१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २८ शुक्रबार ०९:१४:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

पोखरामा १ करोड लिटर भण्डारणगृह निर्माणको शिलान्यास

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २८ शुक्रबार ०९:१४:००

नेपाल आयल निगमले पोखरामा एक करोड लिटर इन्धन भण्डारणगृह निर्माण सुरु गरेको छ । चालू आर्थिक वर्ष ०७७/७८ देखि आगामी तीन वर्षसम्म देशभर इन्धन भण्डारणगृह निर्माण, पाइपलाइन विस्तारलगायतका योजना लागू गर्ने कामको सुरुवात पोखराबाट गरिएको निगमले जनाएको छ ।

कास्कीको गगनगौडामा रहेको निगमको गण्डकी प्रादेशिक कार्यालय परिसरमा बिहीबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र सचिव डा. वैकुुण्ठ अर्यालले १ करोड लिटर क्षमताको डिजेल भण्डारणगृह निर्माणको शिलान्यास गरेका हुन् । ५०–५० लाख लिटर क्षमताका दुईवटा भर्टिकल ट्यांक निर्माणसँगै डिपो अटोमेसनमा सञ्चालन गर्ने अन्य पूर्वाधारसमेत तयार हुनेछन् ।

म्यानुअल सिस्टममा चलिरहेको पोखरा डिपो अब दुई वर्षपछि सम्पूर्ण प्रणालीमा एकैसाथ काम गर्ने सफ्टवेयरमा आधारित हुनेछ । निगमका अनुसार पोखरा डिपोमा डिजेल भण्डारगृह निर्माण भएपछि यस क्षेत्रको मागलाई ३० दिनसम्म धान्न सकिनेछ । अहिले भने मुस्किलले एक सातालाई धान्न सक्ने पूर्वाधार मात्रै छ ।
बिहीबार डिपो परिसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टले इन्धनको पूर्वाधार निर्माण गरेर विषम परिस्थितिमा पनि निर्बाध आपूर्तिको सुनिश्चितता गर्न खोजिएको बताए ।

‘पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षाको विषय मात्र होइन, देशको विकास निर्माणसँग जोडिएको विषय पनि हो,’ उनले भने, ‘त्यसैले यसको निर्बाध आपूर्ति र वितरणमा समस्या नहुने गरी पूर्वाधार निर्माणको योजना कार्यान्वयन गर्न सुरु गरिएको हो ।’ आगामी तीन महिनाभित्र झापा, चितवन, भैरहवालगायतका क्षेत्रमा पनि पूर्वाधार निर्माणको शुभारम्भ गरिने उनले जानकारी दिए । साथै, पोखरामा निर्माण सुरु भएको भण्डारणगृहलगायतको पूर्वाधारको काम दुई वर्षभित्र सक्न निर्देशन पनि दिए । ‘विकासको काममा इन्धन आपूर्ति बाधक हुनुहुँदैन भन्नेमा सरकार स्पष्ट छ,’ उनले भने, ‘अहिलेसम्म पेट्रोल, डिजेल पुगेन भनेर कुनै ठाउँमा विकासको काम रोकिएको जानकारी छैन, रोकिन पनि दिँदैनौँ ।’

कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव तथा निगम सञ्चालक समिति अध्यक्ष डा. वैकुण्ठ अर्यालले १४ वर्षपछिसम्मको इन्धन माग प्रक्षेपण गरी पूर्वाधार निर्माण थालिएको बताए । विगतमा इन्धन आपूर्तिमा असामान्य स्थितिको सामना गर्नुपरेकाले पुनः त्यस्तो स्थिति आउन नदिन पूर्वाधार विकास थालिएको उनले बताए । ‘आर्थिक वर्ष ०६४/६५ होस् वा ०७२ । त्यसवेला इन्धन पाउन हामी सबैले असामान्य स्थितिको सामना गर्नुपर्‍यो । अब पनि त्यस्तै स्थिति आउन नदिन अहिलेदेखि नै पूर्वाधार निर्माण थालिएको हो । यसको सुरुवात पोखराबाट गरेका छौँ,’ उनले भने ।

पोखराको विस्तारित डिपो प्रदेश नम्बर २, अमलेखगन्जपछिको ठूलो डिपो हुनेछ । चितवनको लोथरमा पेट्रोलियम भण्डारणगृह बनाएपछि त्यसकै संरचनामा पोखरा डिपोलाई सञ्चालन गर्ने र काठमाडौंसम्मको इन्धन आपूर्ति गर्ने गरी प्रणाली जडान गरिने प्रबन्ध निर्देशक पौडेलले बताए ।

आयल निगमले यो वर्ष पोखराको डिपो विस्तारका अलावा काठमाडौंको थानकोटमा दुईवटा पेट्रोल ट्यांकर, झापाको चारआलीदेखि भारतको सिलिगुडीसम्म पाइपलाइन, चितवनको लोथरमा पेट्रोलियम पाइपलाइन विस्तार तथा पेट्रोलियम पदार्थ भण्डारणगृह कार्यको थालनी गर्ने जनाएको छ । आगामी तीन वर्षभित्र सबै प्रदेशमा तीन महिनालाई पुग्ने पेट्रोलियम पदार्थको भण्डारणगृह निर्माण, अधिकांश नाकामा पाइपलाइनबाट इन्धन ढुवानी सुचारु र सबै डिपो पूर्ण स्वचालित प्रणालीमा सञ्चालन गर्ने गरी पूर्वाधार विकासको योजना बनाएको छ ।

यस्तो हुनेछ पूर्वाधार
आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले डिजेलका दुई ठूला भर्टिकल ट्यांक निर्माणसँग फायर फाइटिङ, ट्यांकरमा तेल लोड–अनलोड, सुरक्षा प्रणाली विस्तारलगायतका काम पनि सँगै हुने बताए । यो परियोजनाका लागि कुल ७७ करोड ७७ लाख रुपैयाँ लाग्नेछ । अहिले पोखरा डिपोमा २२ लाख ८० हजार लिटरको डिजेल भण्डारणगृह र ३ लाख ५० हजार लिटरको पेट्रोल भण्डारणगृह छन् । नयाँ दुई ठूला डिजेल ट्यांक बनेपछि पुरानो डिजेलको भण्डारणगृहमा पेट्रोल मौज्दात हुनेछ ।

‘नयाँ डिजेल ट्यांकर निर्माण र पुरानो डिजेल ट्यांक पेट्रोलमा कन्भर्सन भएपछि ३० दिनलाई डिजेल र १२ दिनलाई पेट्रोलको माग धान्न सकिनेछ,’ पौडेलले भने । डिपो परिसरले चर्चेको ७७ रोपनी जग्गामा नै थप भण्डारणगृह विस्तार गर्न लागिएको हो । परियोजनाअन्तर्गत २ लाख लिटर क्षमताको पानी ट्यांकीसमेत निर्माण हुनेछ ।

पूर्वाधार तयार भएपछि डिपो परिसरबाट दैनिक ४० वटासम्म ट्यांकर (२० हजार लिटर बोक्ने) लोड–अनलोड हुनेछन् । भर्टिकल ट्यांकको इन्धन ट्यांकरमा अनलोड गर्न १ सय २० किलोलिटर क्षमताका ५ वटा पम्पिङ सेड थपिनेछ । त्यस्तै, तेल लोड–अनलोड गर्ने थप ४ वटा ‘सेड हाउस’ पनि निर्माण हुनेछ ।
डिपोभित्रको तापमान, इन्धन चुहावट, आगलागीलगायत दुर्घटनाको पहिचान गर्न विशेष प्रविधि जडान हुनेछ । सम्पूर्ण नयाँ संरचना जर्मन प्रविधिमा आधारित हुने पौडेलले बताए ।