मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ कार्तिक २३ आइतबार १५:४५:००
Read Time : > 1 मिनेट
प्रदेश डिजिटल संस्करण

कोरोना कहरबीच खुल्न थाले जुम्लाका विद्यालय 

Read Time : > 1 मिनेट
२०७७ कार्तिक २३ आइतबार १५:४५:००

साबिकको कर्णाली (कालिकोट, जुम्ला, डोल्पा, हुम्ला र मुगु)मा नयाँ शैक्षिक सत्र फागुनदेखि सुरु भएर मंसिरमा सम्पन्न हुने गर्दछ । पुस र माघ यहाँ अत्यधिक जाडो हुने हुनाले विद्यालय बन्द हुने गर्दछन् । तर, यो चालू शैक्षिक सत्रमा विद्यालय सञ्चालन आएको महिना दिनपछि कोरोना संक्रमणका कारण विद्यालय बन्द भए । 

संघीय सरकारले गएको चैत ११ देखि कोरोना संक्रमणका कारण विद्यालय बन्द गर्ने घोषणा गरे पनि यहाँको स्थानीय प्रशाासनले एक दिनअगावै १० चैतमै विद्यालय बन्द गऱ्याे । झन्डै आठ महिनादेखि विद्यालय र किताबको समेत मुहार देख्न पाएका छैनन् विद्यार्थीले । शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्ने भने पनि यहाँका झन्डै ९० प्रतिशत विद्यार्थी इन्टरनेटको पहुँचमा छैनन् । 

कर्णालीको नयाँ शैक्षिकको चैतमा वार्षिक परीक्षा लिने गरी तिला गाउँपालिकाले २३ कात्तिकदेखि सामुदायिक विद्यालय सञ्चालनमा ल्याएको छ । त्यसैगरी पातारासी गाउँपालिकाले पनि २३ कात्तिकदेखि विद्यालय खुलाएकोे छ । 

तिला गाउँपालिकाले २९ असोजमा बसेको शिक्षा समितिको बैठकले गरेको निर्णयअनुसार आजबाट विद्यालय सञ्चालनमा ल्याएको हो ।

लामो समयदेखि बन्द रहेका विद्यालयमा सामाजिक दूरी कायम गरी पठनपाठन सञ्चालन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए  । उनले भने, ‘अधिकतम स्वास्थ्य सुरक्षा मापदण्ड अनपाएर विद्यालय सञ्चालन गरिएको हो । विद्यार्थी भएका कक्षाको सेक्सन विभाजन गरेर सञ्चालनमा ल्याएका छौँ । कोरोना जोखिमबाट विद्यार्थीलाई बचाउन हाफटाइम नगर्ने, विद्यार्थीलाई एक–अर्काेबीच भिडभाड नगर्न दिने र मास्क अनिवार्य प्रयोग गरिएको छ ।’ 

पठनपाठन सञ्चालन गर्दा आधारभूत तहले नियमित रूपमा कक्षा सञ्चालन गर्ने निर्णय भएकोे, सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताए । उनका अनुसार माध्यमिक तहले विद्यार्थी संख्याका आधारमा सेक्सन विभाजन गरेर प्रत्येक दिन ५० प्रतिशत मात्र कक्षामा सहभागी गराउने गरी पठनपाठन सञ्चालन भएको छ । 
कक्षा सञ्चालन गर्दा विद्यालय व्यवस्थापन समितिको बैठक बसालेर आवश्यक सहजीकरण गर्नेसमेत निर्णय भएको शिक्षा समितिले जनाएको छ । 

चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खडानन्द चौलागाईंका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने तयारी छ । तर, प्रशासनले अनुमति दिएको छैन । 

हिमा गाउँपालिका– ४ का वडाध्यक्ष तथा शिक्षा समितिका सभापति मुनबहादुर बुढाका अनुसार कोरोना संक्रमणका कारण स्थानीय प्रशासनले अनुमति नदिएपछि विद्यालय सञ्चालनमा आएका छैनन् । गाउँपालिकाले विद्यालय सञ्चालनमा ल्याउन पहल गरिरहेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार स्थानीय तहले विद्यालय सञ्चालनमा ल्याउने विषयमा प्रशासनलाई औपचारिक जानकारी छैन । स्थानीय तह र प्रशासनको यस विषय कुनै छलफल तथा समन्वय भएको छैन ।