मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस–योनहाप
२०७७ कार्तिक २७ बिहीबार १२:४३:००
Read Time : < 1 मिनेट
विश्व

बाइडेन र मुनबीच टेलिफोन वार्ता, सहकार्यको प्रतिबद्धता 

Read Time : < 1 मिनेट
रासस–योनहाप
२०७७ कार्तिक २७ बिहीबार १२:४३:००

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए–इन र अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ ।  दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार वार्ता करिब १४ मिनेट लामो थियो । वार्ताका क्रममा दुवै नेताबीच उत्तर कोरियाली आणविक मामिला सुल्झाउन मिलेर सहकार्य गर्नेबारेमा सहमति भएको थियो । 

राष्ट्रपति मुनका प्रवक्ता काङ मिन सियोकका अनुसार राष्ट्रपति निर्वाचित बाइडेनले हिन्द प्रशान्त क्षेत्रको सुरक्षा र समृद्धिका सन्दर्भमा दक्षिण कोरिया अत्यन्त महत्वपूर्ण मुलुक रहेको बताएका थिए । त्यस अवसरमा राष्ट्रपति मुनले बाइडेनसमक्ष सियोल–वासिङ्टनबीचको साझेदारीलाई थप समुन्नत बनाउन ‘निकट सञ्चार सम्पर्क स्थापना’ गर्न आग्रह गरेका थिए । प्रवक्ता काङले दुवै मुलुकबीच लोकतन्त्र र मानव अधिकार रक्षाका सन्दर्भमा ७० वर्षदेखिको अटुट साझेदारी रहेको स्मरण गरिएको बताएका थिए  ।

बाइडेनले दक्षिण कोरियासँग अमेरिकाको सुदृढ सुरक्षा निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुका साथै उत्तर कोरियाको आणविक मामिलाको समाधानका लागि साझेदारी गर्ने बताएका थिए । दुवै नेताले विश्वव्यापी रूपमा उत्पन्न कोभिड–१९ र जलवायु परिवर्तनसमेतका विषयमा आपसी सहयोगलाई थप विस्तार गर्न सहमति जनाएका थिए । प्रवक्ता काङका अनुसार बाइडेनले अमेरिकी राष्ट्रपतिको शपथ लिएलगत्तै भेटघाट गर्न राष्ट्रपति मुनले प्रस्ताव गरेका छन्  । गत साता बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएको अनौपचारिक विवरण सार्वजनिक भएपछि यो उनीरूको पहिलो प्रत्यक्ष संवाद हो ।