१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर १३ शनिबार १७:४२:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा १२ का परीक्षार्थीलाई होम सेन्टरमा उत्तर लेख्न सिकाउनेदेखि चिट चोराउनेसम्मका गतिविधि

Read Time : > 2 मिनेट
२०७७ मङ्सिर १३ शनिबार १७:४२:००

कोरोना संक्रमणको जोखिम कम गर्न कक्षा–१२ को परीक्षामा होम सेन्टर (आ–आफ्नै विद्यालयमा परीक्षा केन्द्र) कायम गरिएको छ । तर, विद्यार्थीलाई सहज बनाउन मिलाइएको यस्तो व्यवस्था दुरुपयोग भएको पाइएको छ । परीक्षा केन्द्रहरूले परीक्षालाई मर्यादित बनाउन सकेका छैनन् ।

कतिपय परीक्षा केन्द्रमा विद्यार्थीले हलभित्रै मोबाइल प्रयोग गरी ‘चिटिङ’ गर्ने, भित्रै भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्नेलगायत गतिविधि भइरहेका छन् ।

कक्षा–१२ को परीक्षामा देशभर चार हजार एक सय पाँचवटा परीक्षा केन्द्र छन् । कोभिड–१९ को जोखिमका कारण राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सबै होम सेन्टर कायम गरेको छ । कतिपय केन्द्रले परीक्षाको मर्यादा कायम गर्न नसक्दा अशोभनीय गतिविधि सार्वजनिक भएका हुन् ।

८ वैशाखदेखि सञ्चालन हुने गरी तय भएको परीक्षा कोरोना प्रसार रोक्न लागू गरिएको लकडाउनका कारण स्थगित भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले ४० प्रतिशत पूर्णांकका लागि ९ मंसिरदेखि कक्षा–१२ को परीक्षा सञ्चालन गरिरहेको छ ।

यस वर्षको परीक्षा आ–आफ्नै विद्यालयमा सञ्चालन भइरहेको छ । आफ्नै शिक्षकले उत्तरपुस्तिका जाँच गरेपछि प्राप्तांक र उत्तरपुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था छ । परीक्षा केन्द्रमा सिकाउने, चिट चोराउनेलगायत गतिविधि भइरहेका छन् । त्यस्ता बेथिति विद्यालयभित्रै छिपेका छैनन्, निर्धक्क धमाधम बाहिर आइरहेका छन् ।

परीक्षाका विषयमा बाहिर आएका घटनाको जिम्मेवार परीक्षा केन्द्र, केन्द्राध्यक्ष र शिक्षक हुने शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला बताउँछन् । ‘यसमा सरकार र राष्ट्रिय परीक्षा बोर्डलाई दोष दिने ठाउँ छैन, बोर्डले परीक्षाको आवश्यक व्यवस्थापन केन्द्रमार्फत मिलायो, विद्यार्थीलाई अगाडिको यात्रा गर्ने बाटो खुलायो,’ शिक्षाविद् कोइराला भन्छन्, ‘चिटिङलगायत अमर्यादित गतिविधि हुनुमा विद्यालय, प्रधानाध्यापक र शिक्षकले जिम्मेवारी लिनुपर्छ ।’ आफ्नै विद्यार्थीको परीक्षा लिने जिम्मेवारी पाएका कतिपय विद्यालय र स्थानीय तहका शिक्षक जिम्मेवार नदेखिएको उनको भनाइ छ ।

केही परीक्षा केन्द्रको बेइमानीले कक्षा १२ मा केही विद्यार्थीले अत्यधिक धेरै अंक प्राप्त गरे भने पनि त्यसलाई आधिकारिक बनाउने उपाय रहेको कोइरालाको भनाइ छ । ४० प्रतिशत अहिलेको परीक्षा, ४० प्रतिशत कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्यांकनको व्यवस्था छ । यी तीनवटा अंकबीच अनुपातिक फरक कतिसम्मलाई मान्यता दिने भन्ने निर्धारण गरेमा अहिलेको परीक्षाको नतिजामा आधिकारिकता देखिने उनको भनाइ छ । ‘स्थानीय शिक्षकलाई परीक्षाको जिम्मेवारी दिने अन्तर्राष्ट्रिय अभ्यास हो, हाम्रोमा त्यस्ता अभ्यासलाई गलत रूपमा प्रयोग गर्ने चिन्ता छ,’ उनी भन्छन् ।

परीक्षा केन्द्रमा अमर्यादित गतिविधि भएको विषयमा आफूहरूलाई केही जानकारी नभएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल बताउँछन् । ९ मंसिरदेखि सुरु भएको परीक्षा १६ मंसिरमा सकिँदै छ । कोभिड–१९ जोखिमका कारण सीमित पूर्णांकमा डेढ घन्टा परीक्षा सञ्चालन भइरहेको छ ।

सामाजिक सञ्जालमा भ्रामक सूचनाले हैरानी
कक्षा १२ को परीक्षाका विषयमा सामाजिक सञ्जालमा आउने भ्रामक सूचनाले विद्यार्थी, विद्यालय, अभिभावक र बोर्डका अधिकारीहरू हैरान देखिन्छन् । कहिले प्रश्नपत्र आउट भएको र कहिले परीक्षा रद्द भएको गलत सूचना सामाजिक सञ्जालमा आउँदा सरोकारका पक्षलाई चिन्तित बनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको लोगो प्रयोग गरी गत बिहीबार फिजिक्स विषयको परीक्षा स्थगित भएको भ्रामक सूचना सामाजिक सञ्जालमा पोस्ट भएका थिए । बुधबार फिजिक्सको प्रश्नपत्र बाहिरिएको चर्चा भएको थियो । त्यो हल्ला सत्य नभएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

सामाजिक सञ्जालको भ्रामक सूचना खण्डन गर्नै बिहीबार बोर्डले विज्ञप्ति नै निकालेर फिजिक्सको परीक्षा स्थगित नभएको स्पष्ट पारेको थियो । आफ्नो वेबसाइटमा आएका सूचनालाई आधिकारिक मान्न बोर्डले आग्रह गरेको छ ।

परीक्षा चलाउने कि सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको स्पष्टीकरण दिने भन्ने समस्या हुने गरेको बोर्डका अध्यक्ष पौडेल बताउँछन् । बोर्डको लोगो प्रयोग गरी गलत र भ्रामक सूचना सामाजिक सञ्जालमा हाल्नेविरुद्ध उजुरी गर्ने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए ।