मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ मङ्सिर ९ मंगलबार १५:४१:००
Read Time : > 1 मिनेट
सप्तरंग

म हाँसे हाँस्छौ र...गीतका गायक देवेन्द्र बब्लु भन्छन्, ‘लकडाउनलाई सिर्जनात्मक बनाएँ’

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर ९ मंगलबार १५:४१:००

‘म हाँसे हाँस्छौ र...’ गीत कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको बीचमा आयो । अहिलेसम्म यो गीत ३८ लाखले हेरिसकेका छन् । यो गीतमा कैयौँ टिकटक बने । यति मात्रै होइन, यही गीतबाट गायक देवेन्द्र बब्लुले निकै चर्चा पनि बटुले । यसपछि बब्लुले भर्खरै ‘मायाले नि के–के गर्च गर्च...’ बोलको गीत बजारमा ल्याएका छन् । 

बब्लु लकडाउनबीचमा पनि संगीत कर्ममा निकै सक्रिय रहेको बताउँछन् । विशेषतः सांगीतिक काममा सक्रिय रहेका बब्लु चाँडै नै चलचित्र ‘परदेशी २’ को सुटिङका लागि पाल्पा जान लागेको बताउँछन् । त्यसपछि फेरि सांगीतिक काममै व्यस्त रहने उनको भनाइ छ । भन्छन्, ‘अहिले कन्सर्टहरूको कुरा परको रह्यो । बाहिर काम गर्ने अवस्था पनि छैन । यो हिसाबले स्टुडियोतिर संगीत र सिर्जनाका काम गरेर बिताइयो ।’

लकडाउनकै बीचमा गीत ल्याएर चर्चा बटुल्नु त लकडाउन फापेजस्तो भयो नि ? तर, यस कुरालाई बब्लु नकार्छन् । आफूलाई लकडाउन फापेकोभन्दा पनि लकडाउनको समयलाई सिर्जनात्मक बनाएको उनको भनाइ छ । उनी भन्छन्,  ‘मैले लकडाउनलाई बढीभन्दा बढी सिर्जनात्मक बनाएको हुँ । यस्तो विषम अवस्थामा आफूलाई कसरी सिर्जनात्मक काममा सक्रिय बनाइराख्ने भनेर बाटोको पहिचान गर्न खोज्दा गीतहरूमाथि काम गरियो ।’

तर, पछिल्लो समय संगीतमा लगानी व्यापक भइरहेको देखिन्छ । लाखौँ लगानी हुँदा संगीतबाट प्राप्त आर्थिक प्रतिफल नगन्य मात्रामा छ । यस हिसाबले गीतमाथिको लगानी बालुवामा पानी पनि भन्ने गरिएको छ । बब्लु भने आफ्ना लगानी बालुवामा पानी नभएको धारणा राख्छन् । उनको भनाइ छ, ‘लगानी नै गर्नका लागि होइन, सिर्जनात्मक हुनका लागि काम गर्ने हो । एउटा गीतबाट प्राप्त भएको नाफा अर्को गीतमा लगानी गर्दै काम गरिरहेको छु । त्यो हिसाबले मेरो लगानी खेर गएको छैन ।’