मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार ०९:४५:००
Read Time : > 5 मिनेट
सेयर बजार

ब्याजदर नघटेपछि बढ्न सकेन बजार

Read Time : > 5 मिनेट
नयाँ पत्रिका
२०७५ माघ २४ बिहीबार ०९:४५:००

बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर नघटाएपछि बजार ओरालो लाग्न दबाब पुगेको छ । वित्तीय कम्पनीहरूले निक्षेपको ब्याजदर घटाए पनि कर्जाको ब्याजदर घटाएका छैनन् । त्यसैलै, बजार प्रभावित भइरहेको हो । लगानीकर्ताहरूले आन्दोलन गरी प्रस्तुत गरेका मागअनुसार पुँजीबजार विस्तारका कार्य भइरहे पनि ब्याजदरका कारण बजार ओरालो लागेको एक ब्रोकरले बताए । बजार ओरालो लागेपछि केही लगानीकर्ताहरू बजारमा बाहिरिन थालेको उनको भनाइ छ । केही लगानीकर्ताहरू भने बजार बढ्ने पर्खाइमा रहेका छन् । सूचीकृत कम्पनीहरूको वित्तीय विवरणले पनि बजारलाई खासै प्रभाव पार्न सकिरहेको छैन । 

बजार सारांश
यस दिन नेप्से परिसूचक ७ दशमलव ३८ अंक घटेर १ हजार १ सय ३९ दशमलव ७२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव ५२ अंक घटेर २ सय ४२ दशमलव ५० बिन्दुमा पुगेको छ । फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ५६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ५ अंक घटेको छ । यस दिन १ सय ६७ कम्पनीको ५ हजार ३ सय ३ पटकको कारोबारमा २३ करोड ५६ लाख ३६ हजार ८ सय ५९ रुपैयाँबराबरको ७ लाख ४६ हजार ९ सय ४६ कित्ता सेयर खरिदबिक्री भएको छ । 

प्राविधिक विश्लेषण 
आरएसआई : नेप्सेको १४ दिने आरएसआई यस दिन ३२ दशमलव ६१ स्केलमा पुगेको छ । बजार ओरालो लागे पनि आरएसआई न्युट्रल जोनमा रहेकाले बजारमा सेयर खरिद–बिक्री चाप सन्तुलनमा रहेको संकेत गर्दछ । 

एडी रेसियोः नेप्सेको एडी रेसियो यस दिन शून्य दशमलव २६ रहेको छ । यसले नेप्से बियरिस प्रवृत्तिमा रहेको संकेत गर्दछ । यस दिन कारोबारमा आएको १ सय ६७ कम्पनीमध्ये ३१ कम्पनीको मात्र सेयरमूल्य बढेको छ भने १ सय १८ कम्पनीको सेयरमूल्य घटेको छ । बाँकी १८ कम्पनीको सेयरमूल्य यस दिन स्थिर रहेको छ । बिहीबार नेप्से परिसूचक ओरालो लागे १ हजार १ सय ३६ दशमलव शून्य ९ बिन्दुमा पहिलो टेवा पाउनेछ । सोभन्दा तल ओर्लिए नेप्सेले १ हजार १ सय ३२ दशमलव ४६ बिन्दुमा टेवा पाउने देखिन्छ । त्यसैगरी, बजार उकालो लागे १ हजार १ सय ४५ दशमलव ७३ बिन्दुमा पहिलो प्रतिरोध र १ हजार १ सय ५१ दशमलव ७४ बिन्दुमा दोस्रो प्रतिरोधको सामना गर्नेछ । 

सामुदायिकको सेयरमूल्य बढेर सर्किट ब्रेक
बजार ओरालो लागे पनि सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरधनीले पनि यस दिन १० प्रतिशत कमाएका छन् । सो कम्पनीको सेयरमूल्य बढेर यस दिन सर्किट ब्रेक लागेको छ । सो कम्पनीको सेयरमूल्य यस दिन ७१ रुपैयाँ बढेर ७ सय ८३ मा अन्तिम कारोबार भएको छ । चौतारी लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य यस दिन १३ रुपैयाँ अर्थात् ४ दशमलव ८१ प्रतिशत बढेर २ सय ८३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । ग्लोबल आइएमई समुन्नत स्किम–१ को एकाइमूल्य यस दिन ४ दशमलव ८१ प्रतिशत घटेको छ ।

अपरको सर्वाधिक कारोबार
यस दिन पनि अपर तामाकोसी कारोबार रकम, कारोबार संख्या र सेयर संख्याका आधारमा अगाडि रहेको छ । सो कम्पनीको यस दिन १ हजा र२ सय ७७ पटकको कारोबारमा १ करोड ६२ लाख ४० हजार रुपैयाँबराबरको ६७ हजार ८ सय ४८ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेपाल बैंक, मेरो माइक्रोफाइनान्स र युनाइटेड इन्स्योरेन्सको यस दिन १ करोडभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । 

सबैको परिसूचक घट्यो
यस दिन कारोबारमा आएका सबै समूहको परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक यस दिन १ दशमलव ३ प्रतिशत घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको परिसूचक १ दशमलव २९ प्रतिशत, होटेल समूहको परिसूचक शून्य दशमलव ८१ प्रतिशत, जीवन बिमा समूहको शून्य दशमलव ७९ प्रतिशत र लघुवित्त समूहको शून्य दशमलव ७५ प्रतिशत घटेको छ । कारोबारमा आएको वित्त समूहको परिसूचक शून्य दशमलव ६९ प्रतिशत, बाणिज्य बैंक समूहको शून्य दशमलव ६ प्रतिशत, निर्जीवन बिमा समूहको शून्य दशमलव ५ प्रतिशत, अन्य समूहको शून्य दशमलव ४७ प्रतिशत, विकास बैंक समूहको शून्य दशमलव १७ प्रतिशत र व्यापार समूहको शून्य दशमलव शून्य ७ प्रतिशत घटेको छ । 

युनाइटेड इन्स्योरेन्सले १ः२.४ हकप्रद जारी गर्ने 
युनाइटेड इन्स्योरेन्सले १ बराबर २ दशमलव ४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । माघ २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । बिमा समितिले तोकेको समयसीमाभित्र पुँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कम्पनीको हाल कायम चुक्ता पुँजीको १ कित्ता सेयरबराबर २ दशमलव ४ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सो हकप्रद सेयर बिमा समितिबाट स्वीकृत भएपछि विशेष साधारण सभाबाट पारित गरी निष्कासन गरिनेछ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रहेको छ । हकप्रद निष्कासन तथा बाँडफाँडपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ ।

१३२ प्रतिशत बढ्यो एनसिसीको वितरणयोग्य मुनाफा
गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा नेपाल क्रेडिट एन्ड कमर्स (एनसिसी) बैंकको वितरणयोग्य नाफा १ सय ३२ दशमलव शून्य ७ प्रतिशत बढेको छ । गत आवमा २७ करोड ७४ लाख रहेको बैंकको यस्तो नाफा चालू आवमा बढेर ६४ करोड ३९ लाख पुगेको छ । बैंकको खुद नाफा भने समीक्षा अवधिमा ३९ दशमलव ८४ प्रतिशत मात्र बढेको छ । सो अवधिसम्ममा बैंकले ७४ करोड ११ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ सय १७ दशमलव ८५ प्रतिशत बढेर १ अर्ब ४६ करोड ५४ लाख पुगेको छ । त्यसैगरी, बैंकको सञ्चालन मुनाफा समीक्षा अवधिमा ४० दशमलव ८५ प्रतिशत बढेर १ अर्ब ३ करोड ३१ लाख पुगेको छ । समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी ५० प्रतिशत बढेर ७ अर्ब १ करोड ८५ लाख पुगेको छ । बैंकको जगेडा कोष भने १० दशमलव ८८ प्रतिशत बढेर ४ अर्ब १७ करोड ९३ लाख पुगेको छ । सो अवधिसम्ममा बैंकले ६४ अर्ब ७१ करोड निक्षेप संकलन गर्न सफल भएको छ । यो गत आवको सोही अवधिको तुलनामा ९ दशमलव ४१ प्रतिशत बढी हो । बैंकले सो अवधिसम्ममा ५८ अर्ब ४४ करोड कर्जा परिचालन गरेको छ जुन गत आवको तुलनामा १६ दशमलव ९० प्रतिशत बढी हो । गत आवको पुस मसान्तको तुलनामा चालू आवको सोही अवधिमा बैंकको प्रतिसेयर आम्दानी १ दशमलव ५३ रुपैयाँ घटेको छ । गत आवमा २२ दशमलव ६५ रुपैयाँ रहेको बैंकको यस्तो आम्दानी चालू आवमा २१ दशमलव १२ रुपैयाँमा सीमित भएको छ । चुक्ता पुँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा बैंकको प्रतिसेयर आम्दानी घटेको हो । त्यसैगरी, बैंकको मूल्य आम्दानी अनुपात पनि गत आवको तुलनामा घटेको छ । गत आवमा ३२ दशमलव ३२ रहेको बैंकको मूल्य आम्दानी अनुपात चालू आवमा १० दशमलव ३२ मा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १ सय ५९ दशमलव ५५ रुपैयाँ रहेको छ ।

ग्रिन लाइफको आइपिओ निष्कासन खुला
ग्रिन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २२ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि प्राथमिक सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका १८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम २० कित्तादेखि अधिकतम ९ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा फागुन ७ गते र ढिलोमा फागुन २७ गते हुनेछ । निष्कासन गरिएको कुल सेयरमध्ये कम्पनीले दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नम्बर–७ मार्बुका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता, गौरीशंकर गाउँपालिका वडा नम्बर–५ सुरी, ६ चंखु, ८ खारे र ९ गौरीशंकर गाउँपालिका बासिन्दाका लागि ७ लाख २० हजार कित्ता र गौरीशंकर गाउँपालिका वडा नम्बर १ र २ जुगु वडा नम्बर ३ र ४ झ्याकु र विग गाउँपालिका वडा नम्बर–४ लादुकका बासिन्दाका लागि ५ लाख ४० हजार कित्ता छुट्याएको छ । कम्पनीले निष्कासन गरेको आइपिओलाई केयर रेटिङ नेपाल ‘केयर एनपी आइपिओ ग्रेड फोर’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औसतभन्दा कमजोर रहेको संकेत गर्छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक काठमाडौं क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले ग्रिनलाइफ हाइड्रोपावर लिमिटेड आयोजना स्थल, सेन्चुरी बैंकको सिंगटी र चरिकोट शाखा कार्यालय तथा प्राइम कमर्सियल बैंकको जिरी र बैतेश्वर शाखाबाट आवेदन दिन सक्नेछन् । यस योजनाको प्रतिमेगावाट लागत १५ करोड ९८ लाख रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७ दशमलव ४९ वर्ष तथा डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३ दशमलव १६ वर्ष रहेको छ ।

१ अर्बभन्दा बढी कृषि विकास बैंकको खुद नाफा
चालू आवको पुस मसान्तसम्ममा कृषि विकास बैंकले १ अर्ब ३६ करोड ४२ लाख खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३२ दशमलव ५६ प्रतिशतभन्दा बढी हो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा ६ दशमलव २८ प्रतिशत बढेर १ अर्ब ९ करोड ३७ लाख पुगेको छ । सो अवधिसम्ममा बैंकको चुक्ता पुँजी १३ अर्ब ९३ करोड ७९ लाख रहेको छ । गत आवको सोही अवधि पनि बैंकको चुक्ता पुँजी त्यति नै रहेको थियो । बैंकको चुक्ता पुँजी भने गत आवको सोही अवधिको तुलनामा ५९ दशमलव ४३ प्रतिशत बढेर १४ अर्ब २२ करोड १८ लाख पुगेको छ । 

बैंकले चालू आवको दोस्रो त्रैमाससम्ममा १ खर्ब १० अर्ब १३ करोड निक्षेप संकलन गरी १ खर्ब ७ अर्ब ३१ करोड कर्जा प्रवाह गर्न सफल भएको छ । बैंकको निक्षेप गत आवको सोही अवधिको तुलनामा १२ दशमलव १८ प्रतिशतभन्दा बढी हो भने कर्जा तथा सापटी १६ दशमलव ५० प्रतिशत बढी हो । सो अवधिसम्ममा बैंकले ३ अर्ब ५७ करोड १२ लाख खुद ब्याज आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३४ दशमलव ६७ प्रतिशत बढी हो । बैंकको सञ्चालन मुनाफा १ अर्ब ७८ करोड ५७ लाख रहेको छ जुन गत आवको तुलनामा ४१ दशमलव ६५ प्रतिशत बढी हो । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ७ दशमलव ८८ रुपैयाँ बढेर २८ दशमलव २५ रुपैयाँ पुगेको छ । गत आवको पुस मसान्तमा बैंकको यस्तो आम्दानी २० दशमलव ३७ रुपैयाँ रहेको थियो । चुक्ता पुँजी नबढे पनि बैंकको खुद नाफा साढे ३२ प्रतिशत बढेकाले प्रतिसेयर आम्दानी बढेको हो ।