१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ मङ्सिर १० बुधबार ०७:४१:००
Read Time : > 1 मिनेट
Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ मङ्सिर १० बुधबार ०७:४१:००

काठमाडौं महानगरपालिकाले रत्नपार्कको नाम फेरेर शंखधर साख्वाः पार्क बनाउन लागेपछि धेरैले त्यसको आलोचना गरेका छन् । महानगरले नाम बदल्ने प्रयास थाल्नुअघि आमजनताको यसमा के–कस्तो धारणा छ भनेर पनि बुझेको छैन । राजा महेन्द्रले आफ्नी पत्नी रत्नका नाममा बनाउन लगाएको यो पार्क काठमाडौंको एउटा चिनारीका रूपमा रहँदै आएको छ । विदेशबाट आउनेले यसलाई के–कति पार्क मान्छन्, त्यसबारे अध्ययन भएको छैन होला । तर, नेपालीका बीचमा जोकोही पनि एकपटक काठमाडौं आएको छ, उसका लागि त्यसको विशेष महत्व छ र ऊ रत्नपार्क पुगेकै छ । 

रत्नपार्कले अवश्य पनि राजा महेन्द्रको शक्ति र उनको शासनको एउटा झलक बोकेको छ, तर राजशाहीको समाप्तिसँगै त्यो अब शक्ति–सम्बन्धको विद्रुप चिह्न होइन कि बरु त्यो जनआन्दोलनको केन्द्रका रूपमा इतिहासको एउटा बिम्बका रूपमा रहेको छ ।

पहिले त बाहिरबाट आउने बस रत्नपार्कनजिकैको बसपार्कमा आउने र छुट्ने भएकाले यता नआई हुँदैनथ्यो । अहिले पनि काठमाडौंको आन्तरिक गन्तव्यका धेरै ठाउँ रत्नपार्कतिर निस्केरै पुगिन्छन् । देशभरको राजनीतिलाई तरंगित बनाउने खुलामञ्च पनि यससँगै जोडिएको छ । रानीपोखरी, त्रिचन्द्र कलेज, सैनिक मञ्चसँग जोडिएको, वीर अस्पतालदेखि सहरको मुख्य बस्ती असन भोटाहिटीको छेउमै रहेको यो ठाउँ पार्कका रूपमा एउटा गहना बनेको छ । काठमाडौंको परिचयसँग गाँसिएको यो ठाउँको नाममा पार्क बनाउनुअघि अवश्य पनि रत्न जोडिएको थिएन । त्यसैले यो पचास–साठी वर्षको इतिहास बोकेको पार्कले नेपाली राजनीतिको एउटा कालखण्डको प्रतिबिम्ब भने अवश्य पनि बोकेको छ । महेन्द्रले प्राणत्याग गरेको ५० वर्षपछि र रत्न जीवितै रहँदै यो पार्कको नाम बदल्नुपर्ने त्यस्तो कुनै राजनीतिक कारण भने उपस्थित छैन । शंखधर साख्वाः अवश्य पनि नेपालको इतिहासका विशिष्ट व्यक्तित्व हुन् । 

उनका नाममा नेपाल संवत् नै चलेको छ भने पार्क बनाइनु र उनको सम्झना सम्मान गरिनु स्वाभाविक पनि हो । तर, भइरहेको छँदाखाँदाको पार्कको साइनबोर्ड बदलेर उनको नाम राख्दैमा साख्वाःको सम्मान भने हुँदैन । बरु यसले उनैलाई पनि र यस्तो निर्णय गर्नेहरूलाई पनि विवादमा पारिदिन्छ । त्यसैले पनि यो निर्णय गलत छ । नेपालका अनेक ठाउँ र संरचनाका नाम इतिहासका अनेक कालखण्डका शासकसँग जोडिन्छन् । कुनै राजा या रानीका नाममा, कुनै पछि बनाइएका संरचनाका नाममा बन्ने यस्ता स्थाननामले इतिहासको खास कालखण्डका केही स्मृति आफूसँग बोकेका हुन्छन् । डडेलधुराको अमरगढी होस् या मकवानपुरको चिसापानीगढी तिनले नेपालको इतिहासको खास कालखण्डको बिम्ब बोकेका छन् । वीरेन्द्रनगर होस् या वीरगन्ज तिनले पनि इतिहासका केही झिल्का लिएर बसेका छन् ।

कहिलेकाहीँ इतिहासका क्रूर पात्रका नाममा पनि स्थाननाम राखिने भएकाले शक्ति सम्बन्धमा आएको परिवर्तनपछि त्यस्ता नाम बदलिन्छन् । रत्नपार्कले अवश्य पनि राजा महेन्द्रको शक्ति र उनको शासनको एउटा झलक बोकेको छ । तर, राजशाहीको समाप्तिसँगै त्यो अब शक्ति सम्बन्धको विद्रुप चिह्न होइन कि बरु त्यो जनआन्दोलनको केन्द्रका रूपमा इतिहासको एउटा बिम्बका रूपमा रहेको छ । यस्ता बिम्बहरू नयाँ पुस्तालाई इतिहास सम्झाउन पनि काम लाग्छन् । शंखधरको सम्मान गर्दा नयाँ र रत्नपार्कभन्दा भव्य पार्क बनाएर उनको नाममा राख्दा नै त्यो प्रभावकारी हुन्छ । यस्तो पार्क रत्नकुमार बान्तवाका नाममा बनाए पनि या पद्मरत्न तुलाधरको नाममा बनाए पनि हुन्छ । उनीहरूको नाममा रहेको रत्नले नेपालको इतिहासमा निरंकुश सत्ताका विरुद्धको प्रतिरोधको इतिहास प्रतिबिम्बित हुनेछ । त्यसैले रत्नपार्कको नाम नबदलौँ, बरु नयाँ बिम्ब बोक्ने रत्नपार्कहरू बनाऊँ ।