मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २८ शुक्रबार १२:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पाँचथरमा धमाधम बिओपी स्थापना, तोरीफुले एक सय ८५औँ पोस्ट 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २८ शुक्रबार १२:०२:००

सरकारले नेपाल–भारत–चीनबीचको सीमा क्षेत्रमा बोडर आउट पोस्ट (बिओपी) स्थापनालाई तीव्रता दिएको छ । पाँचथरसँग सीमा जोडिएका क्षेत्रमा चार बिओपी स्थापना गर्ने सरकारको योजना थियो । अहिलेसम्म तीनवटा बिओपी स्थापना भइसकेका छन् । 

पछिल्लोपटक बिहीबार मात्रै याङवर गाउँपालिका– १ मा पर्ने तोरीफुलेमा बिओपी स्थापना गरिएको छ । सरकारले ताकेको स्थानमा भौतिक पूर्वाधार नभएपछि नजिकैको मूलचौक भन्ने ठाउँमा अस्थायी पोस्ट राखिएको याङवर गाउँपालिका– १ नम्बर वडाध्यक्ष मोहन ढुंगेलले जानकारी दिए ।

मूलचौकमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिका अध्यक्ष लेखनाथ घिमिरेले पोस्टको उद्घाटन गरेका थिए । लामो मिहिनेतपछि अन्तरदेशीय सीमा क्षेत्रमा सुरक्षाकर्मी पुऱ्याउन सफल भएकोमा उनले खुसी व्यक्त गरेका छन् । 

भारत र चीनसँग सीमा जोडिएका क्षेत्रमा दुई सय २१ बिओपी राख्ने सरकारी तयारी छ । तोकिएकामध्ये तोरीफुलेमा राखिएपछि एक सय ८५ वटा स्थापना भइसकेको सशस्त्र प्रहरी बल १ नम्बर बराह बाहिनीका वरिष्ठ प्रहरी उपरीक्षक कमल गिरीले जानकारी दिए । 

पोस्ट स्थापना पूर्वगाउँपालिकासहित जिल्लामा रहेको सशस्त्र प्रहरी बलका डिएसपी किशोर श्रेष्ठसहितको टोली पुगेर अनुगमन गरेको थियो । पोस्टमा अहिले २० सशस्त्र प्रहरी खटाइएको छ । 

पोस्ट स्थापना भएपछि सीमा अपराध, चोरी तस्करी नियन्त्रण हुने याङवर गाउँपालिका उपाध्यक्ष कमलाकुमारी योङहाङले बताइन् । उनले भनिन्, ‘भारततर्फको जंगल हराभरा छ, हाम्रोमा सबै मासिन लागो । यसकाे संरक्षणका लागि पनि तत्कालै पोस्ट राख्न आवश्यक थियो ।’