मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १२ शुक्रबार ०६:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कच्ची घर, पक्की शौचालय

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १२ शुक्रबार ०६:१७:००

लहानको विपन्न दलित बस्तीका तीन–तीन परिवारले प्रयोग गर्ने गरी १० शौचालय निर्माण, स्थानीय बासिन्दाबाटै मासिक शुल्क उठाएर व्यवस्थापन गरिने

सिराहाको लहान नगरपालिका–११ पडरियाको मुसहर र पासवान बस्तीमा फुसले छाएका घर छन् । केही घरमा टिनका छाना पनि छन् । तर, भर्खरै शौचालय भने पक्की निर्माण गरिएको छ । 

वडा कार्यालयसँगको समन्वय र सामाजिक संस्थाको पहलमा नमुना शौचालय बनेपछि स्थानीय बासिन्दाले राहत पाएको बताएका छन् । विहीबार एक कार्यक्रमबीच शौचालय स्थानीय बासिन्दालाई हस्तान्तरण पनि गरिएको छ । ३३ परिवारको बस्तीमा निर्माण गरिएको शौचालयमा पानी र बिजुलीको पनि सुविधा छ । यहाँका कतिपय घरमा बिजुली पनि छैन । 

घरभन्दा शौचालय राम्रो बनेको देख्दा स्थानीय चनु सदायले आश्चर्य प्रकट गरे । जंगलतिर जानुपर्दाको दुःख हटेको उनको भनाइ छ । ‘खुला दिसामुक्त क्षेत्रमा बिहान–बेलुका दिसापिसाब गर्न गाउँबाहिर जानुपर्दा साह्रै पीडाबोध हुन्थ्यो,’ सदायले भने, ‘बस्ती छेउछाउ जमिन भएका गाउँलेको गालीगलोज त कति सुन्यौँ कति ?’ 

बस्तीको मध्यभागमा पर्ने गरी दुई ब्लकमा निर्माण गरिएका १० वटा शौचालयको साँचो विश्व शौचालय दिवसको सन्दर्भ पारेर स्थानीय बासिन्दालाई हस्तान्तरण गरिएको छ । शौचालयको साँचो हस्तान्तरण गर्दै लहानका मेयर मुनि साहले नमुना शौचालय बस्तीको मात्र नभई सिंगो नगरको सरसफाइको प्रतीक भएको बताए । मेयर साहले भने, ‘शौचालय प्रयोग गरेपछि आफैँले सफा गर्ने बानी बसालौँ । यो अन्य गाउँका लागि पनि उदाहरण हुन्छ ।’

तीन परिवारका लागि एउटा शौचालय
अपांगतामैत्री रहेको भवनलाई दुई ब्लक गरी पाँच–पाँचवटा शौचालय निर्माण गरिएका छन् । वाटर एडको द बिकन परियोजनाअन्तर्गत लहानस्थित दलित जनकल्याण युवा क्लबले शौचालय निर्माण गरेको हो । तीन–तीन परिवारले एउटा शौचालय प्रयोग गर्ने गरी निर्माण गरिएको क्लबका कार्यकारी निर्देशक विनोदकुमार बिसुन्केले बताए । शौचालयको सरसफाइ, धाराको टुटी, हात धुने ठाउँको सुरक्षा गर्ने जिम्मवारी प्रयोगकर्ताको रहने गरी हस्तान्तरण गरिएको उनले बताए ।

शौचालयको नियमित रेखदेख, सुरक्षा तथा सञ्चालनका लागि बस्तीका नौजना रहेको पडरिया खानेपानी तथा सरसफाइ व्यवस्थापन समिति गठन गरिएको छ । समितिकी अध्यक्ष सोमनीदेवी पासवानका अनुसार शौचालयमा जडान गरिएको बिजुली, पानी, साबुन, सरसफाइ सामग्री खरिद र मर्मतका लागि समुदायले नै मासिक रूपमा रकम संकलन गर्न थालेका छन् ।

‘शौचालय प्रयोग गर्ने हरेक घरधुरीले मासिक ५० रुपैयाँ समितिमा बुझाउनुपर्ने नियम बनाएका छौँ,’ अध्यक्ष पासवानले भनिन् ‘त्यही रकमले बिजुलीको महसुल, पानी, सरसफाइ सामग्री खरिददेखि नियमित मर्मत गर्ने योजना छ ।’ शौचालय निर्माणमा २८ लाख ५८ हजार पाँच सय १४ रुपैयाँ खर्च भएको छ ।