मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
गुल्मीको इस्माबाट तम्घास आउँदै गरेको लु.१ज ११६६ नम्बरको जिप शुक्रबार बिहानै इस्मा गाउँपालिका–४ दोहली हुलमा दुर्घटना
२०७७ मङ्सिर १३ शनिबार ०६:५०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

एक वर्षमा एकै गाउँका  २२ जनाले दुर्घटनामा ज्यान गुमाए

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १३ शनिबार ०६:५०:००

गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

गुल्मीको इस्माबाट तम्घास आउँदै गरेको लु.१ज ११६६ नम्बरको जिप शुक्रबार बिहानै इस्मा गाउँपालिका–४ दोहली हुलमा दुर्घटना हुँदा दाजुभाइसहित ६ जनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् । एक बर्ष नपुग्दै वडा नं ४ कै हुल र पैयाँपाटा गरेर २२ जनाले दुर्घटनामा ज्यान गुमाए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी प्रवीणलाल श्रेष्ठका अनुसार मृत्यु हुनेमा इस्मा गाउँपालिका– ४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षका शिव दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी, १९ वर्षका फर्शुराम थापा र मालिका गाउँपालिका– ५ की ८० वर्षीया सुन्दरी थापा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका फर्शुरामको उपचारका लागि तम्घास लैजाने क्रममा मृत्यु भएको हो । 

मृतक शिव र वसन्त दाजुभाइ हुन । शिवकी पत्नी सरस्वती गम्भीर घाइते भएकी छिन् । उनी र अर्को घाइते जिपका सहचालक २५ वर्षीय कमल हितानको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । चालक २५ वर्षीय बुद्ध बस्नेत भने सकुशल छन् । मृत्यु भएका शिव र धनबहादुर सेनामा कार्यरत थिए ।

शिव हवल्दार र धनबहादुर लेस नायक हुन् । दुवैजना तिहार मनाएर ड्युटीमा फर्किंदै थिए । स्थानीय प्रेम दर्लामीले दुवैजनाले घरबाट हिँडेको केहीबेरमै दुर्घटनामा ज्यान गुमाएको बताए । बुबा शिवलाई हात हल्लाएर बिदा गरेको एकछिनमै दश वर्षीय करन टुहुरा बनेको उनले बताए ।

त्यस्तै, तिहार मान्न माइत आएकी मालिका– ५ की सुन्दरी थापा घर फर्किंदै थिइन् । सशस्त्र प्रहरीमा भर्ती हुने सपना बोकेर फर्शुराम थापा नवलपरासी हिँडेका थिए । दुर्घटना भएको एकछिनमै स्थानीय बासिन्दा घटना स्थल पुगेर उद्धारमा खटिएको स्थानीय तथा इस्मा गाउँपालिका ४ का वडा सदस्य भोलासिंह थापाले बताए  । ‘झिसमिसेमै दुर्घटना भएको थियो । हामी तत्कालै त्यहाँ पुग्यौँ, तर पाँचजनाको मृत्यु भइसकेको थियो,’ उनले भने । 

एक वर्ष नपुग्दै यो गाउँमा दुर्घटनाबाट २२ जनाको ज्यान गएको छ । गत वर्ष १७ मंसिरमा इस्मा गाउँपालिका– ४ बाट बाग्लुङ कुलपूजामा हिँडेको जिप भीमगिठेमा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाएका थिए । यसैबीच, दुर्घटनाको खबर पाएपछि पूर्वमन्त्री गोकर्ण विष्टले गुल्मी अस्पताल पुगेर घाइतेलाई भेटेका छन् ।