म्याग्दीको सदरमुकाम बेनीमा कोरोना संक्रमणको जोखिम बढेपछि रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मी र जनप्रतिनिधिद्वारा घरदैलो अभियान सञ्चालन गरिएको छ ।
बजारका हरेक घरमा पुगेर कोरोना संक्रमणबारे जनचेतना अभिवृद्धि गर्नुका साथै नगरवासीमा कोरोनाका लक्षणहरूबारे जानकारी दिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिको टोली परिचालन गरिएको हो ।
बेनी नगरपालिका, डिसिसिएमसी र स्वास्थ्य कार्यालयसहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामूलक सन्देश प्रवाह गर्ने अभियान सुरु गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए ।
उनका अनुसार बेनी नगरपालिकाको वडा नम्बर ७ र वडा नम्बर ८ मा आइतबार बिहानदेखि एकैपटक स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूको टोली परिचालन भएको छ ।
बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्साल, वडाका जनप्रतिनिधिसहित स्वास्थ्यकर्मीको उपस्थितिमा स्मृति चोक र न्युरोडबाट अभियानको शुभारम्भ गरिएको थियो ।
बजारका घरघरमा पुगेर नागरिकको स्वास्थ्य अवस्थाको जानकारी लिइने र जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न अनुरोध गरिने नगरपालिकाका स्वास्थ्य संयोजक लीला गौतमले जानकारी दिइन् ।
‘बेनीमा कोरोना संक्रमित बढेको कारण त्यसलाई न्यूनीकरण गर्नु नै अभियानको प्रमुख उद्देश्य हो, घरघरमा पुगेर स्वास्थ्यकर्मी र जनप्रतिनिधिसमेतको टोलीले कोरोनाका लक्षणहरूबारे जानकारी दिने, उनीहरूको स्वास्थ्यमा देखिएका लक्षणहरूबारे जानकारी काम हुन्छ, अभियानले कोरोना नियन्त्रण र रोकथाममा रघाउने अपेक्षा गरेका छौँ,’ स्वास्थ्य संयोजक गौतमले भनिन् ।
यस अभियानले पहिचान नभएका संक्रमितको पहिचान गर्न र थप संक्रमण रोकथाममा सघाउ पुग्ने प्रजिअ अधिकारीको भनाइ छ ।
नागरिकलाई सचेत बनाउने र कोरोना भाइरस रोकथाममा नागरिकलाई थप जिम्मेवार बनाउन अभियानले सघाउने उनले बताए । जिल्लामा हालसम्म एक सय १० जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ७२ जना निको भइसकेका छन् ।
म्याग्दीमा कोरोनाको संक्रमण बढेपछि बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा यातायातबाहेकको सेवा बन्द गरिएको छ । बैंक, सहकारी तथा वित्तीय संस्थाको सेवा स्थगन गरिएको छ भने सरकारी कार्यालयहरूको समेत अत्यावश्यक र आन्तरिकबाहेकको सेवा स्थगन गरिएको छ ।
स्वास्थ्य मापदण्ड पालना गराउन नागरिकलाई शपथ
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि थालनी गरेको जनचेतनामूलक कार्यक्रमअन्तर्गत आइतबार बेनीमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न शपथ खुवाइएको छ ।
घरघरमा पुगेका स्वास्थ्यकर्मीको टोलीले स्थानीयवासीलाई कोरोना रोकथाम र नियन्त्रणका लागि आफूले स्वास्थ्य मापदण्डलाई पालना गर्छु भन्ने प्रतिबद्धता जाहेर गर्न लगाउँदै शपथ खुवाएका हुन् ।
प्रतिबद्धतासहितको शपथले महामारी नियन्त्रणमा सरकारी प्रयासले मात्रै सम्भव नहुने भएकाले हरेक नागरिकलाई जिम्मेवार बनाउन र उनीहरूलाई आफ्नो पनि कर्तव्य र दायित्वबोध गराउन सहयोग पुग्ने स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए ।
‘म कोरोना भाइरसबाट बच्छु, यति संक्रमित भइहालेमा अरूलाई संक्रमित हुनबाट जोगाउँछु, स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गर्न प्रतिबद्ध छु,’लगायतका प्रतिबद्धतासहित नगरवासीको घरघरमा पुगेर शपथ खुवाइएको छ ।