मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस/एपी
२०७७ कार्तिक २३ आइतबार १५:३७:००
Read Time : > 1 मिनेट
विश्व

म्यान्मारमा आज आमनिर्वाचन, सुकीको दलले जित्ने पूर्वानुमान 

Read Time : > 1 मिनेट
रासस/एपी
२०७७ कार्तिक २३ आइतबार १५:३७:००

म्यान्मारमा आइतबार संसद्का लागि आमनिर्वाचन हुँदै छ । विपक्षीहरूको कमजोर अनुपस्थितिका कारण नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीको दलले यस निर्वाचनमा पनि बहुमत प्राप्त गर्ने अनुमान गरिएको छ । पाँच वर्षअघिको आमनिर्वाचनमा सुकीले म्यान्मारको शक्तिशाली सैनिकहरूको हातबाट शासनसत्ता लिएर नागरिक तहमा सरकार गठन गरेकी थिइन् । 

संसद्को माथिल्लो र तल्लो सदनका लागि ९० भन्दा बढी दलले चुनावमा भाग लिएका छन् । यसपटक राज्य र क्षेत्रीय तहको पनि निर्वाचन हुँदै छ । स्टेट काउन्सिलरका रूपमा सेवारत सुकी अहिले पनि म्यान्मारमा निकै लोकप्रिय नेतृ हुन् । तर, उनको सरकारले जनअपेक्षाअनुरूप काम गर्न सकेको छैन । म्यान्मारमा व्याप्त गरिबी न्यूनीकरण गर्न तथा देशभित्र जारी जातीय समूहबीचको सशस्त्र द्वन्द्व न्यून गर्न उनको सरकारले पर्याप्त काम गर्न नसकेको आरोप छ । 

आमनिर्वाचनमा ५० लाख नयाँ मतदातासहित तीन करोड ७० लाखभन्दा बढी मतदाता सहभागी हुँदै छन् । यसपटक कोरोना भाइरस र सुरक्षा त्रास पनि रहेकाले मतदानमा सबै सहभागी हुने सम्भावना कम छ । चुनाव प्रचारमा पनि कोरोना भाइरसले समस्या पारेको थियो । 

७५ वर्ष पुगिसकेकी सुकीले राजधानी नेपिटअमा गत महिनाको अन्त्यतिर मतदान गरिसकेकी छिन् । म्यान्मारमा ६० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिलाई अग्रिम मतदान गर्ने व्यवस्था छ । देशको सबैभन्दा ठूलो राजधानी सहर यांगुनका मतदानस्थलबाहिर ठूलो संख्यामा मतदाता लामबद्ध देखिएका छन् । 

सुकीको दल नेसनल लिग फर डेमोक्रेसीले सन् २०१५ को आमनिर्वाचनमा भारी बहुमत प्राप्त गरेको थियो । यस चुनावले देशको पाँच दशकभन्दा लामो सैन्य शासनको अन्त्य गरेको थियो । 

म्यान्मारको निर्वाचन आयोगले निर्वाचनको नतिजा सोमबार बिहानदेखि सार्वजनिक गर्न थालिने जनाएको छ । देशका दुर्गम स्थानबाट मतपेटिका संकलनमा समय लाग्ने भएकाले चुनावको पूरै परिणाम सार्वजनिक गर्न एक सातासम्म लाग्ने आयोगले बताएको छ । यस चुनावलाई सुकी नेतृत्वको सरकारका लागि जनमतसंग्रहका रूपमा लिइएको छ ।