मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २६ बुधबार ०५:१५:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

मुम्बई पाँचौँपटक आइपिएल च्याम्पियन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २६ बुधबार ०५:१५:००

मुम्बई इन्डियन्स १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन बनेको छ । मुम्बईले मंगलबार दुबईमा दिल्ली क्यापिटल्सलाई पाँच विकेटले हराउँदै उपाधि रक्षा गरेको हो । मुम्बईले रोहित शर्माकै कप्तानीमा पाँचपटक उपाधि उचालेको हो । चेन्नई सुपर किंग्सले तीनपटक उपाधि हात पारेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले सात विकेटको क्षतिमा एक सय ५६ रनको योगफल बनाएको थियो । एक सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले १८.४ ओभरमा अरिन्च जोटजेको बलमा कुणाल पाण्ड्याले एक रन लिँदै विजयी रन बटुलेका थिए । इशान किसनले १९ बलमा २२ रन बनाए ।

मुम्बईको जितमा कप्तान रोहित शर्माले ६८ रन बनाएका थिए । उनले कप्तानी इनिङ्स खेले । शर्माले आइपिएलमा ३९औँ अर्धशतक लगाए । चालू आइपिएलमा उनको यो तेस्रो अर्धशतकीय इनिङ्स हो । उनले ५१ बल सामना गरी पाँच चौका र चार छक्का प्रहार गरी मुम्बईको जित आधार बलियो बनाए ।

रोहित र इसान किसनबीच तेस्रो विकेटका लागि ५.३ ओभरमा ४७ रनको साझेदारी गरेका थिए । १३औँ संस्करणमा मुम्बईले दिल्लीलाई चारै भेटमा हरायो । यसअघि समूह चरणमा दुई तथा पहिलो प्ले अफमा मुम्बईले दिल्लीलाई हराएको थियो । 

को–को उत्कृष्ट ?

१३औँ आइपिएलमा किंग्स ११ पन्जाबका कप्तान लोकेश राहुल सर्वाधिक रनकर्ता बने । उनले १४ खेलमा एक शतक तथा पाँच अर्धशतकको मद्दतमा ६ सय ७० रन बनाए । दिल्लीका किर्गिस रावडाले १७ खेलमा ३० विकेट लिए । उनी यो आइपिएलकै सर्वाधिक विकेटकर्ता बने । यसैगरी, मुम्बईका इसान किसनले १४ खेलमा सर्वाधिक ३० छक्काको कीर्तिमान बनाए । 

मुम्बईले चारपटक उपाधि जित्दा लक्ष्य रक्षा गरेको थियो । गत वर्षको फाइनलमा मुम्बईले चेन्नई सुपर किंग्सलाई नाटकीय रूपमा एक रनले हराएको थियो । सन् २०१० को फाइनलमा मुम्बईले एकपटक मात्र लक्ष्य पछ्याएको थियो । जसमा मुम्बई चेन्नईसँग पराजित भयो । 

आइपिएल विजेता मुम्बईले १० करोड भारु तथा उपविजेता दिल्लीले ६ करोड २० लाख भारु पाएका छन् । प्ले अफमा पराजित सनराइजर्स हैदरावाद तथा रोयल्स च्यालेन्जर्स बेंग्लोरले जनही चार करोड ३९ लाख भारु पाएका छन् । कोभिड–१९ को प्रभावका कारण योपटक विजेता धनराशि कटौती गरिएको हो । पछिल्लो दुई वर्षका विजेताले २० करोड भारु तथा उपविजेताले १२.५ करोड भारु पाएका थिए ।