मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ कार्तिक २७ बिहीबार १०:२७:००
Read Time : < 1 मिनेट
समाचार

मनाङ पुग्ने आन्तरिक पर्यटक बढे

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २७ बिहीबार १०:२७:००

कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।  कोरोनाका कारण बन्द रहेका पदमार्गका होटेल कात्तिक ५ गतेबाट सञ्चालनमा आएसँगै मनाङ पुग्ने पर्यटकको संख्यामा वृद्धि भएको हो ।

पिसिआर रिपोर्ट नेगेटिभ देखाएर आन्तरिक पर्यटकलाई मनाङ भित्रिन दिएकाले महामारीले धराशायी बनेको पर्यटन व्यवसाय अब केही भए पनि उकालो लाग्ने मनाङका पर्यटन व्यवसायी विनोद गुरुङको भनाइ छ ।

सात महिनासम्म सुस्ताएको पर्यटन व्यवसायलाई अघि बढाउन पर्यटकलाई प्रवेश खुला गरिएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताए । उनका अनुसार मनाङमा पुग्ने बाहिरी जिल्लाका पर्यटकलाई पिसिआर रिपोर्ट नेगेटिभ देखाएपछि मनाङ प्रवेश गर्न दिइएको छ । पर्यटक आगमन खुला गरिएसँगै मनाङ पुग्ने आन्तरिक पर्यटक पनि बढेका छन् । 

 

दैनिक २०–३० जना आन्तरिक पर्यटक मनाङ पुगेका छन् । पर्यटकको आगमन बढेसँगै होटेल सञ्चालकहरूको व्यस्तता पनि बढ्न थालेको छ । कोरोनाका कारण ६ महिनासम्म पर्यटक नआउँदा कामविहीन बनेका व्यवसायी अहिले पर्यटक आएसँगै पर्यटकको स्वागत–सत्कारमा व्यस्त छन् । 

विगतका वर्षहरूमा विशेषगरी वैदेशिक पर्यटक र केही मात्र नेपाली पर्यटक मनाङ पुग्ने गरे पनि यस वर्ष कोरोनाका कारण बाहिरी देशका पर्यटक नआउँदा आन्तरिक पर्यटक मात्र मनाङ पुगेका छन् । मनाङमा रहेका झरना, स्याउबारी, हिमताल र नजिकै रहेका हिमशृंखलाले आफ्नो मन लोभ्याएको बेसीसहरबाट पहिलोपटक मनाङ पुगेकी शोभा ठकुरीले बताइन् ।

मनाङमा यातायातको सहज भएसँगै अहिले मनाङ सदरमुकाम चामेदेखि पिसाङ, मनाङ, उपल्लो मनाङ हुँदै बेसक्याप, तिलिचो र थोराङ्ला भञ्ज्याङसम्म पर्यटक पुग्ने गरेका छन् ।