मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ कार्तिक २२ शनिबार १६:४२:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली

कुन ब्लड ग्रुपका व्यक्तिलाई कोभिड संक्रमणको बढी जोखिम ?

Read Time : > 2 मिनेट
२०७७ कार्तिक २२ शनिबार १६:४२:००

कोभिड संक्रमणको जोखिम न्यूनीकरण गर्न सहयोग पु¥याउने उद्देश्यले विभिन्न अध्ययन भइरहेका छन् । औषधि र भ्याक्सिन (खोप) को परीक्षणबाहेक पनि भाइरसको प्रकृतिबारे अनुसन्धान गरी महामारी नियन्त्रणका लागि विभिन्न प्रयास जारी छन् । यसमध्ये दीर्घरोग, अन्य संक्रमण, उमेर समूह, स्वास्थ्य अवस्था आदि अनुसार कोभिडले मानव शरीरमा कसरी प्रभाव पार्न सक्छ भन्ने विषयमा थुप्रै अध्ययन भइरहेका छन् । यस्ता अध्ययनले व्यक्तिको प्रतिरोधी क्षमताका आधारमा भाइरसले क्षति पु¥याइरहेको देखाउँदै आएको छ । पछिल्लो समय रक्त समूह (ब्लड ग्रुप) का आधार भाइरसको जोखिमबारे पनि अध्ययन गरिएको छ । सामान्यतया निश्चित रक्त समूह भएका व्यक्तिमा भाइरस वा ब्याक्टेरियाले बढी असर पार्ने हँुदा यसको प्रभावबारे बहस भइरहेको हो । 

सामान्यतया शरीरमा चार किसिमको रक्त समूह हुने गर्छन् । जुन रगतको सतहमा हुने एन्टिजेन्सको उपस्थिति र अनुपस्थितिमा निर्भर हुन्छन् । आरएच फ्याक्टर नामक प्रोटिन रगतमा उपलब्ध हँुदा पजिटिभ र उपलब्ध नहुँदा नेगेटिभ हुने गर्छ । जसका कारणले सामान्यतया रगत समूहलाई ए पाजिटिभ, ए नेगेटिभ, बी पजिटिभ, बी नेगेटिभ, ओ पजिटिभ, ओ नेगेटिभ, एबी पजिटिभ र एबी नेगेटिभ गरी आठ प्रकारमा विभाजन गरिएको छ । शरीरमा रक्त समूहले व्यक्तिको सम्पूर्ण स्वास्थ्य प्रणालीमा प्रभाव पारिरहेको हुन्छ । 

कुन रक्त समूहमा कोभिड संक्रमणको जोखिम बढी ?
रक्त समूहका आधारमा भाइरसको जोखिमबारे थुप्रै अनुसन्धान भएका छन् । अध्ययनहरूका अनुसार केही निश्चित रक्त समूह भएका व्यक्ति तुलनात्मक रूपमा बढी प्रभावित भएका पाइन्छ ।

डेनमार्क डेनिक अनुसन्धानकर्ताले गत साता प्रकाशित गरेको एक अध्ययन रिपोर्टअनुसार ए रगत समूह भएका व्यक्तिहरू कोभिडबाट बढी प्रभावित भएको पाइएको छ । डेनमार्कमा दुई लाख मानिसलाई रगत समूहको आधारमा सात हजार चार सय २२ जना कोभिड संक्रमितसँग तुलना गरिएको थियो । अध्ययनमा ओ रगत समूह भएका ४१.७ प्रतिशत सहभागीमध्ये ३८.४ प्रतिशतमा संक्रमण पजिटिभ देखिएको थियो । यस्तै कुल सहभागी ४४.४ प्रतिशत ए रगत समूह भएका सहभागीमध्ये ४२.४ प्रतिशतमा कोभिड पजिटिभ देखिएको थियो । ओ रगत समूह भएका व्यक्तिहरूमा सार्स कोभिड संक्रमणको जोखिम न्यून रहेको यसअघिको अध्ययनले प्रमाणित गरेको थियो । 

कोभिडका कारण गम्भीर बिरामी परेका ९० जना संक्रमितमा क्यानडामा गरेको एक अध्ययनअनुसार ए र एबी रगत समूहका ८४ प्रतिशत बिरामीलाई मेकानिकल भेन्टिलेसन आवश्यक परेको थियो । यसको तुलनामा जम्मा ओ र बी रगत समूहका ६१ प्रतिशत संक्रमितमा मात्र गम्भीर लक्षण देखा परेका थिए । जुन अध्ययनले अन्य रगत समूहको तुलनामा ए र एबी रगत समूहका व्यक्तिहरू बढी प्रभावित भएको पुष्टि गरेको छ । जुन महिनामा द न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनले प्रकाशित गरेको अर्को अध्ययनले समेत रगत समूहका आधारमा कोभिडको जोखिम फरक हुने पुष्टि गरेको थियो । 

विज्ञहरूका अनुसार राता रक्त कोषहरू एन्टिजेन्सहरूले ढाकिएका हुन्छन्, जसले शरीरमा प्रतिरक्षा प्रणालीलाई तुरुन्त प्रतिक्रिया दिन मद्दत गर्छ । ओ र बी रक्त समूह भएका व्यक्तिमा एन्टिजोन्सहरूले कोषलाई ढाकेर राखेको हुन्छ, जसले भाइरस वा ब्याक्टेरियालाई सजिलै क्षति पु¥याउन दिँदैन । रगत समूहका आधारमा संक्रमणको जोखिम कति र कसरी फरक हुन्छ भन्नेबारे अझै अध्ययनहरू भइरहेका छन् । यसका कारणहरू पनि धेरै हुन सक्ने अध्ययनकर्ताहरू बताउँछन् । 

‘नेपालमा पनि ए रक्त समूहका बिरामी बढी छन्’
नेपालमा पनि बिरामीको अवस्था हेर्दा ए रक्त समूहका बिरामी बढी गम्भीर भइरहेको बताउँछन् नेपाल पुलिस अस्पतालमा कोभिड हेरिरहेका डा. नवीन रौनियार । उनी भन्छन्, ‘गम्भीर लक्षण देखिने र सघन उपचारको आवश्यकता पर्ने बिरामीहरूमा रगत समूह ए भएका संक्रमित बढी छन् । पछिल्लो समय गम्भीर लक्षणसहितका बिरामी बढ्न थालेको र त्यसमा पनि रगत समूह ए भएका बिरामीको संख्या तुलनात्मक रूपमा बढी देखिन्छ ।’ 
 –एजेन्सीको सहयोगमा