मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २६ बुधबार २०:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंमा कोरोना संक्रमण कसरी रोक्ने ? लकडाउनसहितका विषयमा सिंहदरबारमा पाँच घन्टा छलफल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २६ बुधबार २०:४९:००

कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजकसमेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी–सदस्यबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घन्टा छलफल भएको छ । पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम–नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिव एवं मध्यपुरठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

‘पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित भएर छलफल गरेका छौँ,’ श्रेष्ठले भने, ‘उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल बढी केन्द्रित भयो ।’ 

उनले तिहार, छठलगायतका पर्व सकिएपछि कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको जानकारी दिए । ‘अहिले नै निर्णय त भएको छैन, तर कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरंग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी परीक्षणको दायरा अझै फराकिलो बनाउनेजस्ता विषयमा पनि छलफल भएको छ ।’ त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्ने विषयमा प्रभावकारी छलफल भएको उनले बताए । 

बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरहरूलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका छन् ।  

पछिल्लो समय देशभरको संक्रमण तथ्यांकमध्ये करिब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नुपर्ने धारणा सिसिएमसीका तर्फबाट आएको छ । आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने, कोरोनाको दोस्रो तरंग आउन नदिन प्रभावकारी प्रयासहरू गर्नुपर्ने, समुदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा हेल्थ डेक्स राख्नुपर्नेजस्ता विषय पनि बैठकमा उठेको थियो । 

स्थानीय तहबाट प्रभावकारी रूपमा जनचेतनामूलक कार्य गर्ने, स्थानीय तह परिचालित भई घरदैलो कार्यक्रम गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो ।  त्यसैगरी कोरोना संक्रमितको मृत्युदर घटाउने, सामान्य लक्षण देखिएका संक्रमितलाई सकेसम्म होमआइसोलेसन र गम्भीर बिरामीलाई मात्रै अस्पताल लैजानेलगायतका विषयमा पनि सबै स्थानीय तहबाट समन्वय हुनुर्नेजस्ता विषयमा पनि छलफल भएको मेयर श्रेष्ठले जानकारी दिए । 

छलफलमा संघ र स्थानीय तहबीच समन्वय अभावमा पिसिआर परीक्षण गर्ने, कोरोना संक्रमितको निःशुल्क उपचार गर्नेलगायतका विषयमा पनि अन्योल छाएको भन्दै मेयरहरूले आगामी दिनमा समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए ।