१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
सेडाले लेमा
२०७७ मङ्सिर ३ बुधबार ०९:३९:००
Read Time : > 3 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

नोवेल शान्ति विजेता, अहिले युद्धनायक

Read Time : > 3 मिनेट
सेडाले लेमा
२०७७ मङ्सिर ३ बुधबार ०९:३९:००

इथियोपियाको संघीय सरकारले देशको एक प्रदेशमा आक्रमण गर्दै छ भन्ने खबरले मात्रै धेरै स्तब्ध भएका थिए । युद्ध घोषणा प्रधानमन्त्री अबी अहमदको शान्त स्वभावविपरीत थियो । अहमद सन् २०१९ को नोवेल शान्ति पुरस्कार विजेता हुन् । युद्ध घोषणाले अहमदको कार्यकालको प्रमुख लक्ष्यमा गम्भीर धक्का लागेको छ । सन् २०१८ मा सत्तामा आउँदा अहमदले इथियोपियालाई शान्ति, समृद्धि र राष्ट्रिय मेलमिलापको नयाँ युगमा अघि बढाउने वाचा गरेका थिए । तर, उनै अहमदले नोभेम्बर ४ मा संघीय फौजलाई देशको दश अर्धस्वशासित क्षेत्रमध्ये एक टिग्रे क्षेत्रमा पठाए । सो क्षेत्रमा इथियोपियाका झन्डै ६ प्रतिशत जनसंख्या बसोवास गर्छन् । प्रधानमन्त्रीले टिग्रे प्रदेशका नेताले संघीय सरकारका सैन्य पोस्टमाथि आक्रमण गरेर त्यहाँको सैन्य उपकरण चोर्ने प्रयास गरेकाले आफूले सेना परिचालन गर्न बाध्य भएको बताएका छन् ।

सेना परिचालनपछि अहमदले टिग्रे क्षेत्रमा ६ महिना लामो आपत्काल घोषणा गरेका छन् । साथै, उनले प्रादेशिक सरकारलाई खारेज गरेर अन्तरिम व्यवस्था लागू गरेका छन् । युद्ध सुरु भएसँगै इन्टरनेट तथा टेलिफोन सञ्जाल काटिएको छ । सयौँको ज्यान गएको समाचार आइरहेका छन् । स्थिति त्रासदीपूर्ण छ । इथियोपिया गृहयुद्धको मोडमा उभिएको र छिमेकी देशसमेत यस युद्धको चपेटामा पर्ने सम्भावना छ । अहिलेको अस्थिरता र अनिश्चिततामाझ एउटा स्पष्ट भएको छ ः देशलाई लोकतान्त्रिक प्रक्रियामा हिँडाउने अहमदको राजनीतिक परियोजनाको अवसान भएको छ । यसको प्रमुख दोषी उनी नै हुन् ।

वर्षौंको सरकारविरोधी प्रदर्शन, आर्थिक संकट र बृहत्तर अशान्तिपछि सत्ताको कमान अहमदको हातमा आएको थियो । उनी प्रधानमन्त्री हुँदा इथियोपियाको अर्थतन्त्र नष्ट हुने अवस्थामा थियो । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०१७ मा कम्तीमा दश लाख मानिस आन्तरिक रूपमा विस्थापित थिए । त्यो समय देशका झन्डै दुईतिहाइ हिस्सा ओगट्ने दुई जातीय समूह ओरोमो र अम्हाराबाट भएको विरोधबाट देश पूर्णतः अशान्त बनेको थियो । आफूलाई सुधारक रूपमा देखाएका अबी अहमदले अप्रिल २०१८ मा निर्वाचन जिते । उनले चुनावी अभियानमा कैयौँ सुधारका वाचा गरेका थिए । उनको जितले देशको खराब दिन अन्त्य भएको मानिएको थियो । तर, अबीले आफ्नो वाचा बिर्सेका छन् । 

इथियोपियामा पछिल्लो समय भड्किएको द्वन्द्वका प्रमुख कारक देशका प्रधानमन्त्री तथा एक वर्षअघिका नोवेल शान्ति पुरस्कार विजेता अबी अहमद हुन् 
 

प्रधानमन्त्री भएपछि अबी अहमदको पहिलो गम्भीर गल्ती इरिट्रियासँग भएको शान्ति सम्झौतामा टिग्रे पिपुल्स लिबरेसन फ्रन्टलाई पाखा लगाउनु थियो । दशकौँसम्म देशको सबैभन्दा बलियो शक्ति रहेको फ्रन्टलाई पन्छाएर उनले आफ्नो ‘सिग्नेचर’ उपलब्धि हात पारेका थिए । यस घटनापछि अबीले भन्ने गरेको एकताको सीमा प्रस्टियो । इरिट्रियासँगको सम्झौता सुरुवात मात्र थियो । अघिल्लो वर्ष अबीले पुरानो राजनीतिक व्यवस्थामाथि प्रहार गर्न सुरु गरे । उनले इथियोपियामा २७ वर्षदेखि शासन गरिरहेको गठबन्धन इथियोपियन पिपुल्स रिभोलुसनरी फ्रन्टको पुनर्संरचना गर्ने प्रस्ताव गरे । प्रस्तावमा इथियोपियन पिपुल्स रिभोलुसनरी फ्रन्टलाई एकल पार्टी बनाउने प्रस्ताव गरिएको थियो । जबकि, त्यसवेलासम्म यो विभिन्न क्षेत्रीय दल मिलेर बनेको यो गठबन्धन थियो । यो गठबन्धनको संस्थापक तथा सबैभन्दा प्रभावशाली पार्टी टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट अबीको प्रस्तावमा सकारात्मक थिएन । तर, यो असन्तुष्टिका बाबजुद अहमद आफ्नो प्रस्तावमा अघि बढे र देशको संवेदनशील राजनीतिक व्यवस्थालाई प्रहार गरे । विवाद चर्किरहेको समयमा अहमदले उनको मन्त्रालयमा रहेको टिग्रे पिपुल्स लिबरेन फ्रन्टका सबै मन्त्री हटाए । 

सन् २०१९ नोभेम्बरमा नयाँ पार्टी घोषणा हुँदासम्म अपुरणीय क्षति पुगिसकेको थियो । टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट सरकारबाट निकालिएको मात्र रुष्ट भएको थिएन, ऊ देशको संघीय प्रणाली जोखिम परेकोमा पनि असन्तुष्ट थियो । त्यसैले टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट नयाँ पार्टीमा समाहित भएन । यसमा टिग्रे पिपुल्स लिबरेसन फ्रन्ट एक्लो भने थिएन । अबीको आफ्नै प्रदेश ओरोमियामै पनि धेरै नयाँ व्यवस्थाप्रति सशंकित थिए । दक्षिणी भेग अशान्त भइरहँदा कैयौँ प्रशासनिक क्षेत्रमा स्वशासनको माग उठ्न थाल्यो । एकताको वाचामा शासनमा आएका अबीले उनको सरकार गठबन्धनको प्रमुख घटकहरूलाई टाढा बनाएका थिए र यसबाट उनी आफैँ अचानक कमजोर देखिए । 

अघिल्लो गर्मीमा एक चर्चित ओरोमा संगीतकर्मीको हत्यापछि ओरोमिया राज्यमा अल्पसंख्यकमाथि व्यापक हिंसा बढ्यो । सरकारले संगीतकर्मीको हत्यामा सशस्त्र प्रतिपक्षी समूह ओरोमा लिबरेसन आर्मी र टिग्रे पिपुल्स लिबरेसन फ्रन्टको हात रहेको बताएको छ । हत्या र जवाफी विरोधमाझ सरकारले विपक्षी नेताहरूमाथिको धरपकड बढायो । त्यसपछि सेप्टेम्बरमा संघीय सरकारको अनिच्छा हुँदाहुँदै टिग्रे क्षेत्रमा चुनाव सम्पन्न भयो । यस निर्वाचनपछि दुई वर्षदेखिको संघीय सरकार र टिग्रे नेताबीचको विवाद विस्फोट हुने अवस्थामा पुग्यो । यही विवाद खुला युद्धमा भड्किएको छ । अहिलेको संघर्ष गृहयुद्धमा भड्किन्छ वा भड्किँदैन भविष्यले देखाउला, तर यसले इथियोपियाली राजनीतिमा गम्भीर छाप पार्नेछ । पहिलेदेखि गम्भीर रूपमा विभाजित देश थप विभाजित भएको छ । सबैभन्दा दुःखद पक्ष संघर्षले लोकतान्त्रिक संक्रमणको आशामा चिसो पानी खन्याइदिएको छ । 

टिग्रे क्षेत्रको नागरिक हताहती, अन्धाधुन्ध आक्रमण र लामो युद्धको सम्भावनाले समस्या थप विकराल बनाउनेछ । यो द्वन्द्व छिमेकी देशहरू इरिट्रिया, सुडान र जिबोटीमा पनि द्वन्द्व विस्तार हुन सक्छ । त्यसो भएमा स्थिति झनै खतरनाक हुनेछ । विगतमा ‘शान्तिका लागि प्रत्येक दिन, सबै ऋतु काम गर्ने’ बताएका अहमद अहिले युद्धनायकजसरी बोल्न थालेका छन् । अहमद आफ्नो सुरुवाती वाचाबाट निकै टाढा पुगिसकेका छन् । नोवेल शान्ति पुरस्कार लिने समयमा अबी अहमदले युद्धलाई ‘नर्कको साकार रूप’ व्याख्या गरेका थिए । अहिले उनी त्यही अधोयात्रामा निस्केका छन् । 

सेडाले लेमा इथियोपियाबाट निस्कने अदिस स्ट्यान्डर्स म्यागजिनकी प्रधान सम्पादक हुन् । 

"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य