१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
केदार दाहाल काठमाडौं
२०७७ कार्तिक २२ शनिबार ०७:३१:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

संकटकै बीचमा नेपाल भ्रमण गर्ने पर्यटक बढ्दै, अक्टोबरमा मात्रै झन्डै २ हजार विदेशी नेपाल भ्रमणमा

Read Time : > 2 मिनेट
केदार दाहाल, काठमाडौं
२०७७ कार्तिक २२ शनिबार ०७:३१:००

दुई महिनामा पौने दुई लाख अन्तर्राष्ट्रियतर्फका हवाई यात्रु, गत १७ भदौदेखि खुलेको नियमित अन्तर्राष्ट्रिय उडान र १ कात्तिकदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गरेसँगै हवाई यात्रु र पर्यटकको संख्या बढ्दै गएको छ । यता सरकारले १ मंसिरदेखि सबै गतिविधि खुलाउने घोषणा गरिसकेको हुनाले सन् २०२१ को सुरुवातदेखि नै पर्यटन क्षेत्र सकारात्मतर्फ उन्मुख हुने विश्वास लिइएको छ ।

कोभिड–१९ संक्रमणका बीच पछिल्लो महिना दैनिक ६२ जना विदेशी पर्यटन नेपाल भ्रमणमा आएका छन् । सरकारले गत १ कात्तिकदेखि विदेशी पर्यटकका लागि नेपाल भ्रमणमा आउन खुला गरेको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२० को अक्टोबरमा मात्रै १८ सय ७४ विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका छन् ।

लकडाउनकै बीच पनि विशेष अनुमति लिएर केही पर्यटकहरू नेपालमा आइरहेका थिए । बोर्डका अनुसार सन् २०२० को १० महिनामा २ लाख १८ हजार १ सय ७३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । सन् २०१९ को सोही अवधिमा ९ लाख ६६ हजार २३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरे तापनि कोरोना संकट गहिरिएसँगै सरकारले सबै कार्यक्रम रद्द गरेको थियो । 

जनवरीमा ७९ हजार ६ सय ८९ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी, फेब्रुअरीमा १ लाख १ हजार ४ सय पर्यटकले नेपाल भ्रमण गरेका थिए । मार्च महिनासम्म आइपुग्दा विश्वभरि कोरोना फैलिसकेको अवस्थामा नेपालमा पनि सीधै असर परेको थियो । जसका कारण सो महिना ३४ हजार २५ पर्यटकले मात्रै नेपाल भ्रमण गरेका थिए ।

त्यसपछि भने नेपालमा कोरोना जोखिम बढेकाले सबै नाका बन्द गर्दै लकडाउन सुरु गरियो । लकडाउन सुरु भएपछि अप्रिलमा १३, मे महिनामा ३०, जुन महिनामा १ सय, जुलाई महिनामा १ सय ९५, अगस्टमा २ सय ६८, सेप्टेम्बरमा ५ सय ८२ र अक्टोबर महिनामा भने १ हजार ८ सय ७४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । 

अब भने सरकारले मंसिरदेखि सबै गतिविधि खुलाउँदै विदेशी पर्यटकलाई नेपाल आउन दिने तयारी गरेको छ । १ कात्तिकदेखि आंशिक रूपमा विदेशी पर्यटकलाई नेपाल आउन दिइएको छ । सबै गतिविधि खुलाउने र क्वारेन्टाइनको व्यवस्था मिलाउनेबित्तिकै विदेशी पर्यटकहरू नेपाल आउने देखिएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी बताउँछन् ।

‘अहिले आइरहेको बुकिङ नै उत्साहप्रद रहेकाले सन् २०२१ मा पर्यटन क्षेत्रमा केही सहजता सुरु हुनेछ,’ रेग्मीले भने । सरकारले १ मंसिरदेखि ९२ घन्टासम्मको पिसिआर रिपोर्ट र ३ दिन मात्रै क्वारेन्टाइनको व्यवस्था मिलाएर पर्यटनका सबै गतिविधि खुलाउन लागेको छ । हाल भने पदयात्रा र पर्वतारोहणमा मात्रै आउनका लागि खुला गरिएको छ ।  

 नियमित उडान खुलेसँगै पौने दुई लाख अन्तर्राष्ट्रिय हवाई यात्रु  
गत १७ भदौदेखि नियमित अन्तर्राष्ट्रिय उडान खुलेपछि १ लाख ८६ हजार ६ सय ३५ हवाई यात्रुले सेवा लिएका छन् । जसमा नेपाल आउनेतर्फ १ लाख २६ हजार २ सय ६० यात्रु रहेका छन् । नेपालबाट जाने हवाई यात्रुको संख्या ६० हजार ३ सय ७५ रहेको छ । १७ भदौदेखि २० कात्तिकसम्म नियमित र चार्टर गरी १ हजार ६ सय ६५ उडान र अवतरण भएका छन् । 

झन्डै सात महिना बन्द भएर गत ५ असोजदेखि खुला भएको आन्तरिक उडानमा पनि हवाई यात्रुको चाप बढ्दै गएको छ । गत ५ असोजयता २० हजार आन्तरिकतर्फका हवाई यात्रुले सेवा लिएका छन् । जसमा सबैभन्दा धेरै बुद्ध एयरले ११ हजार ६ सय २३, यती एयरलाइन्सले ६ हजार ८ सय १९, श्री एयरलाइन्सले २ हजार १ सय ४०, तारा एयरले २ सय ३८, समिट एयरले १ सय ६८ तथा नेपाल वायुसेवा निगमले २ सय ६२ यात्रुलाई सेवा दिएको छ । 

संकटमै बहराइन र कतारका राजकुमारको भ्रमण
कोभिड–१९ को संक्रमणकै बीच बहराइन र कतारका राजकुमारको भ्रमणले पर्यटन क्षेत्रमा उत्साह थपेको छ । गत महिना बहराइनका राजकुमार नासिर विन हामिद अल खलिफा नेपाल भ्रमणमा आएका थिए । 

उनीसहित आएको १३ सदस्यीय टोलीले लोबुचे र मनास्लु हिमाल आरोहण गरेर फर्किसकेको छ । यता केही साताअघि मात्रै कतारका राजकुमार सेख मोहम्मद विल अब्दुल्ला आमादब्लम हिमाल आरोहण गरेर फर्किसकेका छन् । राजकुमारसहित ६ जना आरोही सदस्यसहित आरोहणमा गएका थिए ।