मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार २१:४२:००
Read Time : > 1 मिनेट
ब्लग डिजिटल संस्करण

सपना रोकामगर : एउटा उत्कृष्ट क्रान्ति

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार २१:४२:००

अक्टोबर क्रान्ति, फ्रान्सेली राज्यक्रान्ति, गौरवमय क्रान्ति, सात सालको क्रान्तिलगायत थुप्रै क्रान्ति हामीले सुन्दै, देख्दै र भोग्दै आएका छौँ । विश्वमा जति क्रान्ति भए ती सबै रक्तपातपूर्ण नै भए । हरेक क्रान्तिमा बलिदानी भए, घाइते भए, बेपत्ता भए, टुहुरा भए, घरबारविहीन भए । 

नेपालमा भर्खरै एउटा नौलो क्रान्ति सुरु भएको छ । त्यो क्रान्तिले न त कसैको बलि मागेको छ, न कसैलाई दुःख दिएको छ, न कसैको परिवार लथालिंग बनाएको छ । बेवारिसेहरूको सहारा बनेको त्यो क्रान्ति हो विपसना क्रान्ति (विनयजंग बस्नेत र सपना रोकामगर) ।

हामीले २० वर्षभन्दा कम उमेरलाई परिपक्व उमेर मान्दैनौँ । १८ वर्षको किशोरी उमेरमै बिबिसीले तयार पारेको २०२० को विश्वकै प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोकामगर आफैँमा सिंगो क्रान्ति हुन् । 

आफ्नै जीवनसँग अनेकौँ संघर्ष गर्दै क्रान्तिको बाटो रोजेकी सपनाको साहसलाई विश्वले पत्यायो । विश्वले सपनालाई मात्र पत्याएन, एउटा बिग्रेको मान्छेले सही बाटो पहिल्याउन सक्यो भने त्यो मान्छे विश्वकै उदाहरणीय बन्न सक्छ भनेर प्रमाणित गरिदियो । 

यो जित सपनाको मात्र नभएर विश्वकै छोरीहरूको जित हो । सुखैसुखले बाँधिएको जिन्दगीलाई आफ्नै कारण दलदलमा पुर्‍याएको सहर्ष स्वीकार गर्न सक्ने सपनाको योभन्दा ठूलो महानता के होला र ? धेरैको प्रेरणाको स्रोत बनेकी सपनाले जीवनका अनेकौँ बाधाहरूसँग पौँठेजोरी खेल्दै, समाजका अपहेलना, गाली र तिरस्कारलाई कुल्चिँदै सडकका निमुखा मान्छेहरूको सारथि बन्न पुगिन् । त्यति मात्र नभई मृत्यु लिएर आएको डोरी चुँडालेर जिउँदै आर्यघाट पुग्ने आँट गरिन् त्यो सायदैले गर्न सक्छन् । 

यो क्रान्ति सफल हुन सपनाको जीवनमा अनेकौँ आँधी आए । ती आँधीले न त कसैको झुपडी उडायो, उनका आँखाबाट बेजोडले इन्द्रावती झरे, तर पनि कसैको घर बगाएन । अन्ततः आफैँलाई ढाल्ने गरी जीवनमा आएको भूकम्पको धक्काले पुर्‍याइदियो विनयजंग बस्नेतको बाहुलीमा । 

बलेको आगो मात्रै ताप्न खोज्ने यो समाजमा निभेको आगोको पनि व्यवस्थापन गर्नुपर्छ भन्ने ध्येय बोकेका विनयजंगकी धर्मछोरी बन्न पुगेपछि सपनाको जीवन सडकपेटीबाट आर्यघाट मोडिएको बुझिन्छ । 

छोरी मान्छेले मरेको शव छुन नहुने, मरेको मान्छे जलाउन नहुने नेपाली समाजमा अपरिचित बेवारिसे, कुहिएका, गन्हाएका र औँसा परेका शव बोकेर जलाउने हिम्मत कसैले गर्न सक्दैन, गरेको छैन र थिएन । नेपाली समाजलाई चुनौती दिँदै नौलो क्रान्ति सुरु गरेकी थिइन् र त आज यो सफलता प्राप्त भयो । सजिलो बाटो त जो पनि हिँड्छ । तर, असजिला गल्छेँडाहरूमा अनेकौँ हन्डर र ठक्कर खाने मान्छेले नै हो समय जित्ने । 

आजभोलि समाजसेवाको नाममा विकृति र विसङ्गति भित्रिएका छन् । तर, उनले आफूले गरेको त्याग र समर्पणलाई समाजसेवा नभई मन–शान्तिको उपाय भनेकी छिन् । एउटा महान् व्यक्तिले दिने अभिव्यक्ति योभन्दा ठूलो अर्काे हुनै सक्दैन । 

हामीले भुल्न र बिर्सन नहुने अर्काे कुरा यो महान् क्रान्तिकी नायक सपना हुन् भने महानायक हुन् विनयजंग बस्नेत । सपनाको साहसको सम्मान र कदर गर्दै यो स्थानसम्म ल्याउने विनयलाई सपनाले कुनै पनि मोडमा बिर्सनुहुँदैन । 

समाजसेवा, विकास र समृद्धिका नाममा दिनदिनै जनताले भोग्नुपरेको सास्ती, हेर्नुपरेको ताण्डवनृत्य, कानै टट्याउने बेकामका दोहोरीका बीच सपना र विनयको यो क्रान्ति साँच्चै उत्कृष्ट र नमुना क्रान्ति साबित भएको छ विश्वमाझ । 

कवि बाबु त्रिपाठीले त्यसै लेखेका होइनन् यो कविता

कसैको मन नदुखाईकन
कसैको झुपडी नजलाईकन
कसैलाई टुहुरा नबनाईकन
क्रान्ति गर्नु पो क्रान्ति ।