मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ कार्तिक २२ शनिबार १०:०२:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

गुल्मी कारागारमा क्षमताभन्दा  तेब्बर बढी कैदीबन्दी

Read Time : > 2 मिनेट
२०७७ कार्तिक २२ शनिबार १०:०२:००

खान, बस्न र सुत्न दैनिक पिरलो, कोरोना संक्रमणको जोखिमले सतायो

गुल्मी कारागारको क्षमता पाँच महिला र २० पुरुष गरी २५ जनाको हो । अहिले कारागारमा ८९ जना छन् । पुरुष कैदी ४३ र बन्दी ३४, महिला कैदी चार र बन्दी चारजना छन् । कारागारमा दुईजना आश्रित र दुईजना ६५ वर्षमाथिका ज्येष्ठ नागरिक छन् । क्षमताभन्दा तीन गुणाभन्दा पनि बढी कैदीबन्दी राखिएकाले कारागार सुधारगृह नभई कैदखानामै परिणत भएको छ । 

अर्कोतिर कोभिड–१९ को त्रासले कैदीबन्दीलाई सताउने गरेको छ । सरकारले कोरोना संक्रमणको कारण सबै क्षेत्रमा सामाजिक दूरी कायम गर्न भने पनि यहाँ त्यो सम्भव छैन । साँघुरो र जीर्ण भवनसहितको कारागारमा सरकारले तय गरेको मापदण्डअनुसार भौतिक दूरी कायम गर्न नसकिएको कैदीबन्दीको भनाइ छ । 

जिल्ला कारागारका नाइके यमबहादुर सूर्यवंशीले दिउँसोमा बाहिर बस्ने र काम गर्ने भएकाले केही सहज भए पनि राति सुत्ने वेलामा कन्तबिजोक हुने गरेको गुनासो गरे । ‘रातमा दाउरा चिर्नेजसरी खुट्टा र टाउको जोडेर सुत्छौँ,’ उनले भने, ‘सामाजिक दूरी एकादेशको कथा हो ।’ कोरोना संक्रमणको जोखिम रहेकाले पनि कैदीबन्दी त्रासमा छन् ।

चिसो बढ्दै गएको छ । तम्घासको चिसोले घरपरिवारमै बसेकालाई पनि सताउँछ । जीर्ण कारागारमा सीमित स्रोत–साधनमा जीवन कटाइरहेका कैदीबन्दीलाई समस्या नहुने कुरै भएन । चिसो मौसममा कारागारले दिएका मात्रै ओड्ने–ओछ्याउने पुग्दैन । हुने खाने परिवारले व्यक्तिगत रूपमा पनि घरबाट कपडा पु¥याउने गरेका छन्, तर विपन्नहरू मुटु कमाउँदै सुत्छन् । क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी भएपछि नियमित खानपान, खानेपानी, सुत्ने र शौचालयको समस्या उस्तै चुनौतीपूर्ण छ । एउटा मात्रै शौचालय भएकाले दैनिक एक/आधा घन्टा कुर्नुपर्ने बाध्यतामा कैदीबन्दी रहेको अर्का नाइके बुद्ध नेपालीले बताए ।

मुढा व्यवसाय ठप्प, बेचेको पनि पैसा पाएनन्
यो देशमा कैदीबन्दीसमेत ठगिन्छन् । गुल्मी कारागारका कैदीबन्दीले उत्पादन गरेका सामग्रीको रकम नपाएपछि प्रमुख जिल्ला अधिकारी र पत्रकारलाई गुनासो गरेका छन् । भदौमा उत्पादन गरेर पोखरा पठाएका साढे आठ सयभन्दा बढी मुढाको पैसा नै गायब भएको छ । प्रतिमुढा तीन सयका दरले कारागारका पूर्वनाइके लेखनाथ गिरी र चौकीदारले मुढा बिक्री गरेको झन्डै साढे दुई लाख रकम कैदीबन्दीलाई दिएका छैनन् । उनीहरू अहिले तनहुँ कारागार सरुवा भएका छन् । 

संक्रमणमा हातमा ठेला पारेर बनाएका मुढाहरूको पैसा नपाएपछि सबैलाई निराश बनाएको चौकीदार राजु नेपालीले गुनासो गरे । उनले आफूहरूको फोन गर्नेबाहेक अरू उपाय नभएको बताए । ‘बेच्नेहरू अहिले तनहुँ छन्, खरिद गर्नेले पैसा उनीहरूलाई दिएका छन्, समन्वय गर्ने कोही नहुँदा समस्या पर्‍यो,’ उनले भने । 

कोरोनाले आम्दानी घट्यो
कारागारमा विशेष गरेर बाँसका मुढा उत्पादन हुन्छन् । त्योबाहेक सल, सुइटर, ढकिया र बाँसकै ¥याक, पेनदानी, चुडीलगायत सामग्री कैदीबन्दीले उत्पादन गर्दै आएका छन् । दैनिक फुटकर २५–३० र मासिक होलसेलमा ५–६ सय बुढा कारागारबाट बिक्री हुने भएकाले कैदीबन्दीले राम्रो आम्दानीसमेत गरेका थिए । अहिले कोरोना संक्रमणले व्यवसाय ठप्प छ । गुल्मी कारागारका उत्पादित सामग्री जिल्लाका मुख्य बजारबाहेक पोखरा, पाल्पा र बुटवलमा पुग्थे । अहिले कहीँकतैबाट माग नभएकाले खासै उत्पादन नगरिएको चौकीदार नेपालीले बताए । 

अहेव नहुँदा जोखिम मोलेरै अस्पताल पुग्छन्, कैदीबन्दी
गुल्मी कारागारमा कर्मचारी अभाव पनि छ । कारागारको दरबन्दी १० जनाको हो । अहिले तीनजना मात्रै स्थायी कर्मचारी कार्यरत छन् । कारागारमा सहलेखापाल र सिनियर अहेवलगायत पद रिक्त छ । यो संक्रमणका वेलामा पनि सिनियर अहेव नहुँदा कैदीबन्दी सामान्य स्वास्थ्योपचारका लागि पनि अस्पताल पुग्नुपर्ने बाध्यतामा छन् । दैनिक एकजना कार्यालयको कर्मचारी र सुरक्षाकर्मी उपचारकै लागि जिल्ला अस्पताल जानुपर्ने बाध्यता रहेको कारागार प्रमुख भेषराम पन्थले जानकारी दिए । 

उनले जीर्ण कारागार, क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी र व्यवस्थापनमा दरबन्दीअनुसारका कर्मचारी र बजेट नहुँदा कारागार धेरै समस्यामा रहेको बताए । उनले अझै पनि निरन्तर कारागार आउने कैदीबन्दीलाई छुट्टै व्यवस्थापन गर्ने ठाउँ नभएकाले कोरोना संक्रमणको डरले झनै त्रास सिर्जना भएको बताए । अहिले पनि कोरोना संक्रमित एकजना जिल्ला कारागारमा रहेका छन् ।