मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल फाेटाे
रासस
२०७७ मङ्सिर १ सोमबार १३:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

न पड्किए पटका, न बजे देउसी गीत

Read Time : < 1 मिनेट
रासस
२०७७ मङ्सिर १ सोमबार १३:२०:००

विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन । 

विगतमा तिहार सुरु भएसँगै परम्परागत पोसाकसहित निस्कने देउसी–भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो । यस वर्ष कोरोना महामारी फैलने जोखिमलाई दृष्टिगत गरी कास्की जिल्ला प्रशासनले देउसी–भैलो खेल्नमा रोकसमेत लगाएको थियो । 

बढ्दो जोखिमीका कारण सर्वसाधारणमा पनि कोरोनाप्रतिको सजगता देखिएको छ । घरघरमा सामान्य दीपावली गरिए पनि यस वर्ष तिहारको रौनकता नदेखिएको स्थानीय भरतराज पौडेलले बताए । 

विगतमा लुकिछिपी पड्काइने पटकाका आवाज यस वर्ष सुन्न पनि मुस्किल जस्तै बनेको बताउँदै उनले कोरोनाको त्राससँगै जुवा तास खेल्ने क्रममा पनि कमी आएको जानकारी दिए । 
    
घरघरमा सर्वसाधारणले सामान्य रूपमा कुकुर, गाई, गोरुको पूजा गर्नुका साथै भाइटीकाको पनि त्यही रूपमा तयारी गरेका छन् । 

टाढाटाढा रहेका अधिकांश दिदीबहिनी तथा दाजुभाइलाई यस वर्ष कोरोना महामारीका कारण आवतजावत गर्नसमेत असहज भएको भन्दै अर्को वर्ष टीका लगाउने वाचाका साथ आ–आफ्नै ठाउँमा बस्नु बाध्यता बनेका छ ।

फूलमा आत्मनिर्भर बन्दै गएको पोखरामा यस वर्ष कोरोना महामारीका कारण पुष्प व्यवसायीले पनि तिहारलाई अड्कलेर फूल लगाएको यहाँका व्यवसायी बताउँछन् । 

कोरोना महामारी सुरु भएसँगै गरिएको बन्दाबन्दीका कारण औपचारिक सभा–समारोह हुन नसकेपछि लगाइएका फूलको समेत खपत हुन नसकेको भद्रकारी नर्सरीका सञ्चालक प्रेमबहादुर रानाले जानकारी दिए ।