मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एपी
२०७७ मङ्सिर १० बुधबार १४:२१:००
Read Time : > 1 मिनेट
अर्थ

जापान र चीनबीच कोरोनाबाट प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्ने सहमति 

Read Time : > 1 मिनेट
रासस/एपी
२०७७ मङ्सिर १० बुधबार १४:२१:००

जापान र चीनका विदेशमन्त्रीहरूबीच महामारीका रूपमा फैलिएको कोरोना भाइरसविरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ । साथै भाइरसका कारण प्रभावित दुवै देशको अर्थतन्त्र उकास्न साझेदारी गर्नेबारे पनि सहमति भएको छ ।  

जापान भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र उनका जापानी समकक्षी तोसिमिचु मोटेगीबीच दुवै देशबीच व्यापारिक, व्यावसायिक यात्रा पुनः सुरु गर्ने निर्णय भएको उल्लेख छ । विश्वमा हाल चीन दोस्रो तथा जापान तेस्रो ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । 

जापान र चीनबीच यसै महिनाको अन्त्यदेखि व्यावसायिक यात्रा सुरु हुनेछ जहाँ व्यापारिक एवं व्यावसायिक व्यक्तिका लागि १४ दिने क्वारेन्टिन नियम लागू हुने छैन । जापानले यस्तै नियम सिंगापुर, दक्षिण कोरिया र भियतनामका लागि लागू गरिसकेको छ । 

यद्यपि, जापानमा पछिल्ला दिनमा कोरोना भाइरस संक्रमणको दर केही बढेको देखिएको छ । सरकारले रोग नियन्त्रण र आर्थिक क्रियाकलापलाई सँगसँगै लैजाने नीति अवलम्बन गरिरहेको छ । 

चिनियाँ विदेशमन्त्रीसँगको भेटपछि जापानका विदेशमन्त्री मोटेगीले भने, ‘नयाँ सहमतिहरूले जापान र चीनबीचको व्यावसायिक सम्बन्ध अघि बढाउन निकै योगदान गर्नेछ । जापान–चीनबीचको स्थायित्वले दुई देशबीच मात्र नभई यस क्षेत्रकै लागि उपयोगीसिद्ध हुनेछ ।’

कोरोना भाइरस महामारी फैलनुअघि जापान भ्रमण गर्ने विदेशीहरूमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी थियो । दुई देशबीचको सम्बन्ध खासगरी भूमि विवाद र युद्धकालीन इतिहास विषयलाई लिएर संकटमा पर्ने गरेको छ । तर, पछिल्ला केही वर्षदेखि दुवै देशबीचको सम्बन्धमा व्यापक सुधार आएको छ । र, चीन र संयुक्त राज्य अमेरिकाबीच व्यापार युद्ध सुरु भएपछि चीन र जापानबीचको सम्बन्धमा अझ सुधार आएको छ । 

अमेरिकाका एक प्रमुख मित्रराष्ट्रका रूपमा रहेको जापानले चीनलाई अहिले मुख्य व्यापारिक साझेदारका रूपमा लिन थालेको छ । जापानले चीन र अमेरिका दुवैसँग सन्तुलित सम्बन्ध स्थापना गर्नुपर्ने कठिन चुनौती छ ।