Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १२ शुक्रबार ०७:००:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपालको कमाइ विदेशमा लगानी नगर्न प्रधानमन्त्री ओलीको आग्रह

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १२ शुक्रबार ०७:००:००

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई नेपालमा कमाएको पुँजी विदेशमा लगेर लगानी नगर्न आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको बिहीबारदेखि काठमाडौंमा सुरु भएको ५४औँ वार्षिक साधारणसभा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्रै लगानीका लागि पर्याप्त अवसरहरू रहेको बताए । ‘हाम्रा उद्यमीहरूले दुई–चार पैसा कमाइ बढी हुन्छ भन्दैमा स्वदेशमा कमाएर विदेशमा लगानी गर्नुभएन,’ उनले भने, ‘देशप्रति माया गर्न सिक्नुहोस् ।

हाम्रोमा लगानीका अवसर अझ धेरै छन् । श्रम बजार पनि सस्तो छ ।’ देशभित्र लगानी बढाउन बाधक बनिरहेका कानुनी
जटिलतालाई हटाउन सरकार तयार भएको उनले बताए । प्रधानमन्त्री ओलीले कोभिड प्रभावित निजी क्षेत्रलाई गच्छेअनुसारको सहयोग गर्ने बताएका छन् । सरकारका विभिन्न तह र निजी क्षेत्रबीच सहकार्य गरेर अगाडि बढे मात्र कोभिडबाट शिथिल बनेको अर्थतन्त्रलाई लयमा फर्काउन सकिने उनको ठहर छ ।

कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले कोभिड महामारीले सबै क्षेत्र प्रभावित भए पनि सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित भएको बताइन् । उनले भनिन्, ‘लकडाउनको अवधिमा ४ प्रतिशत मात्रै उद्योग चलेका थिए, ३५ प्रतिशत उद्योग आंशिक रूपमा चलेका थिए ।’ कोभिडले २० लाखसम्म बेरोजगार हुन सक्ने उनको अनुमान छ ।

अध्यक्ष राणाले सरकारले ल्याएको कोभिडको राहत प्याकेज छिटोभन्दा छिटो प्रभावकारी कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन् । ‘मुलुकमा भएको जलस्रोत, ऊर्जा, खानी, कृषि, पर्यटन, जडीबुटीबाटै आर्थिक समृद्धि हासिल गर्न सकिन्छ,’ उनले भनिन्, ‘यिनै स्रोत–साधनलाई परिचालन गरी समृद्धि हासिलगरौँ ।’ मुलुकमा डिजिटल कारोबार बढ्दै गइरहेको बताउँदै उनले सरकारको नीति तथा ऐनहरू पनि डिजिटल कारोबारमैत्री बनाउनुपर्नेमा जोड दिइन् ।

सरकारी कार्यालयका सेवाहरू पनि डिजिटलाइज गर्नुपर्नेमा उनको जोड छ । उनले एमसिसी राष्ट्रिय सहमतिसहित पारित गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन् । कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कोभिडबाट प्रभावित अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउन सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले बन्दाबन्दीबाट प्रभावित अर्थतन्त्रलाई पूर्ववत् अवस्थामा फर्काउन कुल गार्हस्थ्य उत्पादन (जिडिपी)को ९ प्रतिशत रकम खर्चिनुपर्ने औँल्याए । हाल करिब ३७ अर्बको अर्थतन्त्रको आकारका आधारमा यो रकम करिब ३ खर्ब ४० अर्ब रुपैयाँ हुन आउँछ । मुलुकको आर्थिक पुनरुत्थानमा जिडिपीको ३.५, सामाजिक सुरक्षामा ४ र स्वास्थ्य पूर्वाधारमा १.५ प्रतिशत रकम खर्च गर्नुपर्ने एक अध्ययनले देखाएको उनको तर्क छ ।

‘कोभिड र बन्दाबन्दीले हाम्रो जीवनको लय फेरिएको छ, स्वास्थ्य जटिलता बढेको छ, आय आर्जनका अवसर घटेका छन्, उद्यम–व्यवसाय नराम्ररी प्रभावित भएका छन्,’ गोल्छाले भने, ‘अर्थतन्त्रमा करिब २३ प्रतिशत योगदान दिने र झन्डै २० लाखलाई रोजगारी दिइरहेका साना तथा मझौला उद्यमी अहिले निकै आक्रान्त भएका छन् ।’

अर्थतन्त्रलाई ठूलो योगदान दिने साना तथा मझौला उद्योग–व्यवसायलाई राज्यले विशेष राहत दिनुपर्ने उनको भनाइ छ । उनले उद्योग–व्यवसायको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको आवश्यकता औँल्याउँदै डेढ खर्बको पुनर्कर्जा कोषलाई बढाएर २ खर्बको पुर्‍याउन र दुई वर्षको अवधिलाई तीन वर्ष बनाउन सरकारसँग आग्रह गरका छन्  ।

महासंघको ५४औँ वार्षिक साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गर्नेछ । नयाँ कार्यसमितिको चुनाव १३ मंसिरमा हुँदै छ । चुनावमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्र ढकाल र किशोर प्रधान प्यानलसहित चुनावी मैदानमा होमिएका छन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने विधानतः व्यवस्था भएको हुँदा शेखर गोल्छाले आगामी कार्यसमितिको नेतृत्व सम्हाल्दै छन् । 

पूर्वअध्यक्षहरूलाई सम्मान
कार्यक्रममा प्रधानमन्त्रीले महासंघका पूर्वअध्यक्ष रविभक्त श्रेष्ठलाई सम्मानपत्र र पूर्वअध्यक्षहरू महेशलाल प्रधान, विनोद चौधरी, पद्य ज्योति, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ, चण्डीराज ढकाल, कुशकुमार जोशी, सुरज वैद्य, प्रदीपजंग पाण्डे र निवर्तमान अध्यक्ष पशुपति मुरारकालाई प्रशंसापत्रबाट सम्मानित गरे ।

यस्तै, महासंघले प्रदेश च्याप्टरका अध्यक्षहरू नरेन्द्रकुमार खडका (प्रदेश १), शिव शंकर साह हीरा (प्रदेश २), दिनेश श्रेष्ठ (बागमती), सञ्जीवबहादुर कोइराला (गण्डकी), गुणनिधि तिवारी (लुम्बिनी), पदमबहादुर साही (कर्णाली) र शंकर बोगटी
(सुदूरपश्चिम)लाई कदरपत्रबाट सम्मानित गर्‍यो ।

महासंघसँग नजिकमा रहेर काम गर्ने नेपालका लागि भारत, चीन, फ्रान्सका राजदूतहरू, अन्तर्राष्ट्रिय श्रम संगठन नेपाल कार्यालय, जिआइजेड नेपाल कार्यालय, ब्रिटिस काउन्सिललाई पनि कदरपत्रबाट सम्मानित गरिएको छ । ‘ख’ वर्गबाट ‘क’ वर्गमा स्तरोन्नति भएको रत्ननगर उद्योग वाणिज्य संघ, मुगु जिल्लाको आर्थिक, व्यवसायिक विकासमा उल्लेख्य योगदान गरेबापत मुगु उद्योग वाणिज्य संघलाई पनि कदरपत्र प्रदान गरिएको छ । महासंघमा निरन्तर २५ वर्ष सेवा गर्ने कर्मचारीहरूलाई पनि नगदसहित कदरपत्रले सम्मान गरिएको छ ।