मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७७ मङ्सिर ९ मंगलबार १४:५३:००
Read Time : > 1 मिनेट
फिचर

कोभिड– १९ पछिको भ्रमण : बेलायतमा पर्यटकले पाँच दिन मात्रै आइसोलेसन बसे पुग्ने 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ९ मंगलबार १४:५३:००

बेलायतले कोरोना भाइरस (कोभिड– १९)पछि देशभित्रै र अन्तर्राष्ट्रिय भ्रमणलाई सहज बनाउने उद्देश्यले केही सहज नियम सार्वजनिक गरेको छ । बेलायत आइपुगेका जो–कोहीले पाँच दिन आइसोलेसन बसेपछि आफैँले पैसा तिरेर कोरोना परीक्षण गराएर नतिजा ‘नेगेटिभ’ आए थप समय ‘क्वारेन्टिन’मा बस्नु नपर्ने नियम ल्याएको हो ।

त्यस्ता पर्यटकले बेलायत पुगेको पाँच दिनपछि मात्रै पहिलो परीक्षण गराउन पाउनेछन् । त्यसअनुसार संक्रमण नभएका पर्यटकले ६ देखि सात दिन मात्रै आइसोलेसनमा बस्नुपर्नेछ । किनभने बेलायतमा परीक्षणका लागि ‘स्वाब’ दिइएको २४ देखि ४८ घन्टामा रिपोर्ट आउने गर्छ । कोरोना परीक्षण गरेको निजी क्लिनिकहरूले ६५ देखि एक सय २० पाउन्डसम्म लिने गर्छन् । परीक्षणको नतिजा पजिटिभ आए पर्यटक उपचारतर्फ लाग्नुपर्ने हुन्छ । यो नियम आगामी १५ डिसेम्बरबाट मात्रै लागू हुँदै छ । 

बेलायती सरकारी अधिकारी ग्रान्ट साप्सले पछिल्लो नियमबाट कोरोना महामारीले बिथोलेको अन्तर्राष्ट्रिय भ्रमणमा सुधार आउने र स्थानीय पनि संक्रमणको जोखिममा नहुने जनाए । सरकारको यो घोषणालाई बेलायतको पर्यटन क्षेत्रले स्वागत गरेको छ । 

बेलायतमा आगामी २ डिसेम्बरमा लकडाउन समाप्त हुँदै छ । त्यसपछि चरणबद्ध अन्य नियम लागू हुन्छ भनेर प्रधानमन्त्री बोरिस जोन्सनले घोषणा गरेपछि यो नयाँ नियम आएको हो । उनले आफ्ना नागरिकलाई सुरक्षित राख्दै भ्रमणलाई खुकुलो पारिने जनाएका थिए । बेलायतको नियमअनुसार अहिले भ्रमणमा आउने र विदेशबाट फर्कने सबैजना ‘सेल्फ आइसोलेसन’मा बस्नुपर्नेछ । अब भ्रमण गरी आएका व्यक्तिले आइसोलेसनमा बसेको पाँच दिनपछि आफैँले पैसा तिरेर परीक्षण गर्न सक्छन् । उक्त परीक्षणमा नतिजा नेगेटिभ आएको अवस्थामा उक्त व्यक्ति थप आइसोलेसनमा बसिरहन पर्ने छैन । 

बेलायती सरकारको यो पछिल्लो परिवर्तनलाई नेपालले पनि पछ्याउन सक्नेछ । नेपालको अर्थतन्त्रलाई ठूलो योगदान दिइरहेको पर्यटन क्षेत्र लामो समयदेखि ठप्प छ । सरकारले भर्खरै नेपाली पर्यटन क्षेत्रलाई खुलाउने निर्णय गरे पनि नेपाल आइपुग्ने पर्यटकले सात दिन आइसोलेसन बिताउनुपर्ने नियम सरकारले लागू गरेको छ । 
सात दिनपछि पर्यटकले आफ्नै खर्चमा परीक्षण गराएर रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरू भ्रमणमा निस्कन पाउँछन् । नेपाली पर्यटन क्षेत्रले सात दिनको आइसोलेसन अवधि लामो भएको भन्दै घटाउन माग गर्दै आइरहेका छन् । 

बेलायतमा भाइरस संक्रमण नघटेको अवस्थामा पनि सबै क्षेत्रलाई चलायमान बनाउने प्रयास भइरहेको छ । साप्स भन्छन्, ‘परीक्षणसम्बन्धी हाम्रो यो नयाँ नियमले हामीलाई अझ स्वतन्त्र रूपमा भ्रमण गर्न, हाम्रा प्रियजनलाई भेट्न र अन्तर्राष्ट्रिय व्यापार–व्यवसाय अघि बढाउन मद्दत गर्नेछ । यो नियममार्फत कोरोना महामारीले थलिएको हाम्रो भ्रमणसँग सम्बन्धित उद्योगलाई पनि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

सरकारको यो घोषणालाई बेलायतका हवाई सेवा प्रदायकहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् । एयरलाइन्स युकेका प्रमुख कार्यकारी टिम एल्डस्र्लेडले सरकारको पछिल्लो घोषणाबाट अँध्यारो सुरुङको अन्त्यमा बत्ती बलेजस्तै भएको बताएका छन् ।