१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
एजेन्सी
२०७७ मङ्सिर ७ आइतबार १६:१९:००
Read Time : > 2 मिनेट
फिचर

विश्वकै ध्यान तान्ने गरि इथियोपियाको टाइग्रेमा यसकारण चर्किरहेछ अन्तरिक युद्ध

Read Time : > 2 मिनेट
एजेन्सी
२०७७ मङ्सिर ७ आइतबार १६:१९:००

मानवीय सहयोग संस्थाहरूले इथियोपियाको टाइग्रे क्षेत्रमा तत्काल युद्धविराम गर्न माग गरिरहेका छन् । उनीहरूले अस्थायी रूपमै भए पनि युद्धविराम गरी यहाँ जारी युद्धबाट पीडित भएका सर्वसाधारणलाई सहयोग सामग्री पु¥याउने अनुमति दिन अनुरोध गरेका छन् । 

इथियोपियाको उत्तरी क्षेत्र टाइग्रेमा पछिल्लो दुई सातादेखि सरकारी सेना र क्षेत्रीय विद्रोही समूहबीच द्वन्द्व चलिरहेको छ । यो दुई पक्षबीच भइरहेको झडपमा सयौँले ज्यान गुमाएको अनुमान छ । यस क्षेत्रमा आवतजावत र सञ्चार सेवासमेत अवरुद्ध रहेका कारण मृत्यु र घाइते हुनेको यकिन संख्या आउन सकेको छैन । संयुक्त राष्ट्र संघले पनि युद्धरत क्षेत्रका सर्वसाधारणका लागि सहयोग सामग्री पु¥याउने बाटो तय गरिदिन दुवै पक्षसँग अनुरोध गरेको छ ।

शुक्रबार मात्रै इथियोपिया सरकारले अक्सुम र अदवा सहरलाई आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो । सरकारले यी दुवै क्षेत्रमा आफ्नो सेनासँग लडिरहेका विद्रोहीहरूले आत्मसमर्पण गरेको जनाएको थियो । यद्यपि, उक्त सरकारी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन । अक्सुम टिग्रेको सबैभन्दा बलियो पकड रहेको सहर हो । पहाडी क्षेत्रमा पर्ने सहर अदवा पनि रणनीतिक रूपमा महत्वपूर्ण क्षेत्र मानिन्छ ।

यसै साताको सुरुवातमा केन्द्रीय सरकारले टाइग्रेका दुई सहर सिर र रायालाई पनि आफ्नो नियन्त्रणमा लिएको घोषणा गरेको थियो । प्रधानमन्त्री अभी अहमेदले सरकारी सेना टिग्रेको सदरमुकाम मिकेल्लेतर्फ अघि बढिरहेको बताएका छन् । इथियोपियाले विद्रोहीसँग वार्तामा बस्न गरिएको आग्रहलाई अस्वीकार गर्दै आइरहेको छ । उसले विद्रोहीविरुद्धको आफ्नो कारबाहीलाई आन्तरिक रूपमा आफ्नो कानुन लागू गर्ने प्रक्रिया भएको जनाएको छ ।

टाइग्रेमा केन्द्रीय सरकार र स्थानीय नेताहरूको नेतृत्वमा रहेको टाइग्रे पिपल्स लिबेरेसन फ्रन्ट (टिपिएलएफ) बीच लामो समयदेखि द्वन्द्व चल्दै आइरहेको छ । सोही द्वन्द्वबाट अहिलेको युद्ध सुरु भएको हो । यसअघि राष्ट्रपति अभीले कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण गत जुनमा गर्ने भनी तय गरिएको निर्वाचन स्थगित गरिदिएका थिए । 

त्यससँगै यी दुई पक्षबीचको द्वन्द्व थप चर्किएको थियो । टिपिएलएफले केन्द्रीय सरकार अवैधानिक भएको आरोप लगाएको छ । उसले केन्द्रीय सरकारको कार्यकाल सकिएको र अब काम गर्ने अधिकार नभएको तर्क अघि सारेको छ ।

टाइग्रेको पछिल्लो अवस्था
द्वन्द्वरत क्षेत्रमा सहयोग नियोगको पहुँच टुटेको छ । यसै महिनाबाट सुरु भएको द्वन्द्वबाट हजारभन्दा बढी सर्वसाधारणले ज्यान गुमाएको हुन सक्ने यस क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूको अनुमान छ ।

द्वन्द्व चर्किएपछि कम्तीमा ३३ हजारले इथियोपियाको सीमा पार गरेर सुडानमा शरण लिइरहेको संयुक्त राष्ट्र संघको शरणार्थी एजेन्सीले जनाएको छ । उसका अनुसार युद्ध जारी रहे आगामी ६ महिनासम्म दुई लाख इथियोपियनहरू शरणका लागि सुडान पुग्ने अपेक्षा गरिएको छ । गत शुक्रबार टिपिएलएफले छिमेकी अमहारा क्षेत्रको सहरबाहिर दारमा रकेट प्रहार गरेको थियो । अमहारा सरकारले उक्त आक्रमणबाट कुनै क्षति नभएको जनाएको छ । यद्यपि, उक्त क्षेत्रमा अझै तनाव बढ्ने संकेत देखिएको छ । यी दुई क्षेत्रबीच पनि सिमानालाई लिएर वर्षाैँदेखि तनाव जारी छ । शुक्रबारको आक्रमणपछि उक्त क्षेत्रमा दुवै पक्षले थप सेना परिचालन गरेको छ । 

संयुक्त राष्ट्र संघले टाइग्रेको द्वन्द्वसँगै सुडानमा बढ्न थालेको शरणार्थी संख्यालाई लिएर चासो व्यक्त गर्न थालेको छ । उसले यसअघिबाटै अरू अफ्रिकी देशबाट आएका हजारौँ शरणार्थीलाई आश्रय दिइरहेकाले सुडानले थप शरणार्थी थेग्न मुस्किल हुने जनाएको छ । 

संयुक्त राष्ट्र संघले जनाएअनुसार टाइग्रेबाट सुडान पुगेकामध्ये धेरैजसो शरणार्थी बालबालिका छन् । उनीहरू भोका र डराएका छन् । तत्काल युद्धविराम गरे युद्धका कारण इथियोपियामा समस्यामा परेका अरू हजारौँ बालबालिकाले सहयोग पाउने अपेक्षा छ ।