मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
अजित अधिकारी काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार १८:१७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तेलको ट्यांकरभित्र नयाँ ट्यांकी बनाएर कम्तीमा १८ सय लिटर पेट्रोल चोरी

Read Time : > 1 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ मङ्सिर ४ बिहीबार १८:१७:००

नेपाल आयल निगमको बागमती प्रादेशिक कार्यालय, थानकोटमा पेट्रोल बोकेर आएका दुईवटा ट्यांकरबाट कम्तीमा एक हजार आठ सय लिटर पेट्रोल चोरी गरेको भेटिएको छ । लकिङ सिस्टम जडानपछि सजिलै तेल चोरी गर्न नसकेका ट्यांकरचालकले नयाँ विधि अपनाउँदै आएकोमा यसपटक ट्यांकरभित्र नयाँ सानो ट्यांकी (फल्स चेम्बर) बनाई त्यहाँ तेल हालेर चोरी गरेको भेटिएको हो । निगमको थानकोट डिपो प्रमुख प्रदीप यादवले दुईवटा ट्यांकरमा आएको पेट्रोल कम रहेको पाएपछि घटनाबारे विस्तृतमा अध्ययन थालिएको बताए ।

‘पेट्रोल लिएर आएको ट्यांकरको परिमाण परीक्षण गर्ने क्रममा दुईवटा ट्यांकरमा कम तेल फेला परेको छ । यसको विस्तृत अध्ययन थालिएको छ,’ उनले भने । इन्डियन आयल कर्पोरेसन (आइओसी)को बरौनी रिफाइनरीबाट २०–२० हजार लिटर पेट्रोल बोकेर आएका ना.७ख ३६९६ र ना.७ख २९९५ नम्बरको ट्यांकरमा कम तेल पाइएको हो ।

निगमको थानकोट डिपोमा कार्यरत प्रबन्धक कपिल भट्टका अनुसार बुधबार साँझ तेल लिएर आएका ट्यांकरको डिपरडले परिमाण परीक्षण गर्दा दुवै ट्यांकरमा नौ सयदेखि नौ सय ५० लिटर कम पेट्रोल भेटिएको थियो । त्यसपछि दुवै ट्यांकरको तेल नखन्याई रातभर खडा गरेर राखिएको थियो । दुवै ट्यांकरमा ठूलो परिमाणको तेल कम भएको पाएपछि थानकोट डिपोले बुधबार साँझ नै बबरमहलस्थित प्रधान कार्यालयमा खबर गरेको थियो ।

त्यसपछि प्रधान कार्यालयबाट निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलसहितका प्राविधिक कर्मचारी र गुणस्तर तथा नापतौल विभागबाट महानिर्देशक बिश्वबाबु पुडासैनीसहितका कर्मचारी बिहीबार दिउँसो ट्यांकरको परीक्षण गर्न थानकोट गएका थिए । सो क्रममा दुवै ट्यांकरको तीन र चार नम्बर च्याम्बरको बीचभागमा नयाँ सानो ट्यांकी बनाएर तेल राख्ने गरेको भेटिएको हो । टोलीले दुईवटा च्याम्बरको बीचभागमा फल्स चेम्बर (सानो ट्यांकी) फिटिङ गरेको भेट्टाएको थियो । त्यसमै तेल लुकाएर चोरी गरिएको निगमले जनाएको छ । 

दुवै ट्यांकरमा चार हजार लिटर क्षमताको पाँच–पाँचवटा चेम्बर छ । चालकहरूले चार–चार हजार लिटर तेल अटाउने चेम्बरको बीच भागमा करिब एक हजार लिटर तेल अटाउने अर्को चेम्बर बनाई चोरी गरेका हुन् । उक्त चेम्बरमा राखिएको तेल चालकहरूले भारततर्पm नै बेचेर आउने गरेको आशंका छ । तेल चोरी गरे पनि ताल्चा र आधुनिक लकिङको सबै फिटिङ दुरुस्तै रहेको भट्टले बताए । ‘ट्यांकरमा रहेको तेल परीक्षण गर्दा कम भेटिएको छ, तर ताला, चाबी भने सहिसलामत नै देखिन्छ,’ भट्टले भने । 

ट्यांकरभित्र कृत्रिम ट्यांकी बनाई तेल लुकाउने र त्यसरी लुकाएको तेल बिक्री गरी निगमलाई आर्थिक नोक्सानीमा पु¥याउने काम चालकहरूले मात्र आँट्न सक्दैनन् । यसमा ट्यांकर साहुहरूको समेत संलग्नताको आशंका गरिएको छ । आयल निगमले बिहीबार साँझ एक विज्ञप्ति जारी गरी दुवै ट्यांकर वीर बेताल आशीर्वाद कम्पनी प्रालिको रहेको जानकारी दिएको छ । कम्पनीका सञ्चालक प्रज्ज्वलराज भट्ट, दीपेन्द्रबहादुर बम र सदेन व्यञ्जनकार हुन् । ट्यांकर सञ्चालकहरूलाई करिब १५ लाख रुपैयाँ जरिवाना तिराउने निर्णय भएको निगमको प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।

कम तेल ल्याएको पुष्टि हुनासाथ ट्यांकरचालकहरु भने बुधबार साँझदेखि नै सम्पर्कविहीन छन् । चालक र ढुवानीकर्तालाई थप सजायका लागि अन्य निकायमा पनि पत्राचार गरिने निगमले जनाएको छ । दुई वर्षअघिबाट ट्यांकरमा रहेको तेल चोरी गर्न नमिल्ने गरी आधुनिक ताल्चा जडान गरेपछि चालकहरूले विभिन्न उपाय लगाएर चोरीलाई जारी राखेका छन् । दसैँअघि डिजेलमा मट्टीतेल मिसाई चोरी गरेको घटना बाहिर आएको थियो । सो घटनामा चालकहरूलाई कारबाहीसमेत भएको छ ।