मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार ०६:०९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन  पढ्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १४ आइतबार ०६:०९:००

कांग्रेसले भ्रष्टाचारविरुद्ध प्रखर आवाज उठ्न, उठाउन र तीव्र दबाब सिर्जना गर्न जरुरी रहेको बताएको छ । ‘भ्रष्टाचारीको अनुहार नहेर्ने’ प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदन पढ्न आग्रह !’ शीर्षकमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा छ, ‘प्रतिपक्ष, आमसञ्चारमाध्यमदेखि ट्रान्सपरेन्सी इन्टरनेसनलसम्मले मात्रै होइन पछिल्लो एक वर्षमा भ्रष्टाचार व्यापक वृद्धि भएको बुँदागत तथ्य स्वयं नेकपाभित्रै समेत लिखित रूपमै प्रस्तुत भइसकेको स्थितिमा भ्रष्टाचारका विरुद्ध अझ प्रखर आवाज उठ्न, उठाउन र तीव्र दबाब सिर्जना गर्न जरुरी छ ।’ 

विज्ञप्तिमा वर्तमान सरकार बनेपछि मुलुकमा भ्रष्टाचार व्यापक बढेको र प्रधानमन्त्री स्वयंले संरक्षण गरेको आफूहरूको समीक्षालाई अन्ततः ट्रान्सपरेन्सी इन्टरनेसनलको ताजा प्रतिवेदनले पुष्टि गरेको कांग्रेसको तर्क छ । ‘पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद त छ नै भ्रष्टाचारीको संरक्षण स्वयं प्रधानमन्त्रीले गरिरहेको किटानी विवरण प्रतिवेदनमा रहेकोे स्थिति देशकै लागि लज्जास्पदसमेत छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालको छविमा यसबाट गम्भीर असर पुगेको स्थिति दृष्टिगत गर्दै सत्तारुढ पार्टीले संस्थागत धारणा सार्वजनिक गर्न अत्यन्तै अनिवार्य भएको छ,’ विज्ञप्तिमा छ । 

प्रधानमन्त्रीले भ्रष्टाचारका विषयमा दोहोरो मापदण्ड बनाएको कांग्रेसको आरोप छ । ‘एकातर्फ भ्रष्टाचारीको अनुहारसम्म हेर्दिनँ भनेर अभिव्यक्ति दिने अर्कातर्फ भ्रष्टाचारको अनेक प्रकरण ढाकछोप गर्न ओहोदाकै मर्यादासम्म प्रधानमन्त्रीले बिर्सिदिने, शक्ति प्रधानमन्त्री कार्यालयमा केन्द्रित गरेर अतिशक्तिले अतिभ्रष्ट बनाउँछ भन्ने मान्यतालाई पुष्टि गर्नतर्फ लाग्ने अनि भ्रष्टाचारविरुद्ध उठेका आवाजलाई पूर्वाग्रहपूर्ण देख्ने यस्तो प्रवृत्तिले मुलुकमा झनै बेथिति र भ्रष्टाचार बढाउने अनुमान गर्न सकिन्छ,’ विज्ञप्तिमा छ । अपारदर्शिता र अनियमितता अब गम्भीर छानबिनको दायरामा ल्याइनुपर्ने कांग्रेसको माग छ ।