१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
थोमस डे वाल
२०७७ कार्तिक २८ शुक्रबार ०६:०८:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अपूरो नगोर्नो–कराबाख सम्झौता

Read Time : > 2 मिनेट
थोमस डे वाल
२०७७ कार्तिक २८ शुक्रबार ०६:०८:००

नगोर्नो–कराबाखलाई लिएर हप्तौँसम्म भएको रक्तपातपूर्ण युद्धपछि अर्मेनिया र अजरबैजानबीच युद्ध रोक्ने सहमति भएको छ । हार सुनिश्चित देखेर अर्मेनियाले एक हिसाबले आत्मसमर्पण नै गर्‍यो । नयाँ सहमति लागू गर्न रुसी शान्तिसेना विवादित क्षेत्रमा आउन थालिसकेका छन् । यो महत्वपूर्ण परिघटना हो र यसले दक्षिणी ककेसस क्षेत्रको सैन्य तथा राजनीतिक नक्सामा महत्वपूर्ण बदलाव गर्नेछ । साथमा अहिलेका लागि कैयौँको ज्यान पनि जोगिएको छ ।

सन् १९८० को अन्तिम र सन् १९९० को प्रारम्भमा सुरु भएको द्वन्द्वबाट विस्थापित लाखौँ अजरबैजानी शरणार्थी अब घर फर्किन सक्ने भएका छन् । सो समूहमा खुसीयाली छाएको छ । तर, अर्मेनियाली भने दुःखी र भयभीत देखिन्छन् । अहिलेको सहमतिलाई दुई ठूला अधिनायकवादी मुलुक रुस र टर्कीले मध्यस्थता गरेका हुन् । यी दुई मुलुकले यस सहमतिलाई भन्दा आफ्नो स्वार्थलाई बढी महत्व दिएका छन् । तिनले आफ्नो फौजी उपस्थिति र यातायात करिडोरका लागि यो सहमतिमा दबाब दिए । कागजमा त अमेरिका र युरोपेली देश पनि मध्यस्थकर्ता छन्, तर विगतमा तिनले यो द्वन्द्वलाई बेवास्ता गरेकाले अहिले ती किनारामा परे । 

युरोपको सबैभन्दा कठिन मानिने यो विवाद आधुनिक रूपमा सन् १९८८ मा देखिएको थियो । नगोर्नो–कराबाखको विवादित भूमि अजरबैजानको भूगोलभित्र पर्छ भने त्यहाँको बहुसंख्यक जनसंख्या अर्मेनियाली हुन् । जब अर्मेनियाली जातिले आत्मनिर्णयको अधिकार प्रयोग गरेर स्वतन्त्र घोषणा गरे र त्यसलाई छिमेकी अर्मेनियाले समर्थन गर्‍यो, तब युद्ध भड्कियो । त्यस समयदेखि नै दुवै पक्षले वार्ताभन्दा बल प्रयोगलाई जोड दिने गरेका छन् । सन् १९९० मा ठूलो मूल्य चुकाएर अर्मेनियाली पक्ष हावी भयो । तर, यस वर्षको सेप्टेम्बर २७ मा अजरबैजानले आफूले विगतमा गुमाएको भूमि कब्जा गर्न सैन्य कारबाही सुरु गर्‍यो । नोभेम्बर ९–१० को रातमा त्यसै संघर्षले विराम लिएको हो । 

६ हप्ताको लडाइँपछि अजरबैजानले गुमाएको ठूलो भूभाग पुनःकब्जा गर्न सफल भएको छ । सबैजसो मोर्चामा हार भोगेको देखेर आर्मेनियाली नेतृत्वले मस्कोमा घोषणा भएको नौबुँदे शान्ति सम्झौतामा सहमति जनायो । घोषणाले अहिले अर्मेनियाली राजधानीमा आन्दोलन सुरु भएको छ । अर्मेनियाका प्रधानमन्त्री निकोल पसिन्यानले आफ्नो पद गुमाउन सक्छन् । तर, उनका उत्तराधिकारीसँग पनि कुनै अलग विकल्प देखिँदैन । 

पछिल्लो द्वन्द्वमा गम्भीर मानवीय मूल्य सिर्जना भयो । संघर्षमा पाँच हजार सैनिक र सयभन्दा बढी नागरिकको मृत्यु भएको छ । युद्धमा अजरबैजान स्पष्ट रूपमा विजयी देखिएको छ । २६ वर्षअघि युद्धमोर्चामा लज्जास्पद हार बेहोरेको अजरबैजानले नगोर्नो–कराबाखका अतिरिक्त त्यसवरपरको भूभाग अर्मेनियाली फौजलाई सुम्पिएको थियो ।

रुस र टर्कीको मध्यस्थतामा नगोर्नो–कराबाखको विषयमा नोभेम्बर ९ मा एक सम्झौता भएको छ, यसले अहिलेको द्वन्द्वलाई त टारेको छ, तर भावी द्वन्द्वको सम्भावनालाई अन्त्य गरेको छैन 

अहिलेको युद्धमा उसले ती भूमि फिर्ता पाएको छ । त्यस क्षेत्रबाट विस्थापित अजेरी जनसंख्या अब फर्किन पाउनेछन् । सम्झौता तयार पारेको रुस पनि विजेताका रूपमा उदाएको छ । पूर्वसोभियत संघले समेटेको भूभागमा उत्पन्न द्वन्द्वमा रुसले भूमिका खेल्दै आएको भए पनि नगोर्नो–कराबाख क्षेत्रमा ऊ टाढै रहँदै आएको थियो । तर, अहिले आएर उसले त्यस भूमिमा पनि उपस्थिति जनाउने भएको छ । सम्झौताअनुसार नगोर्नो–कराबाखमा रुसका १९६० शान्तिसेना परिचालन गरिँदै छ । 

पछिल्लो सम्झौताले फाइदा गर्ने अर्को देश टर्की हो । आफ्नो मित्र अजरबैजानलाई महत्वपूर्ण सैन्य सहयोग गरेर उसले मध्यएसिया जाने नयाँ व्यापारिक मार्ग हात पारेको छ । यस द्वन्द्वमा अर्मेनियाले मात्र गुमाएको छ । कमजोर सैन्य बलका कारण तिनले ठूलो मूल्य चुकाए । साथै, सन् १९९० मा कब्जामा लिएपछि अजरबैजानको नियन्त्रणमा रहेको भूमिमा तिनले अपनाएको कठोरता पनि यो हारका लागि जिम्मेवार छ । सम्झौता भए पनि नगोर्नो–कराबाखको हैसियत अझै टुंगो लागेको छैन । 

सय वर्षअघि सन् १९२० मा पनि सो क्षेत्रमा रुस र टर्किस फौज आमनेसामने भएका थिए । भ्लादिमिर लेनिन र मुस्तफा केमल अतातुर्कले त्यस क्षेत्रको सीमा र प्रभाव क्षेत्रलाई आकार दिए । त्यसवेला जस्तै अहिले पनि टर्की र रुसले पश्चिमी शक्तिलाई निर्णय प्रक्रियाबाट बाहिरै राखेका छन् । रुस र टर्कीको स्वार्थ मिसिएर अहिलेको शान्ति सम्झौता भएकाले यसले दिगो शान्ति स्थापना गर्नेमा आशंका छ । विश्वका अधिकांश ठाउँमा शक्तिराष्ट्रको स्वार्थले गरिएका सम्झौताहरूले विवादको मूल कारणलाई सम्बोधन गरेको देखिँदैन । 

अर्मेनिया–अजरबैजानबीच दिगो शान्ति स्थापना गर्ने हो भने विभिन्न मुद्दामा गम्भीर काम गर्नुपर्छ । यसमा शरणार्थीको सुरक्षित फिर्ती, पुनर्निर्माण, मानवीय सहयोग, मानवअधिकारको दुरुपयोगलाई सम्बोधन गरिनुपर्छ । त्यस्तै, एक्लिएर रहेको नगोर्नो–कराबाख क्षेत्र अन्तर्राष्ट्रिय निकाय तथा संयुक्त राष्ट्रसंघका लागि खुलाउनुपर्छ । यी मुद्दामा मस्को र अंकाराले त्यति रुचि देखाएका छैनन् । यसमा अन्तर्राष्ट्रिय संगठनहरूले सहयोग गर्न  सक्छन् । यसका लागि पश्चिमी राष्ट्रले रुससँग असहज सहकार्य गर्न तयार हुनुपर्छ । बृहत्तर अन्तर्राष्ट्रिय सहकार्य निकै महत्वपूर्ण हुन्छ । नोभेम्बर ९ को रातमा जे हस्ताक्षर भयो, त्यो नगोर्नो–कराबाखका लागि गरिएको सम्झौता थियो । त्यो शान्तिमा रूपान्तरण हुन अझै धेरै गर्न बाँकी छ । 
थोमस डे वाल कार्नेगी युरोपका सिनियर फेलो हुन् ।
"via The New York Times"
नयाँ पत्रिका र द न्युयोर्क टाइम्सको सहकार्य