सुरक्षा र प्रतिरक्षाका विषयमा छलफल केन्द्रित हुनेछ,’ कूटनीतिक स्रोतले भन्यो, ‘प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटमा राजनीतिक सन्देश आदानप्रदान हुन सक्छ ।’ प्रधानमन्त्री ओली र चिनियाँ रक्षामन्त्री वेईबीच चिनियाँ राष्ट्रपति सी जिनपिङको गत वर्ष नेपाल भ्रमणका वेला तय भएअनुसार रणनीतिक साझेदारीको कार्यान्वयन एवं दुई देशबीचका सुरक्षा एवं राजनीतिक मुद्दामा पनि छलफल हुनेछ । 

चिनियाँ रक्षामन्त्रीको भ्रमणको पूर्वसन्ध्यामा उपत्यकामा सुरक्षा सतर्कता अपनाइएको छ । ‘काठमाडौं उपत्यकामा रहेका तिब्बती शरणार्थी शिविरहरूको निगरानी बढाइएको छ र चीनविरोधी गतिविधि हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा प्रबन्ध मिलाइएको छ,’ एक सुरक्षा अधिकारीले भने ।

उत्तर र दक्षिणबाट भ्रमण : संयोग कि प्रतिस्पर्धा ?
भारतबाट गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्तकुमार गोयल, स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे र विदेशसचिव हर्षबर्धन शृंगलाको चरणबद्ध यात्रापछि चीनबाट पहिलो नम्बरका स्टेट काउन्सिलरको भ्रमणलाई विज्ञहरूले अर्थपूर्ण मानेका छन् । तर, यसलाई स्वाभाविक रूपमा लिनुपर्ने उनीहरूको मत छ । ‘भारतबाट रक्षासचिवसहित सुरक्षा अधिकारीहरू आउनु र चीनबाट रक्षामन्त्री आउनु संयोग र प्रतिस्पर्धा दुवै हुन सक्छ, कूटनीतिमा अघोषित प्रतिस्पर्धा अस्वाभाविक मानिँदैन,’ पूर्वपरराष्ट्रसचिव मधुरमण आचार्यले भने, ‘त्यस हिसाबले चिनियाँ रक्षामन्त्री र भारतीय विदेशसचिवससहितको भ्रमण स्वाभाविकै हो ।’ 

त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्धका प्राध्यापक डा. खड्ग केसीले चिनियाँ रक्षामन्त्री र भारतीय विदेशसचिवसहितका अधिकारीको भ्रमण संयोग मात्रै भएको टिप्पणी गरे । ‘नेपालमा छिमेकीहरू उपस्थिति बढाउने अवस्थामा छन्, देखिने गरी चीनले पनि उपस्थिति बढाउने अभियानको निरन्तरताका रूपमा लिनुपर्छ,’ उनले भने, ‘यो नेपालमा बढ्दो अन्तर्राष्ट्रिय र क्षेत्रीय प्रभावको संकेत हो । भारत नेपालमा परम्परागत प्रभाव क्षेत्र कायम राख्न चाहन्छ, चीनले पनि नेपालमा उपस्थितिको अनुपात बढाइरहेको छ ।’ नेपालले दुवै छिमेकीको चासो सम्बोधन गर्दै आफ्नो राष्ट्रिय हितमा उभिनुपर्ने डा. केसीको सुझाब छ ।