म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीमा तरकारी खेतीको लहर सुरु भएको छ । टिमुर गाउँका रूपमा चिनिने तोरीपानीमा व्यावसायिक तरकारी खेतीतर्फ कृषकहरूको आकर्षण बढेको हो ।
परम्परागत तरकारी खेतीलाई व्यावसायिक बनाएका कृषक भद्रबहादुर बानियाँले मिहिनेत र परिश्रम गर्न सके माटोमै पसिना बगाएर सहज जीवनयापन गर्न सकिने सन्देश दिएका छन् । जीविकोपार्जनका लागि वर्षौँदेखि तरकारी खेतीमा जोडिए पनि बानियाँले केही वर्षयता तरकारी खेतीलाई व्यावसायिक बनाएका हुन् ।
दुई रोपनी बारीमा तरकारी खेती गरेका उनले ‘बानियाँ तरकारी फर्म’ नै दर्ता गरी पेसालाई व्यावसायिक बनाएको बताए । बानियाँको फर्ममा अहिले दुई टनेलमा गोलभेँडा र अन्य जग्गामा बन्दा, काउली, साग, खुर्सानी, आलुखेती गरिएको छ ।
बर्खे तरकारी, सिमी, घिरौँला, करेला, बोडी, काँक्रोसमेत बिक्री गरिसकेको कृषक बानियाँले जानकारी दिए । उनले गोलभेँडा प्रतिकिलो ९० र बन्दा ५० रुपैयाँमा बिक्री हुने गरेको बताए । तरकारी खेतीमा लागेको १० वर्ष पुग्दा पनि कतैबाट सहयोग नमिलेको उनको गुनासो छ ।
तालिम, बिउबिजन केही सहयोग नपाएको र आफ्नै जोडबलमा अघि बढेको उनले बताए । सुरुमा पानी प्लास्टिकलाई घरमै जोडेर सानो टनेल बनाएर गोलभेँडा खेती सुरु गरेको स्मरण गर्दै बानियाँले भने, ‘अहिले टनेलमा मात्रै करिब ९० हजार खर्चिएको छु ।’
तरकारी खेतीबाट वार्षिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी हुने उनको अनुभव छ । नयाँ प्रविधिलाई जोड्न सके आम्दानी राम्रो हुने भए पनि बानियाँका लागि लगानीको अभाव रहेको छ ।