मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २६ बुधबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दोलखामा कोरोना परीक्षण गर्न पिसिआर मेसिन खरिद गरिने 

Read Time : < 1 मिनेट
२०७७ कार्तिक २६ बुधबार १८:४५:००

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको परीक्षण गर्न दोलखाले पिसिआर मेसिन खरिद गर्ने भएको छ । दोलखावासीको स्वाब संकलन गरी पिसिआर परीक्षण गर्न अन्यत्र पठाउँदा समयमा रिपोर्ट नआउनेदेखि अन्य थुप्रै समस्या देखिएपछि दोलखाले मेसिन खरिद गर्ने भएको हो ।  

बुधबार जिल्ला समन्वय समितिमा बसेको सांसदसहित सरोकारवालाको बैठकले पिसिआर मेसिन खरिद गरी कोरोना परीक्षण तीव्र पार्ने निर्णय गरेको दोलखाका प्रमुख जिल्ला अधिकारी रमेश सिवाकोटीले जानकारी दिए । उनका अनुसार मेसिनसहित अन्य आवश्यक उपकरण खरिद र व्यवस्थापनका लागि दोलखाबाट प्रत्यक्ष निर्वाचित संघ र प्रदेशका तीनजना सांसदले सांसद विकास कोषमार्फत ५०-५० लाख बजेट विनियोजन गर्ने सहमति भएको छ । 

सोही रकमबाट पिसिआर मेसिन र अन्य स्वास्थ्य उपकरण खरिद गरी बाँकी व्यवस्थापनको काम गर्दै जाने निर्णय भएको सिवाकोटीले बताए । उक्त मेसिन खरिद र सञ्चालनको जिम्मा भने भीमेश्वर नगरपालिकालाई दिइएको छ । नगरपालिकाले चरिकोटस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मेसिन राखेर परीक्षणको काम गराउने भीमेश्वर नगरका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताए । 

समुदायस्तरमै पुग्यो कोरोना 
लामो समयसम्म ग्रिन जोनमा रहेको दोलखामा दसैँ सुरु भएदेखि नै संक्रमण तीव्र रूपमा फैलिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो समय संक्रमण चौतर्फी हुँदै गएकाले समुदायस्तरमै कोरोना पुगेको सरोकारवालाहरूले जनाएका छन् । स्वास्थ्य कार्यालयका सूचना अधिकारी वासुदेव अधिकारीले अहिलेसम्म दोलखाका नाैवटै स्थानीय तहमा संक्रमण पुगिसकेको बताएका छन् । उनका अनुसार जम्मा दुई हजार ६ सय ९६ जनाको पिसिआर परीक्षण भएकोमा दुई सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकामध्ये एकजनाको मृत्यु भएको छ भने एक सय २८ जना निको भएर घर फर्किसकेका छन् ।