मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ मङ्सिर १२ शुक्रबार १४:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

विपन्न ३० किशोरीलाई रेडक्रसको छात्रवृत्ति

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार १४:४६:००

नेपाल रेडक्रस सोसाइटी रोल्पाले युएनएफपिएसँगको सहकार्यमा अतिविपन्न ३० किशोरीलाई छात्रवृत्तिस्वरूप आर्थिक सहयोग हस्तान्तरण गरेको छ । 

शुक्रबार जिल्ला सदरमुकाम लिबाङमा आयोजित कार्यक्रममा ती किशोरीहरूलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा प्रतिव्यक्ति १० हजारका दरले तीन लाख रकम छात्रवृत्तिमा वितरण गरिएको रेडक्रसले जनाएको छ । 

रेडक्रसको कार्यक्षेत्र रहेको रोल्पा नगरपालिका, परिवर्तन गाउँपालिका, सुनिलस्मृति गाउँपालिका र रुन्टीगढी गाउँपालिकाका ३० अतिविपन्न किशोरीलाई छात्रवृत्ति वितरण गरिएको रेडक्रस रोल्पाका सभापति डिबी घर्तीमगरले बताए । 

अभिभावकविहीन तथा विभिन्न हिंसामा परेका किशोरीलाई छात्रवृत्ति प्रदान गरिएको उनले जानकारी दिए । छात्रवृत्तिबाट अध्ययनका साथै हिंसापीडित किशोरीको आर्थिक आधार निर्माणका लागि सहयोग पुग्ने उनको भनाइ छ । 

छात्रवृत्ति रकमलाई सदुपयोग गरेर आफ्नो भविष्य निर्माणमा खर्चिन रोल्पा नगरपालिकाका उपप्रमुख मनकुमारी घर्तीले सुझाब दिइन् ।

विगत तीन वर्षदेखि वितरण

विगत तीन वर्षदेखि युएनएफपिएसँगको सहकार्यमा छात्रवृत्ति प्रदान गर्दै आएको र छात्रवृत्तिकै कारण किशोरीहरूको पढाइ तथा आर्थिक अवस्थामा केही सुधार भएकाले निरन्तरता दिइएको युएनएफपिएका खगेन्द्र भट्टले बताए । 

रेडक्रस रोल्पाले जिल्लाका चार स्थानीय तहमा १७ किशोरी समूह गठन गरी विभिन्न शारीरिक परिवर्तन तथा हुन सक्ने समस्याबारे कक्षासमेत सञ्चालन गर्दै आइरहेको छ । 

किशोरीहरूलाई आत्मनिर्भर बनाउन र आर्थिक जीवनस्तर सहज बनाउनका लागि सहजीकरण गरिरहेको रेडक्रसले बताएको छ ।

छात्रवृत्ति पाएपछि किशाेरी दंग

छात्रवृत्ति पाएपछि आफूहरूमा थप ऊर्जा प्राप्त भएको र छात्रवृत्तिलाई पढाइमा खर्चिने किशोरीहरूले बताएका छन् । पढ्ने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावका कारण पढाइमा समस्या हुँदै आएकोमा छात्रवृत्तिले धेरै सहयोग गरेको विपन्न विद्यार्थी कन्जिल पुनमगरले बताइन् । 

त्यस्तै तालाबाङकी किशोरी ज्योति खड्काले अर्काको कारण बालविवाह गरेको जसका कारण आफ्नो पढाइ अस्तव्यस्त बनेको र अब छात्रवृत्तिको रकमले पढाइलाई अगाडि बढाउने बताइन् । 

बालविवाहका कारण परिवारमा कलह बढेको र पढाइ तथा आयआर्जनमा समेत समस्या परेकाले आफूले अब छात्रवृत्तिको रकमले केही उद्यम गर्ने रोल्पा नगरपालिका– ७, कोटगाउँकी किशोरी लक्ष्मी सुनारले बताइन् । उनीहरूले रेडक्रसको सहयोगले आफूहरूको जीवनस्तरसमेत सुधार हुने आशा व्यक्त गरेका छन् ।