१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ मङ्सिर ११ बिहीबार ०८:०१:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से ‘अल टाइम हाई’बाट ७ अंकमुनि, लगानीकर्ताको सम्पत्ति २५ खर्ब पुग्यो

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ११ बिहीबार ०८:०१:००

सेयर बजार सूचक नेप्से हालसम्मकै उच्च बिन्दु १८८१ भन्दा मात्रै ७ अंक तल आइपुगेको छ । नेप्सेले बुधबार ६४ अंक जोडेर १ हजार ८ सय ७४ दशमलव ८२ बिन्दुमा पुगेको हो ।

बजार उच्च बिन्दुनजिक आएसँगै लगानीकर्तामा रोमाञ्चकता थपिएको छ । लगानीकर्ता बजारप्रति आकर्षितसमेत भइरहेका छन् । यही कारण बुधबार कारोबार रकम पनि हालसम्मकै उच्चनजिक छ । यसअघि हालसम्मकै उच्च ६ अर्ब ८७ करोडको कारोबार भएको बजारमा बुधबार ६ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको हो । 

बजार उच्च बिन्दुमा जाँदा प्राविधिक र आधारभूत पक्षहरूले खासै काम गर्दैनन् । तर, उचाइ बनाउँदा भने नयाँ उच्च बिन्दु कायम गर्छ । पुरानोभन्दा २–३ सय बिन्दुसम्म जान पनि सक्छ वा हालसम्मको उच्च बिन्दुमा छोएर फर्किन पनि सक्छ । यो लगानीकर्ताको मनोविज्ञानमा आधारित हुनेछ ।

यसअघि १ हजार १ सय ७५ बाट नेप्सेले ७ सय अंक जोडेको थियो । अहिले १ हजार ८ सय ८१ बाट घटेर नेप्से १ हजार १ सय २ सम्म ओर्लिएको थियो । नेप्सेले करिब ७ सय ७९ अंकको गहिराइ बनाएकाले त्यत्ति नै अंक जोड्न सक्ने प्राविधिक विश्लेषणले देखाउँछ । 

बजार उच्च बिन्दुनजिक रहँदा १ सय ९८ कम्पनीको कारोबार हुँदा ३६ कम्पनीको मूल्य मात्रै १ हजार रुपैयाँभन्दा माथि छ । हाल केही वाणिज्य बैंकहरूको मूल्य अझै कम छ । यसअघि अन्य समयमा समेत १ हजार मूल्यमाथि रहेका धेरै कम्पनीको मूल्य सोभन्दा कम छ ।

मूल्यलाई मात्र आधार मान्दा भने बजार बढ्न थप स्पेस छ । तर, पुरानो मूल्य वा नेप्सेको पुरानो प्रवृत्तिलाई मात्र आधार नमानेर हाल कम्पनीहरूको व्यवसायको अवस्था, तिनमा पर्न सक्ने कोभिडको प्रभाव, कम्पनीहरूको हालको आम्दानी र प्रतिफल क्षमताहरूलाई समेत हेरेर लगानी गर्नु सही हुन्छ । 

बुधबार १० कम्पनीको मूल्य करिब १० प्रतिशतले वृद्धि भएको छ । शिवम् सिमेन्ट, एनएमबि माइक्रो फाइनान्स, विशाल बजार कम्पनी, नेपाल रिइन्स्योरेन्स, अजोड इन्स्योरेन्स, एनटिसी, आँखु खोला, शिवश्री हाइड्रो, न्यादी ग्रुप पावर र मल्टी पपर्स फाइनान्सको मूल्य यो दरमा वृद्धि भएको हो ।  

कारोबारमा आएका १ सय ९८ कम्पनीमा १ सय ५१ वटाको मूल्य बढेको र १५ वटाको मूल्य घटेको छ । बजारमा लगानीकर्ताको सम्पत्तिको मूल्य २५ खर्ब रुपैयाँ पुगेको छ । अहिले पनि व्यापारमूलक र उत्पादनमूलक समूहमा सबैभन्दा धेरै ७ देखि ८ प्रतिशतसम्म वृद्धि भएको छ । 

 एलआइसीको लाभांश प्रस्ताव
लाइफ इन्स्योरेन्स कर्पोरेसनले आव ०७५/७६ को नाफाबाट लगानीकर्तालाई १०.५२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल प्रस्ताव गरेको लाभांश भने २०७६ असार मसान्तको चुक्ता पुँजीका आधारमा १४.१५ प्रतिशत हो ।