मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १९:३८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काष्ठमण्डप पुनर्निर्माण चैत मसान्तभित्र सकिने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ कार्तिक २१ शुक्रबार १९:३८:००

सरकारले काठमाडौंको ऐतिहासिक काष्ठमण्डपको पुनर्निर्माण आगामी चैत मसान्तभित्र पूरा गर्ने भएको छ । ०७२ को भूकम्पले क्षतिग्रस्त बनेको काष्ठमण्डप काठमाडौं महानगरपालिकाअन्तर्गत उपभोक्ता समितिले पुरानै शैलीमा पुनर्निर्माण गरिरहेको छ । समितिले ०७५ को वैशाखबाट काम थालेको थियो । 

अहिलेसम्म पुनर्निर्माणको ७० प्रतिशत काम पूरा भएको छ । शुक्रबार निर्माणाधीन काष्ठमण्डपको स्थलगत निरीक्षणका क्रममा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले निर्माण सकिएलगत्तै भूकम्प गएकै दिन पारेर १२ वैशाखमा काष्ठमण्डपको उद्घाटन गरिने बताए । मन्त्री श्रेष्ठको साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत अवलोकनका लागि पुगेका थिए । 

मन्त्री श्रेष्ठले निर्माणाधीन काष्ठमण्डपका बारेमा पर्यटनमन्त्रीलाई जानकारी गराएका थिए । मन्त्री ज्ञवालीले हालसम्मको पुनर्निर्माणका कामको प्रशंसा गरे । ‘काष्ठमण्डपको पुनर्निर्माणको अवस्था देख्दा स्थानीय जनतासहितको सहभगितामा नमुना काम भएको रहेछ,’ उनले भने । 

मन्त्री ज्ञवाली र श्रेष्ठले सम्पदा पुनर्निर्माणमा उपभोक्ता आफैँ  जागरुक हुनुले सम्पदा संरक्षणमा स्थानीयको अपनत्व रहेको भन्दै उपभोक्ताको सहमतिमा अन्य सम्पदाको पुनर्निर्माणलाई समेत गति दिनुपर्ने धारणा राखे । 

काष्ठमण्डप पुनर्निर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले केही प्राविधिक समस्या आए पनि तोकिएकै समयमा पुनर्निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताए । 

काष्ठमण्डप पुनर्निर्माण पूरा गर्ने करिब १३ करोड रुपैयाँ खर्च हुने भएको छ । सरकारले करिब १९ करोड रुपैयाँको इष्टिमेट गरेको थियो । काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले मात्रै १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ । ‘हामीले सातौँ शताब्दीकै प्रविधि प्रयोग गरेर काष्ठमण्डप बनाउँदै छौँ, माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको छ,’ उपभोक्ता समितिका अध्यक्ष शाक्यले भने । 

काष्ठमण्डप पुनर्निर्माण गर्न करिब १३ हजार क्युफिट काठ लाग्ने अनुमान गरिएको छ । काष्ठमण्डपमा चार घेरामा गरी सयवटा थाम छन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ ।

तेस्रो र चौथो घेरामा एक–एकवटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ । काष्ठमण्डपको पुनर्निर्माण गर्न ठूलो र सानो आकारको गरी दुई लाख थान  माःअप्पा इँटा लाग्ने अनुमान छ । ठूलो आकारको ९० हजार र सानो आकारको एक लाख १० हजार थान इँटा आवश्यक पर्नेछ । 

मन्त्री ज्ञवाली र श्रेष्ठसहित सांसद र जनप्रतिनिधिको टोलीले काष्ठमण्डप पुनर्निर्माण अवलोकन गरेपछि हनुमानढोकाको नासलचोक, कालीदमन चोक, मूलचोक, मोहनकाली चोक, तलेजुको समेत पुनर्निर्माणको अवस्थाबारे जानकारी लिएका थिए ।