मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका वासिङ्टन
२०७७ मङ्सिर ९ मंगलबार २०:१५:००
Read Time : > 2 मिनेट
फिचर

ट्रम्पले राष्ट्रपतीय निर्वाचनको परिणाम २० दिनपछि स्विकारे 

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, वासिङ्टन
२०७७ मङ्सिर ९ मंगलबार २०:१५:००

४६औँ राष्ट्रपतीय निर्वाचनको २० दिनपछि राष्ट्रपति डोनाल्ड ट्रम्प झुकेका छन् । केही राज्यमा निर्वाचनमा धाँधली भएको भनी उनले पुनः मतगणनासमेत गराएका थिए । त्यसमा पनि पराजित भएपछि ट्रम्पले डेमोक्रेटिक पार्टीका जो बाइडेनलाई अमेरिकाको नयाँ राष्ट्रपतिका रूपमा स्वीकार गरेका हुन् । 

ट्रम्पले सबैभन्दा ठूलो आशा मिसिगन राज्यको परिणाममा गरेका थिए । त्यहाँको मतगणनामा समेत बाइडेनले जितेका थिए । मिसिगनको अन्तिम नतिजापछि ट्रम्पले आफ्ना एजेन्सीमार्फत सत्ता हस्तान्तरणका निमित्त तयार भएको जानकारी दिएका छन् । 

अमेरिकामा यो कार्यलाई पावर ट्रान्जिसन भनिन्छ । सत्ता हस्तान्तरण गर्न भनिए पनि ट्रम्पले अहिलेसम्म बाइडेनलाई जितको बधाई र फियरवेल स्पिच दिन बाँकी छ । बधाई र फियरवेल स्पिच निर्वाचनको अन्तिम परिणाम आएकोलगत्तै पराजित राष्ट्रपतिले दिने गर्छन् । सबै अस्त्र असफल भएपछि ट्रम्प सत्ता हस्तान्तरणको पक्षमा पुगेको सिएनएनले जनाएको छ । 

जिएसए सक्रिय
निवर्तमान राष्ट्रपतिले निर्वाचित राष्ट्रपतिलाई सत्ता हस्तान्तरण गर्ने जिम्मेवारी जनरल सर्भिस एडमिनिस्ट्रेसन (जिएसए)ले गर्छ । ह्वाइटहाउसमै रहेको जिएसए विभागलाई सत्ता हस्तान्तरण छिटो गर्न ट्रम्पले निर्देशन दिएको सिएनएनले उल्लेख गरेको छ । सोमबार राति जिएसएका पदाधिकारीले ट्रम्पसँग भेटवार्ता पनि गरेका थिए । ट्रम्पले जिएसएकी प्रमुख एमिली मफीलाई आफू सत्ता हस्तान्तरण गर्न तयार भएको बताएको सिएनएनले जनाएको छ । 

सँगसँगै ट्रम्पले निर्वाचनमा भएको धाँधली तथा यसविरुद्धको कानुनी आन्दोलन जारी नै रहने पनि बताएका छन् । उनले जिएसएले पछिल्लो चार वर्षमा उत्कृष्ट काम गरेको भनी प्रशंसा पनि गरेका छन् । ‘यो चार वर्षको मेरो कार्यकालमा जिएसए टोलीले उत्कृष्ट काम गरेको थियो,’ ट्रम्पले जिएसएका प्रमुख मफीसँग भने, ‘गलत कामलाई प्राथमिकता नदिनू र सधैँ सत्यको मात्र साथ दिनू ।’ 

बाइडेनले सूचना पाउन सक्ने
राष्ट्रपतिमा निर्वाचित भए पनि बाइडेन अहिलेसम्म ह्वाइटहाउसबाहिर नै छन् । उनले ह्वाइटहाउसको प्रशासकीय जिम्मेवारी सम्हाल्न पाएका छैनन् । सत्ता हस्तान्तरण निमित्त काम गर्न अनुमति पाएपछि जिएसएको माध्यमबाट बाइडेनले विभिन्न सूचना प्राप्त गर्न सक्छन् । बाइडेनको टोली र जिएसएबीच सहकार्य अगाडि बढ्ने एजेन्सीले जनाएको छ । यसअघि ट्रम्पकै कारण बाइडेनको टोली र जिएसएबीच सहकार्य हुन नसकेको हो । 

बाइडेनले अब आवश्यक सूचना जिएसएबाट प्राप्त गर्न सक्छन् । यसअघि ट्रम्पले वर्तमान अवस्थाअनुसार निर्वाचित राष्ट्रपतिलाई केही पनि सूचना नदिनू भनी निर्देशन दिएका थिए । ३ नोभेम्बरमा सम्पन्न निर्वाचनमा राष्ट्रपतिमा बाइडेन तथा उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएका थिए । २० जनवरी २०२१ मा दुवैले पदभार ग्रहण गर्नेछन् ।

कसरी अगाडि बढ्ने ?
ट्रम्पले सत्ता हस्तान्तरणको संकेत दिएपछि बाइडेनका लागि आउँदा दिन त्यति सहज हुने छैनन् । बाइडेनको टोलीले आगामी चार वर्षमा कसरी अमेरिकालाई अगाडि बढाउनेछ भन्ने प्रश्न सर्वसाधारणको मनमा उठिरहेको छ । ‘आजको पावर ट्रान्जिक्सन आवश्यक थियो, जुन निर्णयले सहज भएको छ, अब हामीहरूको मुख्य चुनौती नै अमेरिकालाई कसरी अगाडि बढाउने र यो कोभिड– १९ विरुद्ध युद्धमा सफलता कसरी प्राप्त गर्ने भन्ने नै हो,’ बाइडेनको टोलीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकालाई फेरि समृद्धिकै बाटोमा फर्काउने जिम्मेवारी हामीहरूकै हो ।’ विज्ञप्ति जारी गर्नुअघि बाइडेनले विदेशी तथा सुरक्षासम्बन्धी नीतिबारे सबैलाई स्पष्ट पारेका थिए । उनले बराक ओबामाकै कार्यकालमा झैँ विदेश तथा सुरक्षा नीति लागू हुने बताएका छन् ।

के भन्छन् रिपब्लिकन समर्थक ?
अहिलेसम्म पनि रिपब्लिकन समर्थक तथा सिनेटरले निर्वाचनको परिणाम पत्याउन सकेका छैनन् । अन्तिम नतिजा भनेको अन्तिम नै हो । युद्धभूमिमा गएपछि एकको हार र अर्कोको जित हुन्छ नै । रिपब्लिकन यो सिद्धान्त मान्न तयार देखिँदैन । युवा सिनेटर तथा समर्थक भने परिणाम स्वीकार गरी चार वर्षपछिको तयारीमा लाग्नुपर्ने सुझाब दिन्छन् । युवा सिनेटर लामर एलेसान्डरले आफ्ना राष्ट्रपति ट्रम्पलाई यस्तो सल्लाह दिन्छन्, ‘पहिलो राष्ट्र हो, त्यसपछि मात्र पार्टी, हामीहरूको भलो निमित्त बाइडेनलाई नै सहयोग गर्नुपर्छ ।’ 

सामान्य जीवन बिताउँदा सबैले सम्झने तथा आदर गर्ने लामरले बताए । उनी भन्छन्, ‘ट्रम्पले एकपटक सामान्य जीवनमा फर्कनुपर्छ, त्यसवेला हिजो के नराम्रो काम गरेको भनी कसैले सम्झने छैनन् ।’ यसैगरी वेस्ट भर्जिनियाका सेनेटर सेलेयी मारेले पनि निर्वाचनको परिणाम स्वीकार गर्न सुझाएका छन् । 

–एजेन्सीको सहयोगमा